राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड
काठमाडौं । “भक्का छ ? अनि घोँगी नि ?” यतिबेला टुँडिखेलको मैदानमा यी दुई परिकार खोजीखोजी खानेहरूको भीड छ । पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएको छ ।
आज र भोलि मनाउने औपचारिक माघी महोत्सवलाई स्वागत गर्दै टुँडिखेलमा थारु समुदायका स्वादिला परिकार चखाउन चहलपहल सुरु भएको छ । केही स्टलमा परिकार पकाउने तर्खर गर्दै थिए भने केही स्टलमा भक्का, घोँगी, फ्राइ माछालगायत खानेकुरा पाकिसेका थिए । यद्यपि महोत्सव घुम्न आएहरूले भने घोँगी र भक्काको विशेष खोज्दै गर्दै थिए । मोरङकी सरिता खवासको समूहले दिउँसैदेखि माटोको भाँडोमा कपडाले बेरेर चामलको पिठोको तातोतातो भक्का पकाएर बेचिरहेकी थिइन् ।
“दिनभरमा भक्का मात्रै धेरे बिक्यो”, उनले भनिन्, “घोँगी त खोज्ने नै भए ।” रत्नपार्क कामले आएका विष्णु भुजेलले टुँडिलेखमा थारु माघी महोत्सव देखेर उत्साहीत भए । उनी उत्साहित हुनुको प्रमुख कारण थारु समुदायले बनाउने विभिन्न मौलिक स्वागदका परिकार थिए । स्टल घुमेपछि उनले घोँगी र भक्का नै चाखे ।
“घोँगी अहिले महँगीएछ,” उनले खाइसकेपछि स्टलका व्यापारीलाई ध्यानर्कषण पनि गराए । उनको कुरा सुनेर मिठो मुस्कानसहित परिकार चखाएकी कैलालीका केशरी चौधरीले घोँगी महँगो हुनुको नालीबेलीसमेत सुनाइन् । उनका अनुसार ९ रूपैयामा किनेर ५० रूपैया केजीमा बिक्री गरेको विगतको अनुभव अब अनुभवमा मात्रै सीमित रह्यो । शीतलहर अत्याधिक बढेकाले घोँगी खोज्न निकै कठिन भएपछि उनले बजारमा महँगो दरमा किनेर महोत्सवमा बेच्नु परेको बाध्यता बताइन् ।
अहिले स्टलमा रु दुई सय केजीमा किनेर चार सयमा बिक्री गर्नु परेको उनले सुनाइन । “शीतलहरले घोँगी खोज्न सकिएन, महँगो किनेर बेच्नु परेकोछ”, उनले भनिन् । थारु महोत्सवमा थारु समुदायका परिकारले आर्किषत गरेको छ । थारु समुदायले माघी आउनु अगाडिदेखि नै दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै महिना दिनअघिदेखि पर्वको तयारी गर्छन् । पुस मसान्तको दिन सुङ्गुर/बङ्गुर (जता गर्ने) र त्यसैदिन आगोको धुनी बाल्दै डफरमादलसँगै धुमरु गाउँदै रातभर जाग्राम रहने गरिन्छ । माघ १ गते सबेरै नजिकैको खोल, नदी, ताल, तलैयामा स्नान गरी ‘माघ लहान’ पूरा गरिने चलन छ । स्नातपश्चात पूजा र भाकल गरेर सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने जनविश्वाससमेत रहेको थारु समुदायका अगुवाहरू बताउँछन् ।
The post थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....