News of Nepal
धेरै रन बनाउनेलाई ५० हजार दिइने
काठमाडौं ।
आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफायर खेलहरू नेपालमै आयोजना हुँदैंछ । नेपाली खेलाडीका लागि आत्मविश्वास भर्न अमरावती बुटिक होटलले आकर्षक पुरस्कारको पनि घोषणा गरेको छ ।
सो होटलले नेपाली खेलाडीका लागि धेरै रन बनाउनेलाई ५० हजार दिने घोषणा गरेको हो । साथै बढी विकेट लिने खेलाडीका लागि ३५ हजार दिने उक्त होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले जानकारी दिए ।
महिला क्रिकेटरलाई प्रोत्साहन गर्न यो घोषणा गरेको श्रेष्ठले बताएका छन् । महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाइरहेको उल्लेख गर्दै यस्ता प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास बढाउने र अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।
यस किसिमको पुरस्कार घोषणाले महिला क्रिकेटमा सकारात्मक सन्देश जानेछ र भविष्यमा अन्य व्यवसायिक तथा सामाजिक संस्थाहरू पनि खेल क्षेत्रको समर्थनमा अघि बढ्ने अपेक्षा उनले गरेका छन् ।
आयोजक नेपालसहित १० देशको महिला टोलीले माघ ४ गतेदेखि १८ गतेसम्म क्वालिफायर खेल्नेछन् । नेपालको समूहमा नेदरल्यान्ड्स, स्कटल्यान्ड्स, थाइल्यान्ड र जिम्बावे टोलीहरू छन् ।