News of Nepal
सबैभन्दा लोकप्रिय खेल फुटबलकै हालत खराब

देश बन्नको लागि खेलकुदको पनि ठूलो योगदान हुन्छ । यदि, खेलकुद फस्टाउँदै गएमा देशलाई धेरै ठाउँबाट टेवा प्राप्त हुन्छ । एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता गरेमा त्यसअनुसारको आम्दानी देशलाई हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न त्यहीअनुसार बाटो, ठाउँको प्रगति पनि हुन्छ भने हजारौं नागरिकले रोजगार पनि पाउन सक्छन् ।
जस्तै, नेपालमा अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको प्रतियोगिता भइरहेको छ । पहिलो संस्करण घाँस र धुलोमा आयोजना भएको यस प्रतियोगिता अहिले प्यारापिट र फ्लडलाइटमा भइरहेको छ । कतिपय विदेशी खेलाडीको आगमनले नेपालको अर्थव्यवस्थालाई समेत माथि उकास्न केही मद्दत भइरहेको छ । यदि, नेपालको हरेक खेललाई यसरी नै आयोजना गर्न सकेमा खेलकुदबाटै नेपालले धेरै आम्दानी गर्न सक्दछ । यस्तो भएमा देश पनि आर्थिक स्थितिको आधारमा बलियो बन्न पनि सक्छ ।
तर, यसो कल्पना गरिरहँदा विश्वकै ठूलो समर्थक भएको खेल फुटबलको हालत भने नेपालमा दिनप्रतिदिन खस्किँदै गएको छ । फुटबलको मेरुदण्डको रूपमा रहेको ए डिभिजन लिग नियमित हुन सकिरहेको छैन । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सधैँ बैठक गर्ने र विदेश भ्रमणमै सीमित हुँदा नेपाली फुटबल खस्किरहेको फुटबलरहरूले आरोप लगाइरहेका छन् । कहिले बजेट छैन भन्ने कहिले कुरो नमिलेको भन्दै ए डिभिजन लिग २०७९ पछि हुन सकेको छैन ।
त्यसो त एन्फाले गत वर्ष चैतमा आगामी आर्थिक वर्षको अनुमानित बजेट १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपियाँ हुने बताएको थियो । यतिका रकमको बजेट भनेपछि नेपालमा फुटबल नियमित हुने र फुटबलरहरूका लागि आर्थिक स्थिति बलियो हुने नै कल्पना गर्न सक्छौं । सोच्नु सकारात्मक हो तर, हुन्छ नकारात्मक । अनि फुटबलमा विकास खालि कल्पनामै सीमित हुन जान्छ ।
यो भारी बजेटले न ए डिभिजन लिग नै भयो न फुटबलरहरू नै विदेश जाने क्रम नै रोकियो । हालै नेपालका मुख्य स्ट्राइकर अन्जन विष्ट बंगलादेशको लिग खेल्न गइसकेका छन् । उनले यति नै भने कि नेपालमा लिग भएन त्यसैले घर चलाउन विदेशमा खेल्नुपरेको छ । एन्फा अझ ए डिभिजन लिग गर्न सरकारसँग ५ करोड माग गर्छ भने यो संस्थासँग भएको रकम कता गए होलान् ?
