News of Nepal
नेताहरुको मनमा देश छ कि दलाली ?
देशको अहिलेको अवस्था निकै भयावह छ । नेता तथा व्यापारीहरूले धमाधम आफ्नो पैसा विदेशमा पार्क गर्न थालिसकेका छन् । जनतामा विद्यमान शासन प्रणालीप्रति विश्वासै हराइसकेको जस्तो देखिन्छ । बैंकको ब्याजदर निकै कम हुँदाहुँदै पनि कसैले ऋण लिन चाहिरहेको छैन ।
भदौ २३ र २४ को जेन–जी आन्दोलनबाट जनताको भावना बुझ्नुको साटो नेताहरूले उल्टै गलत उदाहरण सिकेको जस्तो देखिन्छ । भदौ २४ को जेन–जी आन्दोलनमा बाहिरको समूह घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । त्यो बेलामा प्रमुख राजनीतिक दलका नेताहरुका घरहरुमा पनि छानीछानी तोडफोड र आगजनी गरिएको थियो । अहिले कांग्रेस र एमालेले सिसिटिभी र भिडियो फुटेजमार्फत आफ्ना नेताहरुमाथि भएको आक्रमणका साथै तोडफोड र आगजनीमा संलग्नहरूको घर–ठेगाना पहिचान गरिसकेका छन् । अब जसले आन्दोलन गरे पनि भदौ २४ मै जस्तै मौकाको फाइदा उठाउँदै उल्टै कांग्रेस–एमालेले घुसपैठ गरेर प्रतिशोध लिने मनस्थिति बनाएको देखिन्छ । यस्तो स्थिति आयो भने देश पुनः गृहयुद्धतिर धकेलिन सक्छ । यही कारणले दुर्गा प्रसाईंको मंसिर ७ को आन्दोलन पनि रोकिएको बुझिन्छ ।
अहिले नेपाल ‘आवश्यक्ताको सिद्धान्त’ (डक्ट्रिन अफ नेसेसिटी) अवलम्बन गर्ने अवस्थामा पुगेको छ । यतिखेर असाधारण संकट बेहोरिरहेको अवस्थामा राष्ट्रलाई ठूलो क्षतिबाट जोगाउन कानुन वा संविधानका प्रावधानलाई अस्थायी रूपमा छोडेर निर्णय लिन पर्ने बाध्यता र आवश्यक्ता दुवै छ । सामान्य अवस्थामा यो स्वीकार्य हुँदैन, तर अत्यन्त अप्ठ्यारो स्थितिमा अन्तिम उपायका रूपमा यसको प्रयोग गरिन्छ । यद्यपि यो सिद्धान्त अपनाउँदा सत्तामा रहेकाले मनपरी गर्ने जोखिम पनि छ, त्यसैले अत्यन्त सावधानीका साथ प्रयोग गरिनुपर्छ ।
अर्कोतर्फ अन्तर्राष्ट्रिय समुदायले अहिलेको अन्तरिम सरकारलाई यथास्थितिमा मान्यता दिइरहेको छ । नेपालका अदालत पनि ‘चुनाव नै उत्तम विकल्प’ भन्दै मौन बसेको र सेनाले पनि यसैलाई सुरक्षित अवतरणको विकल्प ठानिरहेको देखिन्छ । तर यदि फागुन २०८२ को चुनाव सारिँदै वैशाख २०८३ सम्म पनि भएन भने अदालतले संसद् पुनःस्थापना गर्ने प्रयास गर्न सक्छ । यदि चुनाव सर्ने अवस्था आयो अथवा संसद् पुनःस्थापना भयो भने त्यसबीचमा उत्पन्न हुने तीव्र असमझदारीले देशभित्र भद्रगोलको अवस्था सिर्जना हुने त छँदै छ साथै अन्तर्राष्ट्रिय समुदायलाई चलखेल गर्ने राम्रो अवसर पनि दिनेछ । यस्तोमा सेनाले समेत केही कडा कदम चाल्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
