Clickmandu
भन्सार, राजस्व अनुसन्धान र सशस्त्र प्रहरीबीच मनमुटाव, सशस्त्रले गर्यो लिखित उजुरी

विराटनगर । राजस्व संकलन र अनुसन्धान गर्ने सरकारी निकायसँग सुरक्षा फोर्सको मनमुटाव हुँदा कोशी प्रदेशमा तस्करीले प्रसय पाएको छ । विराटनगर भन्सार र राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीसँग चोरी तस्करी नियन्त्रण गरी राजस्व असुलीमा सहयोग गर्ने सशस्त्र प्रहरीबीच मनमुटाव हुँदा पूर्वमा तस्करी मौलाएको हो ।
राजस्व संकलनका मुख्य कार्यालय भन्सार र राजस्व अनुसन्धान तथा सीमा सुरक्षा अनि तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएको सुरक्षा निकायबीच एकले अर्कालाई हिलो छ्याप्ने पुरानै चलन भए तापनि अहिले भने यी तीन निकायबीचको असन्तुष्टि सतहमा आएको हो ।
यसैक्रममा तस्करी नियन्त्रणमा सशस्त्रले सक्रियता देखाए पनि भन्सार र राजस्व अनुसन्धान निकायका कर्मचारी तस्करसँग मिलेमतोमा रहेको तथा भन्सार छलीका घटनामा पक्राउ परेकालाई न्यून धरौटीमा छाड्ने र चित्तबुझ्दो कारबाही नभएको भन्दै सशस्त्र प्रहरी बल बराह बाहिनी पकली, सुनसरी रुष्ट बनेको छ ।
त्यति मात्र नभई भन्सार जाँचपास प्रक्रिया र राजस्व अनुसन्धान कार्यालय इटहरीको काम कारबाही चित्तबुझ्दो नभएको र तस्करी नियन्त्रणमा सरोकारवाला ती दुई कार्यालयले सहयोग नगरेको भन्दै सशस्त्र प्रहरी बल बराह बाहिनी पकली, सुनसरीले राजस्वसँग सम्बन्धित ती दुई सरोकारवाला कार्यालय विरुद्ध माथिल्लो निकायसमक्ष लिखित उजुरी नै गरेपछि यी तीन निकायबीचको असन्तुष्टि छताछुल्ल भएको हो ।
सीमा सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रभावकारी काम गरे पनि विराटनगर भन्सार र राजस्व अनुसन्धान कार्यालय इटहरी इकाईको काम–कारबाही सन्तोषजनक नरहेको र अहिलेको स्थितिमा चोरी–तस्करी नियन्त्रण गरेर राजस्व संकलन बढाउन सक्ने स्थिति नभएको उल्लेख गर्दै सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका बाहिनीपति प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले आफ्नो माथिल्लो निकायसमक्ष गुनासो गर्दै लिखित उजुरी समेत गरेका छन् ।
डीआईजी न्यौपानेले भने, ‘तस्करी नियन्त्रणका लागि भन्सार र राजस्व अनुसन्धानको क्रियाकलाप चित्तबुझ्दो छैन । त्यसैले सबै असन्तुष्टि उल्लेख गरेर माथिल्लो निकायलाई यहाँको वास्तविक अवस्थाका बारेमा लिखित जानकारी गराएको हुँ ।’
पछिल्लो समय भन्सार छलीका घटनामा आफ्नो पूरै जनशक्ति परिचालन गरेर सामान बरामद गर्न खोज्दा र बरामद सामान अनुसन्धानका लागि राजस्व अनुसन्धान इटहरी इकाईमा बुझाउँदा न्यून धरौटीमा छाडेर तस्करलाई नै सहयोग गरेको भन्दै सुनसरीको पकलीमा रहेको कोशी प्रदेश सशस्त्र प्रहरी बलले असन्तुष्टि जनाउँदै माथिल्लो निकायलाई लिखित जानकारी गराएको हो ।
