npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

इराकबाट सशस्त्र कुर्दिश लडाकुहरू इरान पसेको दाबी

क्लिकमान्डु 3 hours ago

एजेन्सी । सशस्त्र कुर्दिश पृथक्तावादी समूहहरूले इराकबाट इरानको सीमा पार गर्ने प्रयास गरेको यस मामिलाका जानकार तीनवटा स्रोतहरूले रोयटर्स समाचार संस्थालाई बताएका छन् ।

यसले तेहरानविरुद्ध भइरहेको विरोध प्रदर्शनमाथि दिनहुँ भइरहेको कडा दमनपछिको अस्थिरताको फाइदा उठाउन विदेशी शक्तिहरूले सम्भावित प्रयास गरिरहेको संकेत गर्छ ।

नाम गोप्य राख्ने सर्तमा कुरा गरेका एक वरिष्ठ इरानी अधिकारी सहित ती तीन स्रोतका अनुसार, छिमेकी टर्कीको गुप्तचर निकायले हालैका दिनहरूमा कुर्दिश लडाकुहरूले सीमा पार गरिरहेको बारे इरानको रिभोलुसनरी गार्ड्सलाई सचेत गराएको थियो ।

ती इरानी अधिकारीका अनुसार, कुर्दिश लडाकुहरूसँग आईआरजीसीको भिडन्त भएको थियो । ती लडाकुहरूले अस्थिरता सिर्जना गर्न र प्रदर्शनको फाइदा उठाउन खोजेको अधिकारीले बताए । रिभोलुसनरी गाड्र्स इरानको एक विशिष्ट बल हो जसले यसअघिका अशान्तिहरूलाई पनि दबाउँदै आएको छ ।

टर्कीको गुप्तचर निकाय र अंकारास्थित राष्ट्रपति कार्यालयले यस विषयमा तुरुन्तै कुनै टिप्पणी गरेनन् । टर्कीले उत्तरी इराकमा रहेका कुर्दिश लडाकुहरूलाई आतंकवादी मान्दछ । उसले हालैका दिनहरूमा इरानमा कुनै पनि विदेशी हस्तक्षेपले क्षेत्रीय संकटलाई अझ चर्काउने चेतावनी दिएको छ ।

ती लडाकुहरू इराक र टर्कीबाट पठाइएको इरानी अधिकारीले थपे । तेहरानले ती देशहरूलाई इरानमा लडाकु वा हतियार पठाउने कार्य रोक्न आग्रह गरेको छ ।

एक मानवअधिकार समूहका अनुसार, इरानको धार्मिक शासनको विरोध गर्ने प्रदर्शनकारीहरूमाथि गरिएको दमनमा हालैका दिनहरूमा २६ सयजनाको मृत्यु भएको छ । यी प्रदर्शनकारीहरूलाई अमेरिकाले प्रोत्साहित गर्दै आएको छ । उसले हस्तक्षेप गर्ने धम्की समेत दिएको छ ।

Read more news from Clickmandu

Explore by Source or Category