चालू वर्षको असारमा एएफसी महिला एसियन कप छनोटमा नेपाली टोलीले उज्वेकिस्तानको यात्रा गरेको थियो । उक्त प्रतियोगितामा दुर्भाग्यले नेपाली टोली घरेलु टोलीसँग पेनाल्टीमा पराजित भयो । र नेपाली टोली आगामी वर्ष अस्टे«लियामा हुने महिला एसियन कपको लागि छनोट हुन सकेन ।
यो प्रतियोगिता धेरै कुराको प्रश्न तेर्साएर सकिएको थियो । पहिलो बेल्जियन कोच प्याट्रिक वाइल्डले सनसनी अन्तर्वार्ता दिए । दोस्रो प्याट्रिकले सीधै अखिल नेपाल फुटबल संघ (एन्फा) माथि आरोप पनि लगाए । अर्को मुख्य कुरा प्याट्रिक उज्वेकिस्तानबाट नेपाल नफर्की उनकै देश बेल्जियम फर्केर नेपालको फुटबल दयनीय अवस्थामा रहेको प्रष्ट पारे ।
प्याट्रिकले एन्फालाई आरोप लगाए कि नेपाली महिला राष्ट्रिय फुटबल टोलीका लागि आधारभूत आवश्यकताहरूको बन्दोबस्त गर्न सकेन । अभ्यास दौरान आवश्यक पर्ने प्रविधि, खेलाडीको खानपान र बसोबास व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भनेर प्याट्रिकले एन्फासँग गुनासो गरेका थिए ।
एन्फाको बजेट अर्बौंको हुन्छ यति धनी भए पनि नेपाली खेलाडीको लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्न आनाकानी गर्दछ भने त्योभन्दा दुर्भाग्य अरू के होला ? ती रकममध्ये केही खर्च पनि नगर्ने एन्फाले नेपाली फुटबललाई कसरी माथि उठाउला भन्ने प्रश्न उब्जिन्छ । त्यसो त वर्तमान एन्फा अध्यक्ष पंकज नेम्वाङको नेतृत्वले नेपाली फुटबलमा गरेको काम केही देखिँदैन पनि ।
हरेक क्षेत्रमा देशको आर्थिक र सामाजिक अवस्थाले निर्देशित हुन्छन् । खेलकुद पनि यसबाट अछुतो रहन सक्दैन । खेलाडीको ‘रिकभरी’का लागि आवश्यक पर्ने ‘आइस’ को व्यवस्थापन गर्न असम्भव नै हुँदैन । नेपाली महिला टोलीका लागि एन्फाले आइससमेत उपलब्ध गर्न नसक्नु योभन्दा लज्जास्पद कुरा अरू हुने नै छैन ।
विदेश खेल्न गएका नेपाली खेलाडीको होटल बसोबास र राम्रो खानपान मिलाउन पनि असम्भव छैन । त्यो पनि राम्ररी निर्वाह गर्न नसक्ने एन्फाले फुटबलको विकास गर्ला भन्ने सोच्नै सकिँदैन । तसर्थ, युरोपमा जन्मिएका, हुर्किएका, फुटबल प्रशिक्षण गराउँदै संसार घुमेका प्याट्रिकका लागि एक महिने नेपाल अनुभव उनको नाम जस्तै ‘वाइल्ड’ नै भएको हुनुपर्छ । त्यसैले त उनले भने कि एन्फा सुधे्र मात्रै उनी नेपाल फर्किने छन् । यसको मतलब एन्फा पैसामात्रै आफूमा सीमित राखेको भन्ने सजिलै बुझ्न सकिन्छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका केही खेलाडीले गत जोर्डनमा वाफ च्याम्पियनसिप खेल्दा पनि त्यही पैसाकै गुनासो गरेका थिए । उनीहरूले सार्वजनिक गरेको एक भिडियोमा जोर्डनको आकर्षक मैदान हेर्दै यस्तो नेपालमा कहिले हुने भनिरहेका थिए । नेपालमा रहेको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालालाई समेत अहिले अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य बनाइसकेको छ । यदि एसियाली फुटबल महासंघ (एएफसी) ले अयोग्य भनेपछि उनीहरूको निर्देशनअनुसार दशरथ रंगशालालाई योग्य बनाइदिनु प¥यो । एन्फा खालि पैसा बटुलेरै बस्ने हो कि पैसा आवश्यकअनुसार खर्च गर्ने हो ।
अर्को तलब नै नपुगेको गुनासो गरेको भिडियो पनि भाइरल नै भएको थियो । एकजना खेलाडीले भन्दै थिए—यति तलबले के नै पुग्ने ? घर भाँडा तिर्नै प¥यो, चामल एक बोरा किनेपछि यो तलब सकिहाल्छ ।