विराटनगर भन्सार र राजस्व अनुसन्धानको काम–कारबाही प्रभावकारी नरहेको उल्लेख गर्दै सशस्त्रले पूर्व–क्षेत्रबाट हुने चोरी–तस्करी र राजस्व चुहावट नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ । राजस्व छलेर सामान भित्र्याउने गिरोह पटकपटक पक्राउ पर्दासमेत उनीहरू माथिको अनुसन्धान फितलो हुने गरेको र अत्यन्त न्यून धरौटीमा छाडिने गरेको भन्दै सशस्त्रले यी दुई निकायका केही कर्मचारीले तस्करसँग मिलेमतोमा काम गर्ने गरेको दाबीसमेत गरेको छ ।
सशस्त्रले भन्सार छलीका सामान भित्र्याउने कार्यमा भन्सार एजेन्ट नै संलग्न हुने गरेको पुष्टि हुँदा समेत उनीहरू माथि चित्तबुझ्दो कारबाही हुन नसकेको प्रष्ट पारेको छ । यी दुई कार्यालयका प्रमुखप्रति असन्तुष्टि जनाउँदै सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका बाहिनीपति न्यौपानेले भने, ‘अहिलेको अवस्था रहिरहे सीमा क्षेत्रमा सशस्त्र प्रहरीले उच्च मनोबलका साथ काम गर्न सक्ने अवस्था छैन ।’
कोशीका राजस्वसँग सम्बन्धित यी दुई निकाय र चोरी–तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी प्रमुखबीचको यो असन्तुष्टि पहिलो भने होइन । यसअघि तत्कालीन बाहिनीपति कमल गिरी र राजस्व अनुसन्धान इटहरी इकाईका तत्कालीन प्रमुख तिर्थ खनालबीच सुपारी तस्करी नियन्त्रण गर्ने र छाड्ने विषयमा तनाव भएको थियो । त्यस बेला सशस्त्र प्रहरी सुपारी तस्करी नियन्त्रण गर्ने र राजस्व अनुसन्धान छाड्ने पक्षमा देखिँदा दुई प्रमुखबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो ।
अहिले पनि सशस्त्रले छापा मार्न जाउँ भन्दा राजस्व अनुसन्धानले सहयोग नगर्ने र सशस्त्र प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि राजस्व अनुसन्धानलाई सामान र व्यक्ति बुझाउँदा राजस्व अनुसन्धानका कर्मचारीले आर्थिक लाभ लिएर न्यून जरिवाना गरेर छाडेर सशस्त्रलाई असहयोग गरेको स्रोतको दाबी छ ।
‘सशस्त्रले पक्राउ गरेर राजस्व अनुसन्धानलाई बुझाउँछ । राजस्व अनुसन्धानले न्यून जरिवाना गरेर छाड्छ । त्यसपछि त्यही व्यक्तिले पुनः तस्करी गर्छ । त्यसलाई नियन्त्रणमा लिन र उसको गोदाममा छापा मार्न जाउँ भन्दा अनुसन्धानका कर्मचारी ‘एकै व्यक्तिलाई कति दुख दिने ?’ भन्दै पन्छिन्छन्,’ सशस्त्र स्रोतले भन्यो । अनुसन्धानका कर्मचारीको तस्करसँग मिलेमतो भएकै कारण तस्करी नियन्त्रणमा सहकार्य हुन नसकेको सशस्त्रको ठहर छ ।
राजस्व अनुसन्धान इकाई इटहरीका सूचना अधिकारी विदुर गौतमले दुई कार्यालयबीच आपसी तालमेल नमिल्दा समस्या भएको स्वीकारे । ‘दुई निकायबीच तालमेल नमिल्दा काम गर्न गाह्रो भएको अवस्था छ,’ उनले भने । सशस्त्रले पक्राउ गरेर बुझाएका सामान र व्यक्तिका बारेमा कार्यालयले अनुसन्धान गरिरहेको छ । तर सशस्त्रले छापा मार्न जाउँ भन्दा आफ्नो माथिल्लो निकायको स्वीकृति ढिलो आउँदा समयमा निस्कन नसकिएको गौतमको प्रष्टिकरण छ ।
‘तस्करी नियन्त्रण गर्ने सशस्त्र प्रहरी नै हो । उसले भन्सार लाइनबाट नियन्त्रणमा लिएका सामानको राजस्व अनुसन्धानले अनुसन्धान गरिरहेको छ । अन्यत्रबाट सामान पक्राउ गरेर ल्याएको छैन,’ सूचना अधिकारी गौतमले भने, ‘तस्करी नियन्त्रण र राजस्व वृद्धिका लागि अब तालमेल मिलाएर काम गर्ने प्रयास भइरहेको छ ।’