News of Nepal
डिफेन्डिङ च्याम्पियन न्यूक्यासल पराजित
लन्डन, (एजेन्सी) ।
गत सिजनमा उपाधि जितेर सनसनी मच्चाएको टोली न्यूक्यासल यूनाइटेड काराबाओ कपको सेमिफाइनलको पहिलो लेगमा पराजित भएको छ । म्यानचेस्टर सिटीले न्यूक्यासललाई २–० ले हराएको हो । सिटीको जितमा एन्टोइन सेमेन्यो र रायन चर्कीले गोल गरेका थिए ।
एक हप्ताअघि मात्रै ६५ मिलियन पाउण्डमा बर्नमाउथबाट सिटी अनुबन्ध भएयता सेमेन्योले दुई खेलमा दुई गोल गरिसके । गत हप्ता सिटीले एक्सेटर सिटीलाई १०–१ ले हराउँदा पनि उनले एक गोल गरेका थिए ।
अर्को लेग आफ्नै इतिहाद मैदानमा हुने भएको हुँदा सिटी फाइनल पुग्ने बलियो संभावना रहेको छ । यो खेल फेबु्रवरी ४ मा हुनेछ । यसमा सिटीले बराबरी मात्रै खेले पनि फाइनलमा पुग्नेछ ।
तर, ८ पटकको विजेताविरुद्ध अप्रत्यासित जित निकाल्नको लागि न्यूक्यासलले कमसेकम ३ गोल गर्नु आवश्यक छ । त्यसमा पनि गोल बेहोर्न भएन । टोलीका मेनेजर एडी होवेले आस गर्दै बताए कि फुटबलमा चमत्कार हुन बेर छैन ।