npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले के भनिन् ?

क्लिकमान्डु 1 day ago

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण देशवासीलाई आह्वान गरेकी छन् ।

सोमबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई देश र जनताको भविष्यको फैसला गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गरिन् ।

जेन-जी आन्दोलनपछिको जटिल र चुनौतीपूर्ण परिस्थितिमा सरकारको नेतृत्व सम्हालेको स्मरण गर्दै प्रधानमन्त्रीले भनिन्, “हामीले हिंसात्मक मोडबाट देशलाई शान्तिपूर्ण निकास दिँदै संविधानको बाटोमा फर्काउन सफल भएका छौँ। अबको निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिको मार्ग प्रशस्त गर्नेछ।” उनले फागुन २१ गते बिहीबारका दिन सबै काम छोडेर मतदान केन्द्रमा पुग्न मतदाताहरूलाई अपिल गरिन् ।

निर्वाचनको मुखमा सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन सामग्री र भ्रामक भविष्यवाणी फैलाउने तत्वहरूलाई सरकारले कडा निगरानीमा राखेको प्रधानमन्त्रीले जानकारी दिइन्। “मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिइने छैन, कानुन हातमा लिने जोसुकैलाई कारबाही गर्न सरकार पछि हट्ने छैन,” उनले भनिन् ।

मध्यपूर्वको तनाव र नेपालीको सुरक्षा

प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा मध्यपूर्वी क्षेत्र, विशेषगरी इरान र वरपर बढ्दै गएको युद्धको संकटप्रति गम्भीर चासो व्यक्त गरिन् । त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै उनले परराष्ट्र मन्त्रालय र नेपाली नियोगहरूलाई सघन अनुगमन र सुरक्षा सहजीकरणका लागि सक्रिय बनाइएको स्पष्ट पारिन् ।

निर्वाचनकै समयमा परेको फागु पूर्णिमा (होली) को शुभकामना दिँदै प्रधानमन्त्रीले यो पर्वलाई एकता र सद्भावको उत्सवका रूपमा मनाउन आग्रह गरिन्। उनले कसैको इच्छाविपरीत रङ नलगाउन र संयमित भएर पर्व मनाउन देशवासीलाई अनुरोध गरिन् ।

निर्वाचन आयोगले छोटो समयमा गरेको तयारीको प्रशंसा गर्दै उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिइन् । साथै, मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र स्वस्थ प्रतिस्पर्धामा उत्रिन उनले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन्।

आफ्नो कार्यकाललाई मातृभूमिप्रतिको न्याय र निष्ठाको यात्राका रूपमा व्याख्या गर्दै प्रधानमन्त्री कार्कीले अब देशको बागडोर जनताले चुन्ने प्रतिनिधिहरूको हातमा जाने विश्वास व्यक्त गरिन्।

Read more news from Clickmandu

Explore by Source or Category