npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

निरज ३ स्ट्रोक अग्रतामा

न्युज अफ नेपाल 3 hours ago

काठमाडौं ।

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ शीर्ष स्थानमा रहेका छन् । डिफेन्डिङ च्याम्पियन निरजले ६ अन्डर ६४ को स्कोर बनाउँदैं टंकबहादुर कार्की र बलभद्र राईमाथि ३ स्ट्रोकको अग्रता बनाएका हुन् ।

१–अन्डर ६९ को स्कोरमा दुई पुर्व नम्बर एक गल्फर शुक्रबहादुर राई र भुवन नगरकोटी तथा दुई एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्माले संयुक्तरुपमा चौथो स्थान साँझेदारी गरेका छन् । यस्तै इभन–पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार पहिलो दिनको समाप्तीमा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन् ।

धरान गल्फ क्लबमा डिफेन्डिङ च्याम्पियन निरजले सानदार सुरूवात गर्ने क्रममा दोस्रो होलमा बोगी प्रहार गरे । यसपछि भने तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलतामा फ्रन्ट नाइन ३–अन्डर ३३ खेले। यसपछि १२औं, १३औं, १६औं र १८औं होलमा एक–एक सट बचाए । १५औं होलमा बोगी खेप्दै ब्याक नाइन ३–अन्डर ३१ मा सकाए ।

प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका छन् । ३६ होलको खेलपछि कट लागु हुनेअनुसार शीर्ष १८ व्यावसायिक खेलाडी र सोहि कटमा पर्ने एमेच्योरहरू अन्तिम चरणमा प्रवेश गर्नेछन् ।

Read more news from News of Nepal

Explore by Source or Category