npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

कुलमान घिसिङ मंसिर १७ देखि राजनीतक मैदानमा उत्रिने

अनलाइन टीभी नेपाल 2 days ago

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ मंसिर १७ गतेदेखि राजनीतिक मैदानमा उत्रिने भएका छन् । उनकै सक्रियतामा खुलेको ‘उज्यालो नेपाल पार्टी’ मंसिर १७ गते औपचारिक घोषणा हुँदैछ । सोही कार्यक्रममार्फत घिसिङ दलमा औपचारिक ढंगले खुल्ने भएका हुन् । प्रज्ञा भवन, कमलादीमा हुने पार्टीको औपचारिक घोषणामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ, जसमा पार्टीको सैद्वान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रस्तुत गरिनेछ ।

उज्यालो नेपाल पार्टी नेपालको संविधानका उपलब्धिहरूलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा, प्रभावकारी सेवा प्रवाह लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न दर्ता भएको उनीहरुको भनाइ छ । उज्यालो नेपाल बनाउने अभियान सिंगो नेपालीको साझा अभियान भएको भन्दै हालैको जेनजी आन्दोलनलाई पनि संस्थागत नगरे देशले थप आन्दोलनको भार थेग्न नसक्ने सो पार्टीले जनाएको छ ।

नेपालको संविधानको उपलब्धिहरूलाई आत्मसात् गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता अक्षुण्ण राखी परिवर्तित सन्दर्भसहितको जनअपेक्षा र चाहनालाई पूरा गर्ने संकल्प गर्दै, लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय र सेवाप्रवाह मार्फत सामाजिक आर्थिक रुपान्तरण गर्न उज्यालो नेपाल पार्टी हालसालै दर्ता भएको हो । उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय छन् । घिसिङले उम्मेदवारी मनोनयन दर्ताको दिन मात्रै मन्त्री पदबाट राजीनामा दिने भएका छन् । पार्टी औपचारिक घोषणा कार्यक्रमपछि पनि उनी मन्त्रीमै क्रियाशील हुने भएका छन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category