नयाँ–पुराना सबै दलहरू अझै पनि चुनावबारे विश्वस्त छैनन् । पुराना दलहरू हार पक्का देखेकाले जसरी भए पनि चुनाव सार्न चाहन्छन् । नयाँ दलहरूसँग जनस्तरमा संगठन कमजोर छ, राजनीति नबुझेकाले कसरी अघि बढ्ने भनेर अन्योलमा छन् । जेन–जी समूह पनि आगामी फागुनको चुनावको वातावरणबारे अनिश्चित र चिन्तित देखिन्छ । बाहिर आत्मविश्वास देखाए पनि भित्रभित्रै उनीहरु डराइरहेको बुझिएको छ । निष्कर्षमा, सबै पक्ष चुनाव सार्न चाहन्छन् ।
पिकेको हारले जेन–जी निराश
छिमेकी भारतको विहारमा प्रशान्त किशोर (पिके) को हारले नेपालका नयाँ शक्तिहरू झस्किएका छन् । जेन–जी समूह निराश भएको छ भने पुराना पार्टीहरू उत्साहित भएका छन् । राजनीतिक संगठन र जनस्तरको आधार नभए चुनाव जित्न असम्भव हुन्छ भन्ने उदाहरण पिकेको हारले प्रस्ट देखायो ।
वर्षौंदेखि भारतका ठूला दलहरूको चुनाव अभियान सफल गराइदिएका कारण पिकेलाई ‘भारतको शीर्ष राजनीतिक रणनीतिकार’ मानिन्थ्यो । उनले जन सुराज पार्टी गठन गरी ‘विकास, रोजगारी, सुशासन’को एजेन्डा लिएर चुनाव लडे । प्रारम्भिक उत्साह ठूलो थियो–मिडिया, युवा, शहरी वर्ग सबैले उनलाई विकल्पका रूपमा देखे । तर पछिल्लो विहार विधानसभा चुनावमा उनले २४३ मध्ये २३८ क्षेत्रमा उम्मेदवारी दिए पनि एक सिट पनि जितेनन् । मात्र ३.४४ प्रतिशत मत मात्र पाए । २३६ जनाको जमानत जफत भयो । यसको मुख्य कारण बुँथस्तरको कमजोर संगठन, ग्रामीण वर्गसँग जोडिन नसक्नु, सन्देश केवल शहरी–केद्रित हुनु मानिएको छ ।
नेपालमा पनि अहिले धेरै नयाँ पार्टीहरू खुलेका छन् । यदि यी सबै नयाँ शक्तिहरू एकै ठाउँ जुटेर चुनाव लडे भने मात्र प्रभाव पार्नसक्ने, अन्यथा एकले अर्काको मत काटेर पुरानै पार्टीलाई फाइदा पुग्ने पक्का छ । चुनावमा कसले कसको भोट काट्ने भन्ने पक्ष एकदमै महत्वपूर्ण हुन्छ । यदि सुनिता डंगोललाई डा. अजय क्रान्ति शाक्य र अन्जान शाक्यले केपी ओलीलाई मनाएर उप–मेयरका लागि एमालेबाट टिकट नदिलाएको भए बालेन साहको जित हुँदैनथ्यो । सुनिता मेयरमै उठ्नुभएको भए बालेनको मत काटिन्थ्यो । यो हिसाब जेन–जीले बेलैमा सिक्नुपर्छ ।
हरेक राजनीतिक दलले जेन–जी शाखा खोलेर युवा समर्थकलाई अलमल्याइरहेका छन् । जेन–जीभित्र देखिएको अनेकताले जेन–जीको प्रभाव घट्दै जानेछ । जति ढिलो चुनावमा गयो त्यति नै पुराना पार्टीहरू संगठनात्मक रूपमा बलिया हुँदै जाने अवस्था छ ।
रास्वपा, बालेन, कुलमान, सुधन र अरू जेन–जीहरूले गठबन्धन बनाएर चुनावमा गए भने ‘मोमेन्टम’ पुनः सिर्जना हुन सक्छ । जेन–जीले बिर्सनुहुन्न– पुराना दलहरु जेन–जीको पराजय कुरेर बसेका छन्, आफू सत्तामा आएर उनीहरु जेन–जीलाई खोजी–खोजी कारबाही गर्न पाखुरा सुर्काएर बसेका छन् । त्यसो त जेन–जीको सरकार बन्यो भने पनि पुराना नेतालाई छोड्ने छैनन् । त्यसैले यसपालिको चुनाव निकै प्रतिस्पर्धात्मक र पेचिलो हुने देखिन्छ ।