npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब बढी, ऋणले धान्नुपर्ने अवस्थामा प्रशासनिक खर्च

क्लिकमान्डु 6 hours ago

काठमाडौं । सरकारको आम्दानीभन्दा खर्च करिब एक खर्ब रुपैयाँ बढी देखिएको छ । अर्थ मन्त्रालय अन्तगर्तको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुुस)सम्ममा सरकारले ५ खर्ब ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा सरकारले गरेको खर्च भने ६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

चालु आवको पहिलो ६ महिनाको तथ्यांक अनुसार सरकार १ खर्ब रुपैयाँमा घाटामा छ । आम्दानी भन्दा बढीको खर्चका कारण सरकारलाई दैनिक प्रशासनिक खर्च धान्न समेत ऋणको रकम परिचालन गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ ।

यो अवधिसम्ममा सरकारले गरेको राजस्व संकलन कुल लक्ष्यको ३९ प्रतिशत मात्रै हो । यो रकम २०८२ को पुस ३० सम्ममा ५ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व आम्दानी छ । यो आम्दानीमा कर राजस्व ५ खर्ब १६ अर्ब, गैरकर राजस्व ६१ अर्ब, अनुदान ७ अर्ब १० करोड र अन्य आम्दानी ४ अर्ब रहेको छ ।

पुसम्ममा भएको ५ खर्ब ८८ अर्ब रुपैयाँको कुल आम्दानीबाट सरकारले गरेको खर्च ६ खर्ब ९० अर्ब रुपैयाँध्ये सबैभन्दा बढी खर्च दैनिक प्रशासनिकमा छ । सरकारले यसका लागि चालु खर्चमा ४ खर्ब ८७ अर्ब र विकास निर्माणको लागि भएको पुँजीगत खर्च ४९ अर्ब रुपैयाँ मात्रै छ ।

सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार विकास खर्च ६ महिनामा जम्मा १२ प्रतिशत मात्रै छ । सरकाले यो वर्ष ४ खर्ब ७ अर्ब रुपैयाँ विकास निर्माणमा गर्ने गरी पुँजीगत बजेट विनियोजन गरेको छ । यसमध्ये हालसम्मम लक्ष्यको १२ प्रतिशत मात्रै संकलन भएको देखिन्छ ।

सरकारको विकास खर्च गत वर्षको यही अवधिसम्ममा १६ प्रतिशत थियो । यो तथ्यांक अनुसार सरकारले गरेको पुँजीगत खर्च गत वर्षको भन्दा पनि ४ प्रतिशतले कम हो ।

सरकारले मंसिर मसान्तसम्ममा लिएको ऋण १ खर्ब ७५ अर्ब रुपैयाँ छ । यो अवधिमा लिएको ऋणमध्ये १ खर्ब ४७ अर्ब रुपैयाँ आन्तरिक ऋण र २७ अर्ब ४५ करोड रुपैयाँ बाह्य ऋण रहेको देखिएको छ ।

सरकारले पुससम्ममा भने करिब २ खर्ब रुपैयाँ ऋण उठाएको छ ।

Read more news from Clickmandu

Explore by Source or Category