npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

परशुराम धामको उज्यालोले परिगाउँमा परिवर्तन

सम्झना पाण्डेय 4 hours ago

डडेल्धुरा । केही वर्ष अधिसम्म वर्षात लागेपछि कम्मरसम्म हिलो हुने, गोरेटोसमेत स्पष्ट नदेखिने परशुराम नगरपालिका ५ को परिगाउँमा आज पक्की सडक, मोटरेबल पुल र धार्मिक पूर्वाधारका कारण सुदूरपश्चिमकै उदीयमान गन्तव्यका रूपमा चिनिन थालेको छ । यो परिवर्तन केवल भौतिक संरचनाको विस्तार होइन । यो राज्यको पहुँच, द्वन्द्वपछिको पुनर्निर्माण, सीमावर्ती अर्थतन्त्र र धार्मिक पर्यटनको सम्भावनाले बुनेको समग्र रूपान्तरण हो ।

हिलो, डुवान र गोरेटोबाट धार्मिक पर्यटन र पूर्वाधारसम्मको यात्रा

स्थानीयका अनुसार २०७४ सालअघिसम्म वर्षायाममा सडक डुवानमा पर्थे, रंगुन खोलाले बगाएर वर्षेनी ज्यान जाने घटना दोहोरिन्थे । स्वास्थ्य चौकी नहुँदा सुत्केरी घरमै हुन्थे, भारतको टनकपुर बजार पुग्न महाकाली तरेर एक दिन पैदल हिँड्नुपर्ने बाध्यता थियो ।

४० वर्षअघि बैतडीको जोईसेनाबाट डडेल्धुराको रुपाल हुदै नौ दिन लगाएर परिगाउँ पुगेको स्मरण गर्दै जानकी जोशी भन्छीन, जंगलै जंगल थियो, बस्ती थिएन । यो कथनले परिगाउँको सुरुवाती अवस्थालाई केवल भौगोलिक दुर्गमता होइन, राज्य सेवाबाट वञ्चित सामाजिक यथार्थका रूपमा चित्रित गर्छ ।

द्वन्द्वपछिको गतिः २०७२ पछिको तीव्रता
२०५२ देखि सुरु भएको सशस्त्र द्वन्द्वले रोकिएको स्थानीय विकास २०७२ पछिका वर्षहरूमा तीव्र भएको स्थानीय ललित जोशीले बताए । उनका अनुसार पक्की सडक विस्तार, रंगुन खोलामा मोटरेबल पुल, नमुना विद्यालय स्थापना र स्वास्थ्य चौकीको स्तरोन्नति, यी सबैले सेवा प्रवाहमा गुणात्मक सुधार ल्याए ।

पूर्वाधारको उपस्थितिले समय लागत घटायो, बजार पहुँच बढायो र सामाजिक सेवामा भरोसा जगायो । जोखिम घटेसँगै बसोबास स्थिर भयो, बस्ती बाक्लियो, र स्थानीय अर्थतन्त्र चलायमान बन्यो ।

धार्मिक पर्यटनः अर्थतन्त्रको नयाँ इन्जिन
उनका अनुसार परशुरामधाम क्षेत्रमा ५२ फिट अग्लो भगवान परशुरामको मूर्ति, ताल, धर्मशाला, स्नानस्थल, शैचालय, मन्दिर, मन्दिर भित्रका मूर्ती र तटबन्ध निर्माणसँगै धार्मिक पर्यटनको आधार तयार भएको छ । पूजाआजाका सामग्री र भोजनालय खुलेका छन । साना उद्यम फस्टाएका छन ।

धार्मिक आस्था र भौतिक पूर्वाधारको संयोजनले “गन्तव्य” निर्माण गर्छ । परशुरामधाममा त्यो संयोजन देखिन थालेको छ । तर यसको दिगोपन व्यवस्थापन, सरसफाइ, आवास क्षमता, पार्किङ, सूचना–प्रणाली र विपद् व्यवस्थापनसँग जोडिएको छ ।

सीमावर्ती आयामः सुरक्षा र व्यापार
महाकाली किनारमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएपछि सीमासुरक्षा र अवैध व्यापार नियन्त्रणमा सहयोग पुगेको स्थानीय बताउँछन । सीमा–नजिकको भौगोलिक अवस्थिति स्वयंमा अवसर र चुनौती दुवै हो । वैध व्यापार, तीर्थ–पर्यटन र पार–सीमाना आवागमनलाई संस्थागत बनाउने नीतिगत पहल भए परिगाउँ क्षेत्र क्षेत्रीय अर्थतन्त्रको केन्द्र बन्न सक्छ ।

यद्यपि विकासको कथा पूर्ण भएको छैन । महाकालीमाथि पुल निर्माण भए भारतबाट धार्मिक पर्यटकको प्रत्यक्ष आवागमन सहज हुने अपेक्षा छ । यसले होटल, यातायात, हस्तकला र कृषि–उत्पादनको माग बढाउन सक्छ । रंगुनपन्तुरा क्षेत्रमा थप पुल र पहुँचमार्ग सुदृढीकरणले वर्षायामको जोखिम घटाउनेछ ।

सिँचाइ कुलोको पूर्ण पक्कीकरण र दिगो खानेपानी व्यवस्थापन बिना कृषि उत्पादकत्व र बसोबासको गुणस्तर सीमित रहनेछ । उनले भने, पूर्वाधारको “हार्डवेयर” बने पनि “सफ्टवेयर” सञ्चालन, मर्मत, संस्थागत क्षमता र पारदर्शिता उत्तिकै आवश्यक छ ।

सम्भावनाको चौतारीमा उभिएको परिगाउँ
परशुरामधाम र परिगाउँको यात्रा हिलोबाट पक्की सडकसम्मको मात्र होइन । यो उपेक्षाबाट अवसरसम्मको यात्रा भएको स्थानीयको बुझाई छ । उनका अनुसार द्वन्द्वपछिको पुनर्निर्माण, धार्मिक पर्यटनको उदय र सीमावर्ती अर्थतन्त्रको सम्भावनाले यस क्षेत्रलाई नयाँ पहिचान दिइरहेको छ ।

अबको मोड नीतिगत प्राथमिकता, दिगो पूर्वाधार र समावेशी विकासमा निर्भर छ । महाकालीमाथि पुल बनेको दिन, परिगाउँको कथा सम्भवतः नयाँ अध्यायमा प्रवेश गर्नेछ ।

The post परशुराम धामको उज्यालोले परिगाउँमा परिवर्तन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category