राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौँमा जेन जेड आन्दोलनका १६९ घाइतेको वर्गीकरण
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन जेड प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए । चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अति गम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए ।
उनका अनुसार यही मङ्सिर ५ गते र १२ गते दुई चरणमा छलफल गरी घाइतेहरूको वर्गीकरण गरिएको हो । असक्तहरूको हकमा भने उपचाररत अस्पतालमा गएर टोलीले वर्गीकरण गरेको उनले बताए ।
प्रशासन कार्यालयमा आउन अफ्ठयारो हुनेहरूको हकमा एम्बुलेन्समार्फत ल्याएर वर्गीकरण गरिएको हो । प्रजिअको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले जेन जेड प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ का आधारमा हालसम्म १६९ जनाको वर्गीकरण गरेको हो ।
प्रशासन कार्यालयले उक्त वर्गीकरण सम्पन्न गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस पठाउने र सोही आधारमा मन्त्रालयले निर्णय गरी घाइतेहरूको सूची अनुसार आवश्यक सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था मिलाउने जनाइएको छ । जेन जेड प्रदर्शनका लागि सुरुमा प्रशासन कार्यालयले ३१५ जनालाई अनुमतिपत्र उपलब्ध गराएको थियो ।
The post काठमाडौँमा जेन जेड आन्दोलनका १६९ घाइतेको वर्गीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....