npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

जलेको सिंहदरबारलाई जेनजी सहिदहरूको जीवन्त स्मारक क्षेत्र घोषणा गरौं

न्युज अफ नेपाल 15 hours ago

आखिरमा सिंहदरबारलाई आफ्नो अस्तित्वको अन्तिम क्षणमा एक घुट्का पानी पिलाउने पनि कोही भएन र रातभर जलिरह्यो । कुरो २०८२ साल भाद्र २४ गते मङ्गलबारको हो । भाद्र २३ गतेको जेनजीको आन्दोलनको दोस्रो परिदृश्यमा नयाँ सांसद भवननिरको भीषण संघर्षमा १९ जना होनहार विद्यार्थीहरूको निर्मम हत्या र अति महत्वपूर्ण अमूर्त तथा मूर्त सांस्कृतिक सम्पदा, सरकारी तथा निजी भवनहरूको आगजनी भयो । यी सबै क्षतिहरूमध्ये पाटनका बुङ्द्यः (रातो मत्सेन्द्रनाथ) को पाङ्ग्राहरू, सिंहदरबार प्रधानमन्त्रीको कार्यालयस्थित भवन र पशुपतिनाथ मन्दिर परिसरस्थित प्रहरी चौकी पनि हृदय विदारक र ऐतिहासिक रूपमा विध्वंशकारी आगजनीमा नष्ट भयो ।

यी तीन परिदृश्यहरू आगजनी मात्र होइन नेपालको संस्कृति सम्पदामा आक्रमण थियो र नेपाल राष्ट्रको सर्वनाशको प्रयास थियो । विश्वका धेरैजसो आन्दोलनहरूको लक्ष्य सरकारको शासन प्रणाली र समाजको प्रवृत्तिमाथि हुन्थ्यो । तर, यस जेनजी आन्दोलनमा सांस्कृतिक सम्पदा, जनधन दुवैको विनाश भयो र राष्ट्रको सार्वभौमसत्तामाथि सांघातिक हमला भयो । यस घटनाले नेपालको सयौं वर्षको मेहेनतपछि स्थापना भएको संस्थागत संरचना, शासन प्रणाली र प्रत्येक नेपालीको मुटुमा गहिरो चोट पनि हो । बुङ्गद्योका पाङ्ग्राहरूको पुनःर्निमाण १६ सय वर्षको प्राचीन परम्पराले संरक्षित छन् र जात्रा पर्व सञ्चालनमा ललितपुरका जनताले केही कमी आउन दिने छैन ।

यस आगजनीमा सिंहदरबारले के गुमायो त्यसको चर्चा गरौं । वि.सं.२०३० सालको आगलागीमा दरबारको धेरैजसो मौलिक भागहरू जलिसकेको थियो । सिंहदरबारको राष्ट्रिय अभिलेखालयमा संरक्षित दस्तावेजहरूमध्ये मल्लकुलका दस्तावेजहरू करण्य विरोग, स्कन्द पुराण, सद्धर्म कुन्दलीका, न्यायविकासिनी, पौराणिक चित्रकलाहरू, लालमोहरहरू र अन्य महत्वपूर्ण पत्रहरू पनि थिए । ती ग्रन्थ मध्ये ९औं शताब्दीमा हस्तलिखित शैवधर्मको ‘श्वाश्वतत्व संहिता” जुन हालसम्म एक मात्र नेपालको सम्पदा युनेस्कोको सम्पदा स्मृति गृह (युनेस्को मेमोरी अफ हेरिटेज) मा सूचीकृत थियो । यी श्रीसम्पति मध्ये कतिपय सांस्कृतिक सामग्रीहरू छाउनी संग्रहालयमा सुरक्षित छन् । यस आगजनीका साथ बेलायती बैठकको भव्यता, केही अमूल्य र दुर्लभ भित्तेचित्रहरू र कलात्मक छतहरू संरक्षण हुन सकेन ।

त्यो आगजनीको खरानी सेलाउन नपाउँदै कैयौं विचार र योजनाहरूमध्ये ‘पुनर्निर्माण वा जिर्णाेद्धार’ को विषय उठेको देखिन्छ र यस परिसरलाई राष्ट्रको प्रमुख प्रशासनिक केन्द्रको रूपमा स्थापित हुनुपर्छ भनी आशय पनि व्यक्त भएको पाइन्छ । यो परिसर ११७ वर्षको इतिहास बोकेको भौतिक सम्पदा भएको कारण सम्भव भएसम्म ‘जस्ताको तस्तै’ अवस्थामा संरक्षण गर्नको लागि ‘जिर्णाेद्धार’ गर्न उपयुक्त हुने अभिव्यक्ति व्याप्त छ । यस आन्दोलनसँगै नेपालले नयाँ युगमा प्रवेश गरेको छ । अब ‘नयाँ युगमा नयाँ अवधारणा’ बोकेर चुस्तदुरुस्त प्रशासन केन्द्रको रूपमा आधुनिक नयाँ भवनबाट नयाँ उमङ्गका साथ सेवा प्रवाह गर्नु पर्दछ ।