यस्तो भनेपछि नेपाली राष्ट्रिय खेलाडीलाई कति कम तलब दिने भन्ने नै साबित भइसकेको छ । अनि एन्फामा बसेका पदाधिकारीहरूको तलबचाहिँ लाखमा हुने । यसले एन्फाले रकम जति आफैंमा खर्च गरेर एक किसिमले भ्रष्टाचार नै गरेको भन्ने आरोप बेला बेला लागिरहेकै छ । तर, पनि नेपाली खेलाडीलाई आकर्षक तलब दिने भन्ने अहिले चेन्ज द एन्फा नाराका साथ नेतृत्वमा आएको वर्तमान पदाधिकारीहरूमा सोच आएकै छैन ।
एन्फाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ गत वर्ष कार्तिकमा आयोजना गरेको थियो । यस प्रतियोगिताको लागि माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपियाँमा टिकेटिङ अधिकार प्राप्त गरेको थियो । तर, फाइनलसम्म पुग्दा एन्फाले यो कम्पनीलाई टिकट बिक्री गर्न रोक लगाउनु परेको थियो ।
भारतविरुद्धको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बिक्री भएको र त्यसको छानबिन गर्नुपरेको थियो । रिपोर्टअनुसार सो खेलका लागि करिब १५ हजार दर्शकक्षमता रहेको दशरथ रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको थियो । त्यसैले एन्फाले नेपाल र बंगलदेशबीच हुने फाइनलको टिकट बिक्री नगर्ग आग्रहसमेत गर्नुपरेको थियो । यस्तो अनियमितता हुँदा यहाँनेर एन्फा चुकेको थियो ।
थापा १० वर्ष प्रतिबन्धमा
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फिफाको इथिक्स कमिटीले २०७२ साल कार्तिक ३० गते सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो । थापाले पूर्व अध्यक्ष बिन हमामसँग १ लाख अमेरिकी डलर लिएको आरोपमा फिफाको इथिक्स कमिटीले लामो समयको प्रतिबन्धको साथै २० हजार फ्रान्क पनि जरिवाना तिराएको थियो ।
थापाले सन् २०११ मा भएको फिफाको निर्वाचनमा घुस लिएको आरोप उनीमाथि लागेको थियो । सो प्रतिबन्धबाट उनी यही वर्षको वैशाखमा मुक्त भएका हुन् । तर, यस प्रतिबन्ध हुनअघि थापाले भनेका थिए, ‘मलाई लागेको आरोप प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु ।’
नेपाली फुटबल र खेलकुद क्षेत्रमा आँच आउने कुनै काम नगरेको थापाको दाबी थियो । भोट किन्न आफूले रकम लिएको भन्ने समाचारको उनले खण्डनसमेत गरेका थिए । उनले फिफा पूर्वअध्यक्ष बिन हमामसँग आफूले व्यापारिक प्रयोजनका लागि रकम लिएको बताए । हमाम कम्पनीसँग आफूले सन् २००८ देखि साझेदारीमा व्यापार पनि गरिहेको उनले बताएका थिए ।
त्यतिबेला बेलायती मिडिया सन्डे टाइम्सले प्रतिबन्धित एएफसीका पूर्वअध्यक्ष हमामको कम्पनी केम्कोबाट थापाले व्यक्तिगत रूपमा १ लाख १५ हजार पाउन्ड लिएको खुलासा गरेको थियो । त्यसो त उनले फिफामा अपिल पनि गरे तर, फिफाले उनको अपिल खारेज गरिएपछि उनको फुटबलमा फर्कने सम्भावना सबै सकिएको थियो ।
थापाको बर्हिगमनपछि भने नेपालमा फुटबलको हालत दिन प्रतिदिन खस्केको थियो । अहिले आएर सबै जना भन्दै छन् कि जे विकास भयो फुटबलमा त्यो थापाकै पालोमा भयो । हुन पनि हो उनी अध्यक्ष हुँदा ए डिभिजन लिग सञ्चालन नियमित नै जसो भएको थियो ।
लिग विजेताले त १ करोडसम्म पनि पाएको थियो । अहिले यो घटेर लाखमा पुगेको छ । त्यस्तै, राष्ट्रिय खेलाडीलाई गाडी, अपार्टमेन्टसमेत दिने कार्य उनकै पालामा भएको थियो । उनले स्पोन्सर पनि ल्याउन सकेका थिए तर, अहिले एउटा क्लबलाई पनि स्पोन्सर मिलाइ दिन वर्तमान एन्फा नेतृत्व असफल भएको धेरै जसो क्लबको एउटै स्वर रहेको छ ।