npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

पर्यटन पूर्वाधारका टुक्रे योजनाः मुख्यमन्त्री र मन्त्रीकै निर्वाचन क्षेत्रमा बढी

दीपक ओली 9 hours ago

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि पर्यटन पूर्वधार विकासका तीन सय ३३ कार्यक्रममा बजेट हालेको छ । जसमध्ये करिब २७ वटा शिर्षकमा आन्तरिक खरिद र गोष्ठी, भ्रमण र सेमिनारसँग सम्बन्धित छन् । सरकारले गोष्ठी, सेमिनार र भ्रमण तथा १० लाखभन्दा कम बजेट भएका योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

यस्तै, उपभोक्ता समितिबाट समेत कुनै पनि योजना कार्यान्वयन नगर्ने भन्दै आएको छ । पर्यटन पूर्वाधारका ३०५ योजना मध्ये कैलालीमा ९३ योजना छन् भने कञ्चनपुरमा ३५ योजना छन् ।

पर्यटन पूर्वाधार विकास गर्ने भन्दै कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मन्दिर त्यसपछि चर्च र दुई वटा मस्जिद निर्माण गर्न प्रदेश सरकारले बजेट छुट्याएको छ । पहाडी जिल्लामा रहेका कुलदेवताका मन्दिर निर्माण गर्न बैतडीमा ४५ योजना, अछाममा २७ योजना, बझाङमा ३९, दार्चुलामा २२, डोटीमा २२, डडेल्धुरामा १६ र बाजुरमा ६ योजनामा घटीमा १० लाख तथा बढीमा एक करोड ५० लाख बजेट हालिएको छ ।

कुलदेवतालाई पहाडबाट बसाइँसराइँ गराउन प्रदेश सरकारले १० लाख बजेट भएका दुई सय योजना कार्यान्वयन गर्ने भएको छ ।

कैलालीमा ९३ टुक्रे योजना कसका कति ?
प्रदेश सरकारले पर्यटन पूर्वाधार विकास गर्न चालु आर्थिक वर्षमा ल्याएका ३०५ टुक्रे योजना मध्ये कैलालीमा ९३ वटा योजना छन् । पर्यटन पूर्वाधारका सबै भन्दा बढी टुक्रे योजना कैलालीको लम्कीचुहा नगरपालिकामा छन् । लम्कीचुहामा २४ वटा योजना छन् । जसमध्ये १३ वटा योजनामा दश लाखका दरले बजेट छ भने एक करोड पचास लाखको एउटा, पचास लाखको एक, २० लाखको चार योजना तथा चार योजनामा १५ लाखका दरले बजेट विनियोज गरिएको छ । लम्कीचुहाको वडा नम्बर १, २, ३, ४, ५ र ७ मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्रमा पर्छ भने वडा नम्बर ६, ८, ९ र १० रामेश्वर चौधरीको निर्वाचन क्षेत्रमा पर्छ ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा २० वटा पर्यटन पूर्वाधारका टुक्रे योजना परेका छन् । बर्दगोरिया गाउँपालिका तत्कालीन पर्यटन मन्त्री रामेश्वर चौधरीको निर्वाचन क्षेत्रमा पर्छ । चौधरीकै निर्वाचन क्षेत्रमा मोहन्याल गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ पर्छ । मोहन्यालको वडा नम्बर ६ र ७ भने मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्रमा पर्छ । मोहन्यामा भने ७ पर्यटन पूर्वाधारका ७ वटा टुक्रे योजना परेका छन् ।

कैलालीको टीकापुर नगरपालिकामा प्रदेश सरकारले पर्यटन विकासका ११ वटा टुक्रे योजनामा बजेट विनियोजन गरेको छ । जसमा टिकापुर विमानस्थलका लागि ७० लाख बजेट छ । विमानस्थल निर्माणको एकल अधिकार संघीय सरकारको भए पनि प्रदेशले समेत बजेट दिएको छ ।

प्रदेश सरकारले धनगढीमा पर्यटन पूर्वाधार विकासका लागि ७ वटा योजनामा बजेट विनियोजन गरेको छ । यस्तै, जानकी गाउँपालिकामा चार, जोशीपुरमा तीन घोडाघोडी, गोदावरी, भजनी र कैलारीमा दुई÷दुई योजनामा बजेट राखिएको छ भने गौरीगङ्गामा १० लाखको एक योजना परेको छ । चुरेमा भने प्रदेश सरकारले पर्यटनको कुनै योजना दिएको छैन ।

कैलालीमा मुख्यमन्त्री शाहको भन्दा बजेट तयार गर्दा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका नागरिक उन्मुक्तिका प्रदेश सांसद रामेश्वर चौधरीका योजना बढी छन् ।

अन्य मन्त्री र सभामुखको जिल्लामा कति ?
आर्थिक वर्ष २०८१/८२ वार्षिक विकास कार्यक्रम पुस्तिकामा दिइएको योजनाको तथ्यांकअनुसार भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालको जिल्ला बैतडीमा पर्यटन पूर्वाधारका ४५ वटा टुक्रे योजनामा बजेट विनियोजन गरिएको छ । बैतडीमा पनि मन्त्री पालको स्थायी बसोबास रहेको डिलासैनी गाउँपालिकामा बढी योजना छन् । उनको निर्वाचन क्षेत्र रहेको सुर्नाया, पुर्चौडी र पाटन नगरपालिकामा टुक्रे योजना परेका छन् । अन्य पालिकामा भने नगण्य योजना छन् ।

प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको गृह जिल्ला बझाङमा पर्यटनका ३९ टुक्रे योजना परेका छन् । यस्तै सामाजिक विकास मन्त्री मेघराज खड्काको गृह जिल्ला अछामका २७ वटा टुक्रे योजनमा पर्यटन पूर्वाधार विकासको बजेट विनियोजन गरिपएको छ ।

आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा तथा कृषि मन्त्री विरबहादुर थापाको गृह जिल्ला कञ्चनपुरमा पर्यटन पूर्वाधार विकासका ३५ योजना परेका छन् ।

प्रदेश सरकारले पर्यटनका १६ वटा टुक्रे योजना डडेल्धुरामा छनोट गरेको छ भने डोटी र दार्चुलामा समान २२÷२२ वटा योजनामा रकम विनियोजन गरिएको छ । प्रदेश सरकारले बाजुरमा भने पर्यटन विकासका जम्मा ६ योजना हालेको छ जसमा एक योजनामा ८ लाख मात्रै बजेट छ ।

The post पर्यटन पूर्वाधारका टुक्रे योजनाः मुख्यमन्त्री र मन्त्रीकै निर्वाचन क्षेत्रमा बढी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category