News of Nepal
जेन–जी आन्दोलनको सार: पुरानो नेतामा छैन विश्वास
गत भदौ २३ र २४ गते नेपालले आफ्नो राजनीतिक इतिहासमा एक यस्तो घटनाको सामना ग¥यो, जसले पुरानो दल–व्यवस्थाको जरो हल्लाइ दियो । युवा पुस्ताद्वारा सञ्चालित, स्वःस्फूर्त र सामाजिक सञ्जालमा आधारित दुई दिने जेन–जी आन्दोलनले केही दशकयता देशमा व्याप्त भ्रष्टाचार, अवसरवाद, गैरजिम्मेवारीपन र राजनीतिक सौदाबाजीले दिग्भ्रमित भएका युवाले यसैका विरुद्ध विद्रोहको स्वर बुलन्द गरे ।
यसै सन्दर्भमा गत कार्तिकमा भएकोे एउटा सर्वेक्षणको नतिजाले नेपाली जनमानसमा गहिरो परिवर्तन सुरु भइसकेको पुष्टि गरेको छ । सातै प्रदेशका झण्डै ११ हजार सर्वसाधारणको सहभागिता रहेको उक्त सर्वेक्षणको नतिजाले जेन–जी आन्दोलनलाई केवल एक विरोध प्रदर्शनको रूपमा नभई नयाँ राजनीतिक संस्कृतिको जन्मको संकेतको रूपमा व्याख्या गरेको छ । उक्त नतिजाले सर्वसाधारणमा वर्तमान राजनीतिक नेतृत्वप्रति चरम असन्तुष्टि देखाएको छ । यद्यपि, दलप्रति आशा भने पूर्ण रूपमा समाप्त भएको छैन । जनतामा दलप्रति आशा अझै कायम रहेको देखिएको छ । पछिल्लो समयमा पार्टी नेतृत्वप्रति दलभित्रै चुलिँदै गएको असन्तुष्टि जेन–जी आन्दोलनपछि झन् व्यापक र खुला रूपमा देखिएको छ । दलभित्रै पनि पुराना नेतृत्वमाथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दो छ ।
जेन–जीभित्र समेटिने युवा वर्गले परम्परागत नेतृत्वप्रति पूर्ण रूपमा अविश्वास व्यक्त गरेता पनि दलहरूको अस्तित्वलाई पूर्ण रूपमा अस्वीकार भने गरेका छैनन् । यसबाट के बुझ्न सकिन्छ भने समस्या पार्टी होइन, पार्टीभित्रका अनुचित र भ्रष्ट चरित्र हुन् । सत्तासीन व्यक्तिहरूको विफलता, आर्थिक दुरुपयोग र शक्ति–सन्तुलनका नाममा भएको सत्ता खेलले युवालाई विद्रोहमा उकासेको सर्वेक्षणको नतिजाले स्पष्ट देखाएको छ ।
सर्वेक्षणले आन्दोलनको प्रमुख कारणमा झण्डै ६१ प्रतिशतले दीर्घकालीन भ्रष्टाचार र पारदर्शिताको कमी औंल्याएका थिए । त्यसै गरी १५ प्रतिशतले युवाका लागि रोजगारी र आर्थिक अवसरको कमी, १४ प्रतिशतले सामाजिक सञ्जालमा सरकारको प्रतिबन्ध, करिब १२ प्रतिशतले राजनीतिज्ञका परिवारको विलासी जीवन (ह्यासट्याग नेपोबेबी) माथिको आक्रोश र ८ प्रतिशतले अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको दमनलाई जेन–जी आन्दोलनको मुख्य कारणको रूपमा औंल्याएका थिए । यसबाट आम असन्तुष्टिको प्रम्ख कारण भ्रष्टाचार र अपारदर्शी प्रणाली नै थियो भन्ने बुझ्न गाह्रो छैन । साथै यो सार्वजनिक बहस र मिडिया रिपोर्टसँग पनि मेल खान्छ । सामाजिक सञ्जाल प्रतिबन्धलाई ‘ट्रिगर’ मानियो, जसले बंगलादेश र श्रीलंकाका आन्दोलनसँग पनि तुलना गरियो । दुई दिने आन्दोलनले आर्थिक असन्तुष्टि र नेपोबेबी जस्ता मुद्दाले संरचनागत समस्या पनि उजागर गरेको छ । मिडियाहरूले पनि सरकारको सेन्सरसिपबाट असन्तुष्टि व्यक्त गर्दै आन्दोलनलाई समर्थन गरेको थियो ।
जेन–जी आन्दोलन भ्रष्टाचारविरुद्धको जागरण राष्ट्रिय दृष्टिकोणको रूपमा स्थापित भएको छ । युवाहरू योग्यतामा आधारित, डिजिटल सशक्तीकरण र आत्मनिर्भरतामा केन्द्रित छन् । आगामी फागुन २१ मा हुने भनिएको चुनावमा यो परिवर्तनले नेपालको लोकतान्त्रिक मार्गलाई पुनर्परिभाषित गर्न सक्छ, जहाँ निष्ठा, जवाफदेहिता र समावेशिता नयाँ मुद्दा बन्ने अपेक्षा गरिएको छ । यस पटक सधैं झंै कम भ्रष्ट वा कम फटाहालाई छान्ने होइन, निष्ठावान र योग्यलाई छान्ने वातावरण बनाउन जरुरी छ ।
