Herne Katha
EP149 Chharka Bhot ko Katha
प्राय हिमाली गाउँका कथा उस्तै उस्तै हुन्छन् । हिउँद छल्ने र बर्खा पछ्याउने उकाली ओरालीका कथा । चौंरी र च्याङ्ग्रा गोठका कथा । अलिअलि खेतीका कथा । तिब्बतसँगका व्यापारका कथा । चिसो कथा । शान्त कथा । कठीन कथा ।
नेपालकै अग्लो मानव वस्तीका रुपमा चिनिने उपल्लो डोल्पाको छार्का भोटको कथा पनि उस्तै उस्तै छ । तर यहाँ विस्तारै कथाको लय फेरिँदैछ ।
छार्का भोटको कथा
४३५० मिटरको छार्का गाउँमा चिनियाँ मोटरबाइक दुई चार वर्ष पहिले भित्रेका हुन् । ट्याक्टरहरु पोहोर साल र दुई चार जिप यसैपालि ।
यो प्राचीन गाउँले डोजर पनि यसैपालि देखेको हो । २ महिनाअघि आएको डोजरलाई स्वागत गर्न नपाएकाहरु आज विहानै डोजरलाई खादा लगाउँदैछन् ।
Khada Dozer and Talks
७१ वर्षकी चिन्डोल आमाले आफ्नै आँगनमा गाडी र ट्याक्टर गुडेको देख्न थालेको धेरै भएको छैन । गावैं थर्काउँदै आँगनमा डोजर गुड्दा उनलाई पीर पर्छ । पुरानो घर डोजरले चर्काइदियो कि भन्ने चिन्डोलको चिन्ता छ ।
गाउँसँगै टाँसिएर ठजाङ खोला अर्था भेरी नदी बग्छ । गाउँ जोगाउन पहिलो पटक नदीमा तटबन्धको काम हुँदैछ ।
हिमालमा कष्टपुर्ण मजदूरी गर्दा धेरै ज्याला पाउने आशले रुकुम र जाजरकोटका युवाहरु छार्कातिर आएका छन् । काम गर्न आएका एक साथी अचानक विरामी परे । उनको खुट्टा चलेन ।
साथीहरुले बिरामीलाई ट्याक्टरमा हाले । एक दिनको बाटो ट्याक्टरमा । त्यसपछि बिरामी बोकेर हिँड्दा जिल्ला सदरमुकाम दुनै पुग्न अझै ४-५ दिन ।
अल्पायूमै श्रीमान् गुमाएकी सोनामलाई हरेशका आँशुले बगाउन सकेन । चट्टान झैं कठोर मनलाई हिउँ जस्तै पगाल्न उनी साँझ विहान गाउँको गुम्बा छिर्छिन् । एउटा कुनामा श्रीमानको तस्बिर सजाइएको यो घर केवल गुम्बा मात्र होइन – प्रेमको मन्दिर हो ।
… र यसरी बजिरहन्छ यो हिमाली गाउँमा एउटा मिठो धुन । जुन धुनले भनिरहन्छ चिसो कथा । शान्त कथा । कठीन कथा ।
The post EP149 Chharka Bhot ko Katha appeared first on Herne Katha.