राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
कलेज–कलेजमा एक चिहान देखाउँदै ओजस थिएटर
काठमाडौं । हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास ‘एक चिहान’लाई यति बेला काठमाडौँको ओजस थिएटर रातो पुलले विभिन्न ठाउँमा मञ्चन गर्दै आएको छ । गत १ मंसिरबाट यो नाटकको पुन मञ्चन सुरु गरिएको हो । नाटकलाई काठमाडौँसहित मोफसलमा पनि मञ्चन गर्ने तयारीमा आफूहरू रहेको यसको निर्माण टिमले जनाएको छ ।

विगतमा यो उपन्यासलाई सांस्कृतिक संस्थान नाचघरले मञ्चन गर्दै आएको थियो । तर यो उपन्यासलाई नाटकमा हेर्ने दर्शकको माग बढेपछि ओजस थिएटरले यसलाई विगत ६ महिना यताबाट मञ्चन सुरु गरेको हो । उता नाचघरले पनि यो नाटक मञ्चनलाई निरन्तरता दिइरहेको छ ।
ओजस थिएटर अन्तर्गत सागर कार्कीको निर्देशनमा उपन्यास ‘एक चिहान’लाई नाट्यकरण गरेर मञ्चन थालिएको हो । १५ मंसिर सोमबार यो नाटकलाई काभ्रेको बनेपामा मञ्चन गर्न लागिएको निर्देशक सागरले राजधानीलाई जानकारी गराए । बनेपामा पनि स्थानीय कलेजको माग अनुसार मञ्चन गर्न लागेको जनाउँदै मञ्चन’bout उनले भने,‘अहिले नाटक मञ्चनको लागि विभिन्न कलेजहरूबाट प्रस्ताव आइरहेको छ । कलेजको माग अनुसार यो नाटकलाई हामीले काठमाडौँ र मोफसलका विभिन्न सहरमा मञ्चन गर्दै छौँ ।’
उपन्यास ‘एक चिहान’को नाट्य रूपान्तरण हर्क मगरले गरेका हुन । नाटकमा अभिनेता जेबी डिसीसँगै, मदन थापा, कल्पना थापा, रिता थापा, सानु पाण्डे, आशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, विप्लव खडका, उज्ज्वल राई, समीर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कँडेल, गोविन्द खडका, रश्मि गुरुङ, अञ्जना दुलाल र प्रदीप विश्वकर्माको अभिनय रहेको छ ।
निर्देशक सागरका अनुसार गत साउनमा ओजस थिएटर रातो पुल काठमाडौँले उपन्यासलाई नाटकमा तयार गरेको छ । त्यसपछिबाट नियमित मञ्चन गर्दै आएको यो नाटकलाई साउनमै बुटवलमा एक हप्ता प्रदर्शन गरिएको थियो । यस्तै विशेष सो अन्तर्गत गत १ मंसिरमा केएमसी कलेजको सहकार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चन गरियो । यस्तै ५ देखि ७ मंसिरसम्म राष्ट्रिय नाचघरमा, ८ र ९ मंसिरमा युनाइटेड कलेज कुमारी पाटी ललितपुरमा मञ्चन गरिएको पनि निर्देशक सागरले जानकारी गराए ।
‘एक चिहान’को शीर्ष पात्र डाक्टर गोदत्तको भूमिका निर्वाह गरेका कलाकार जेबी डिसीले राधजानीसँगे भने,‘यो उपन्यास पढ्दा डाक्टर गोदत्तको भूमिका मलाई साह्रै मन परेको थियो । अहिले त्यही चरित्र निर्वाह गर्न पाउँदा खुसी लागेको छ’, आफ्नो चलचित्रलाई दर्शकले मन पराएकोमा कलाकार डिसी प्रफुल्लित छन् ।
उपन्यास ‘एक चिहान’ प्लस टुको कोर्षमा राखिएका कारण पनि विभिन्न प्लस टु कलेजबाट नाटक मञ्चनको लागि प्रस्ताव आउने गरेको पनि कलाकार डिसीले जानकारी गराए । जस अन्तर्गत मंसिर महिना भरी यो नाटकलाई नियमित मञ्चन गर्ने तयारीमा रहेको पनि उनले बताए ।
The post कलेज–कलेजमा एक चिहान देखाउँदै ओजस थिएटर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....