एक अवधारणाअनुसार राष्ट्रको प्रमुख प्रशासनिक केन्द्रले अब यस भग्नावशेषबाट अवकाश पाउनुपर्छ । यस राष्ट्रविरुद्ध अपराधजन्य आगजनी भएको ठाउँमा प्रशासन केन्द्र बनाएर गलत मानसिकता बोकेर सिर्जनात्मक कार्य कसरी गर्न सक्ला ? यस ठाउँको नकारात्मक ऊर्जाले कहिले पनि छोड्ने छैन । यस संरचनाको कसरी प्रयोग गर्ने र स्थायी सबलीकरणको व्यवस्थाको लागि विस्तृत अध्ययन अनुसन्धान र छलफल गर्नु आवश्यक देखिन्छ । यो विषय अति जटिल र संवेदनशील भएको कारण धेरै हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने काम गर्न आवश्यक छैन । नयाँ सोचअनुसार नयाँ विकल्प खोज्नु उत्तम हुने देखिन्छ ।

हालको नेपालको मौलिक चाडपर्व दशैं र तिहारको माहौलमा जेनजीको आन्दोलनबाट उत्पन्न पीडादायी परिवेशमा हामीले हाम्रा सनातन संस्कृतिबाट के सिक्यौं र राष्ट्र निर्माणमा के उपयोग ग¥यौं समीक्षा गर्नुपर्ने बेला पनि आएको जस्तो लाग्छ । हामीले हरेक दिन पाठ गर्ने श्लोकहरूमा प्रष्ट गरिएको छ ‘बल विद्या बुद्धि देऊ (मोही हरेहु क्लेश बिकार’) अर्थात् हरेक काम गर्दा ‘बल विद्या बुद्धिको प्रयोग गरौं र बाधा अड्चन हटाउने प्रयास गरौं ।’

हाम्रो सनातन संस्कृतिमा पृथ्वीमण्डललाई पञ्च महाभूत तत्व (पृथ्वी, जल, वायु, आकाश र अग्नि) मा विभाजित गरिएको छ । यी पञ्च महाभूत तत्वले सौम्य तथा उग्ररूप पनि देखेका छौं । बाढीपहिरो, आगजनी र भूकम्पले भएको विनाशको अनुभव प्रशस्त छ । यी पञ्च महाभूत तत्वको सौम्य रूपले हर्ष उल्लास र चाडपर्वको माहोल सिर्जना गर्दछ । दशैंको पर्वमा अग्निको प्रयोग ‘मोहनी टीका’ बनाउन र तिहारमा दीपमाला र लक्ष्मीपूजाको सबैभन्दा अँध्यारो रातलाई उज्यालो बनाउन उपयोग हुन्छ । यी पञ्च महाभूत तत्वका उग्ररूपले विनाश ल्याउँछ । कतै हाम्रो आधुनिक शिक्षामा हाम्रा सनातन संस्कृतिको शिक्षाको कमी भयो कि भन्ने प्रश्न चिन्ह खडा भएको छ । अब कुनै पनि आन्दोलनको क्रममा भौतिक तथा अभौतिक संस्कृति तथा सम्पतिमा विध्वंसकारी कार्य हुनु हुँदैन ।

‘डिस्ट्रक्सन अफ हेरिटेज एसेस्ट्स, नो मोर अगेन’ भन्नैपर्छ र जेनजी आन्दोलनको अभूतपूर्व महत्वलाई ध्यानमा राखी यस स्थानमा ‘जेनजी आन्दोलनकारीहरूको सम्मान र सहिदहरूको जीवन्त स्मारक क्षेत्र’ स्थापना गर्नु आवश्यक देखिएकाले यो प्रस्ताव पेश गरिएको छ । यस प्रस्तावको औचित्यका केही बुँदाहरू यस प्रकार छन् :

१. जेनजेड आन्दोलन नेपालको लागि युगान्तकारी भएको तथा ‘आन्दोलनकारीहरूले नेपालीहरूको मनोभावलाई समेत्न सफलताको लागि सम्मान र सहिदहरू प्रति श्रद्धाञ्जलीको जीवन्त स्मारक क्षेत्र’ को रूपमा स्थापनाको लागि प्राथमिकता दिनुपर्छ । जेनजी आन्दोलनका सहिदहरूको त्यागको उचित सम्मान व्यक्त गर्न योभन्दा उपयुक्त र महत्वपूर्ण अन्य कुनै स्थान हुनै सक्दैैन ।

