npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

निर्वाचन आयोगले मान्यता नदिए देशैभर आन्दोलन गर्ने देउवा कांग्रेसको चेतावनी

क्लिकमान्डु 9 hours ago

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगले आफ्नो नेतृत्वलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले षड्यन्त्र वा दबाबमा परेर विधानविपरीत निर्णय गरे वडा तहदेखि नै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन, तर केही आशंकाहरू छन्,’ खड्काले भने, ‘यदि आयोगले नेपाली कांग्रेसको विधान र संविधानविपरीत निर्णय गर्‍यो भने हामी वडादेखि केन्द्रसम्म चारतारे झण्डा र रूख अंकित झण्डासहित सडकमा उत्रन बाध्य हुनेछौँ ।’ उनले यसका लागि पार्टीका सम्पूर्ण कार्यकर्ता र भ्रातृ संगठनहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।

पत्रकार सम्मेलनका क्रममा खड्काले पार्टीका नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको ‘विशेष महाधिवेशन’ भनिएको भेलाप्रति कडा आपत्ति जनाए । उनले उक्त भेलालाई ‘अवैधानिक’ र पार्टी विधानविपरीतको संज्ञा दिए ।

पार्टीको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्ने भए तापनि त्यसलाई बोलाउने र कार्यविधि तय गर्ने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र भएको खड्काले स्पष्ट पारे ।

‘पार्टी विधानअनुसार चल्छ । केही व्यक्तिहरूले अनुशासन बाहिर गएर विशेष महाधिवेशनको नाममा भ्रम फैलाएका छन्,’ खड्काले थपे, ‘गगन थापा र विश्वप्रकाश शर्माजीहरूले झुटो आश्वासन दिएर पार्टीलाई विखण्डनतर्फ लैजान खोज्नुभयो । उहाँहरूले पहिला एउटा कुरा गर्ने र अहिले व्यवहारमा अर्कै गरेर पार्टीलाई क्षति पुर्‍याउनुभएको छ ।’

खड्काले आफूहरूले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नरहेको तर्क गरे ।

क्रियाशील सदस्यताको विवादका कारण १४औं महाधिवेशनलाई आगामी वैशाखमा सम्पन्न गर्ने गरी कार्यसम्पादन समितिले निर्णय गरिसकेको जानकारी दिँदै उनले निर्वाचन आयोगमा पुगेर यसबारे आधिकारिक जानकारी गराइसकेको समेत बताए ।

Read more news from Clickmandu

Explore by Source or Category