काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ। इरानी सरकारी टेलिभिजन तथा विभिन्न राष्ट्रिय सञ्चारमाध्यमहरूले उनको निधनको खबर सार्वजनिक गरेका हुन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए। तर इरानी अधिकारीहरूले भने त्यतिबेला उक्त दाबी अस्वीकार गर्दै उनी सुरक्षित रहेको बताएका थिए।
आइतबार बिहान इरानी पक्षबाटै औपचारिक रूपमा मृत्युको घोषणा गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था Reutersले जनाएको छ।
खामेनीको निधनसँगै इरानभर ४० दिनको सार्वजनिक शोक घोषणा गरिएको छ। सरकारी कार्यालयहरूमा झण्डा झुकाइने र विभिन्न श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने जनाइएको छ।
शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेका थिए। राजधानी तेहरानस्थित खामेनीको निवास नजिकै शक्तिशाली विस्फोटका आवाज सुनिएको र धुवाँ उडेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
आक्रमणपछि राष्ट्रपति ट्रम्पले इरानी नागरिकलाई सत्ता आफ्नो नियन्त्रणमा लिने अवसर आएको टिप्पणी गरेका थिए, जसले क्षेत्रीय राजनीतिक तनाव थप चुलिएको विश्लेषण गरिएको छ। एजेन्सीको सहयोगमा