२. आगजनी पछिको यो अवशेष आफैमा अद्वितीय जीवन्त सम्पदा स्मारक भएको कारण (जस्तै हिरोसिमाको आणविक विष्फोटको कारण छाँयामा परिवर्तित मानवको अद्वितीय स्मारक, हिरोसिमाको भग्नावशेष भवन, मिन्स्क सहरको भत्किएका ईटाको पर्खाल, चित्रलाई ‘जस्ताको तस्त’ै अवस्थामा संरक्षण गर्नु आवश्यक देखिन्छ । यसले जेनजी आन्दोलनको परिवेशमा दनदन बलेको आगोको झझल्कोको सदैव महसुस हुनेछ ।

३. यस्तो अद्वितीय जीवन्त सम्पदा स्मारक भत्काएपछि फेरि यस्तो बनाउन सकिंदैन । त्यसैले ‘जस्ताको तस्त’ै स्थानमा संरक्षण गर्नु पर्दछ ।

४. सिंहदरबार आफैं दक्षिण एसियाको एक अमूल्य इतिहास र वास्तुकलाको नमुना हो । यो संरचना मात्र इँटा र पर्खाल होइन नव परम्परागत वास्तुकलाको उदाहरणीय संरचना थियो । नेपालको शक्ति, सम्भ्रान्त समाजको वैभव र ११७ वर्षको इतिहासको स्मारक पनि हो । आगलागीले महत्वपूर्ण कागजातहरू, तथ्यहरू, स्मृतिका पानाहरू र पनि विलिन भयो ।

५. यस भग्नावशेषलाई भत्काएर मौलिक शैलीमा पुनर्निर्माण गर्ने संरचना नयाँ नै हुनेछ र ११७ वर्षको इतिहासको मान्यता बोक्न सक्दैन ।

६. २०८२ जेनजी सहिदहरूको जीवन्त स्मारकक्षेत्रको रूपमा विकसित गर्दा यस आन्दोलनको सम्पूर्ण इतिहास जीवन्त स्थापित गर्न सकिने छ र साथै सिंहदरबारको आजसम्म नलेखिएको इतिहास र आधुनिक प्रजातन्त्रको सबल र दुर्बल पक्षलाई पनि उजागर गर्न सकिनेछ ।

७. काठमाडौं आउने प्रत्येक स्वदेशी वा विदेशीलाई अनिवार्य गन्तव्य हुनेछ साथै काठमाडौंवासीलाई पनि उत्तिकै महत्वपूर्ण यात्रा स्थल हुनेछ ।

८. अन्तरिम सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीका प्रतिबद्धता ‘जेनजेड आन्दोलनका सहिदहरूको बलिदानी खेर जान दिन्नँ’ भन्ने अभिव्यक्तिको उचित कदर पनि हुनेछ ।

९. सिंहदरबारको भव्य भवन निर्माणमा ललितपुर, भक्तपुर, कीर्तिपुर र कान्तिपुरका हजारौं श्रमजीवीहरूका पुर्खाहरूका रगत र पसिनाको मेहनतले निर्माण गरिएको एक ज्वलन्त स्मारक थियो । हाम्रा सनातन शास्त्रहरूका अनुसार विद्वान्हरूले सर्वनाशको अवस्थामा बाँकी भएको भग्नावशेषलाई मात्र भए पनि संरक्षण गरी इतिहास र सम्पदाको गरिमाको रक्षा गर्नुपर्छ भन्छन् । ‘सर्वनाशे समुत्पन्ने अर्धं त्यजति पण्डितः । अर्धेन कुरुते कार्यं सर्वनाशो त जायते ।। – श्रीविष्णुशर्मन् पञ्चतन्त्र, इशापूर्व १२००’ । यस सिंहदरबारको भग्नावशेषको संरक्षणले हाम्रा पुर्खा श्रमजीवीहरूको रगत र पसिनाको सम्मानको स्मारक बन्ने छ । यी भग्नावशेष स्मारक सर्जक पुर्खाहरूका सयौं परिवारजनहरू जो आज पनि मौजुद छन् र आफ्ना पूर्वजहरूप्रति सम्मान व्यक्त गर्ने अविस्मरणीय स्थल हुने छ ।

११. सिंहदरबार तथा बुङ्गद्योका पाङ्ग्राहरूकोे आगजनी गर्ने विध्वंसकारीहरूको लागि कालान्तरसम्म प्रायश्चित गर्ने स्थल हुनेछ ।
आगजनीले भष्म भएको सिंहदरबारलाई जेनजीको आन्दोलन तथा नेपालको ऐतिहासिक संग्रहालय बनाउन सकिएमा भावी सन्तति तथा विश्वको लागि एक अद्वितीय उपहार हुनेछ । यो स्मारक स्थल काठमाडौं आउने सबै स्वदेशी वा विदेशीहरूलाई अनिवार्य गन्तव्य स्थान हुने छ । यस्तो अद्वितीय अवसर नेपालले कदापि गुमाउनु हुन्न ।

Read more news from News of Nepal

Explore by Source or Category