सर्वेक्षणमा २५ वर्षदेखि ३५ वर्ष उमेर समूहको सबैभन्दा धेरै अर्थात २८.६० प्रतिशत सहभागिता थियो भने १८ देखि २४ वर्ष उमेर समूहको २३.३०, ३६ देखि ४५ वर्षका २३, ४६ देखि ५५ वर्षका १८ दशमलव १० र ५६ वर्षमाथिका उमेर समूहका ११ प्रतिशतको सहभागिता रहेको थियो ।
आन्दोलनले ल्याएको परिवर्तनबाट केही न केही सन्तुष्टि व्यक्त गर्ने उत्तरदाताको कुल प्रतिशत ८१ रहेको छ । त्यसमाथि पनि १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूमा बढी सन्तुष्ट देखियो, बढी सन्तुष्ट हुनेको प्रतिशत ८५ पुगेको छ जबकि अलि पाका उमेरकाहरू भने सशंकित देखिएका छन् । समग्रमा यो आन्दोलनले युवाका अपेक्षा पूरा गरेको संकेत गरेको छ । तर, साथसाथै भदौ २४ मा भएको विध्वंसमा भने धेरैले असहमति जनाएका छन् । यद्यपि, उक्त विध्वंस घुसपैठीबाट मच्चाइएको कुरा दलहरूबाटै पनि आइरहेको छ भने पछिल्लो समयमा सरकारले गरेको धरपकडबाट पनि घुसपैठीले विध्वंस मच्चाएको भने विषयलाई बल पुगेको छ ।
सूचनाको मुख्य स्रोत सामाजिक सञ्जाल
सामाजिक सञ्जालले आन्दोलनको सर्वाधिक गतिशील मोर्चा सम्हालेको छ । सर्वेक्षणमा सहभागी ६५ प्रतिशतले फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामलाई मुख्य समाचार स्रोत मानेका छन् । जेन–जी समूहमा त झनै यो दर ७० प्रतिशत नाघेको छ । यही डिजिटल ऊर्जा र सूचनाको तीव्र प्रसारले गर्दा भदौं २३ गते काठमाडौंबाट सुरु भएको आन्दोलन केही घण्टामै देशभर फैलिएको थियो । कुनै औपचारिक संगठन वा नेतृत्व संरचना नहुँदा पनि आन्दोलन प्रभावकारी हुनु यसको विशेषता बन्न पुगेको थियो ।
विश्वसनीय नेतृत्वप्रति झुकाव
युवाहरूको आकर्षण अब पुरानो राजनीतिक पुस्तातर्फ नभएको सर्वेक्षणको नतिजाले स्पष्ट पारेको छ । सर्वेक्षणले बालेन्द्र शाह (बालेन) लाई सबैभन्दा विश्वसनीय व्यक्तिका रूपमा पहिचान गरेको छ । त्यसपछि कुलमान घिसिङ, रवि लामिछाने, हर्क साम्पाङ, गगन थापा र सुधन गुरुङ क्रमशः युवाको मनोविज्ञानमा प्रभावकारी नेताका रूपमा उदाएका छन् । यहाँनिर अर्को उल्लेखनीय कुरा यो पनि छ कि सर्वेक्षणले अब नेपाली राजनीति ‘उमेरभन्दा कामको आधारमा नेतृत्व चयन’ तर्फ मोडिएको संकेत दिएको छ । युवाहरू अब ‘वाचा’ होइन, ‘काम’ हेरेर नेतृत्व स्वीकार गर्न चाहन्छन् ।
क्षतिग्रस्त सरकारी भवनहरू पुनर्निर्माणको सवाल
सर्वेक्षणमा सहभागी झण्डै ६९ प्रतिशतले जेन–जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएका सार्वजनिक सम्पदा एवं सरकारी भवनहरू भ्रष्टाचारीको सम्पत्ति जफत गरेरै बनाउनुपर्नेमा जोड दिएका छन् । २०.४० प्रतिशतले यस्तो सम्पत्ति पुनर्निर्माणमा विदेशी सहायता लिन नहुने धारणा व्यक्त गरेका छन् र उनीहरूले राष्ट्रिय प्रयासबाट नै यस्ता संरचनाहरूको पुनर्निर्माण गरिनुपर्नेमा जोड दिएका छन् भने २.२० प्रतिशतले भने विदेशी सहायता पनि स्वीकार गर्न सकिने धारणा राखेका छन् ।
सर्वेक्षणले प्रस्तुत गरेका केही उल्लेख्य तथ्यहरू यस प्रकार छन् :
६९ प्रतिशत उत्तरदाताले भ्रष्ट नेताहरूको सम्पत्ति जफत गरी राष्ट्रिय पुनर्निर्माणमा खर्चिन माग गरेका छन् । ८० प्रतिशतभन्दा बढी युवाले पारदर्शिता र उत्तरदायित्वलाई सरकारको पहिलो एजेन्डा बनाउनुपर्ने बताएका छन् ।प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणालीप्रति समर्थन बढ्दो छ ।
यसले नेपालमा केवल नेतृत्व परिवर्तन होइन, समग्र प्रणालीमै सुधारको माग बलियो बन्दै गएको देखाएको छ । नेपाल अब केवल सरकार परिवर्तनको युगबाट गुज्रिरहेको छैन, बरु युवा चेतना र डिजिटल शक्ति मिलेर राष्ट्रको दिशा परिवर्तन गर्ने ऐतिहासिक मोडमा प्रवेश गरिरहेको प्रष्ट देख्न सकिन्छ ।