News of Nepal
जेनजी अगुवा किशोरी कार्कीसँगको अन्तरवार्ता
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका प्रमुख अगुवामध्येका एक पात्र हुन् किशोरी कार्की । बेपत्ता परिवार पीडितको छोरीका रूपमा आफूले अनुभव गरेका दुःखद परिस्थितिहरूले उहाँलाई राजनीति र समाजसँग गहिरो नाता गाँस्न प्रोत्साहित ग¥यो । उहाँ आफ्नो जीवनसंघर्ष र राजनीतिक हिंसाको साक्षात्कारबाट प्राप्त अनुभवको माध्यमबाट समाज परिवर्तनको अभियानमा लागि परेकी छन । जनचेतनामा आएको प्रगति र युवापुस्ताको सक्रियताले सम्वृद्ध नेपाल निर्माणमा ठूलो भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउने किशोरी कार्कीसँग जेनजी आन्दोलनको विषयमा केन्दि«त रहेर नेपाल समाचारपत्रका कविरस शर्मा ले गरेको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
राजनीति रूपान्तरणबाट नै समाज परिवर्तन हुन्छ भन्ने सोच कसरी आयो ?
म आफैं बेपत्ता परिवार पीडितको छोरी हुँ । सानै उमेरदेखि हाम्रो घरपरिवारले भोगेका पीडा, राजनीतिक हिंसा र जनयुद्धको दृश्य मैले नजिकबाट देख्न र भोग्नुप¥यो । आफ्नै भोगाइ र अनुभवले नै मलाई राजनीति र समाजसँग जोड्न सिकायो । यसले विचारका लागि मात्रै होइन, न्यायका लागि बोल्न र परिवर्तन ल्याउन प्रेरित ग¥यो । त्यसैले मैले बुझें की बोल्नुपर्ने बेला यही हो र मेरो आवाज अरू पीडितहरूको लागि पनि उठ्नुपर्छ ।
जेनजी आन्दोलनलाई तपाईंको पुस्ताको बिद्रोेह भनिएको छ, त्यसको मुख्य म्यान्डेट के हो ?
मुख्य म्यान्डेट उत्तरदायी नेतृत्व, प्रत्यक्ष कार्यकारी प्रणाली र युवा सहभागिता हो । यो आन्दोलन केवल आक्रोश मात्रै होइन, दृष्टिकोण हो । साथै, हामीले स्पष्ट सन्देश दिएका थियौं भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता । भ्रष्टाचारीलाई आजीवन कारबाही हुनुपर्छ, जनताको सम्पत्ति हिनामिना गर्ने कसैलाई पनि दया नहुने कानून बन्नुपर्छ । हामीले माग गरेका थियौं “जनताको सम्पत्ति जनताकै हुनुपर्छ”, त्यसमा छानबिन र पारदर्शिता अनिवार्य हो । यो आन्दोलन केवल शासन परिवर्तनका लागि मात्रै होइन, संस्कृति परिवर्तनका लागि पनि थियो । जहाँ इमानदार नेतृत्व नै राष्ट्रको मेरुदण्ड बन्न सकोस् ।
जेनजी आन्दोलनपछिको देशको अवस्थालाई कसरी हेर्नुभएको छ ?
जेनजी आन्दोलनले देशमा ठूलो चेतना ल्याएको छ । तर, त्यसपछि धेरै युवामा अनिश्चितता र असमन्यजस्ता पनि देखिएको छ । आन्दोलनपछि हामीले केका लागि उठ्यौं, हाम्रो उद्देश्य के हो भन्ने नै कतिपयले बिर्सन थालेका छन् । राजनीतिक रूपले धेरै परिपक्व नभएका कारण केही युवाहरू अरूको स्वार्थ र राजनीतिक खेलको सिकार पनि बनेका छन् । तर, म यसलाई असफलता होइन, अनुभवको चरण मान्छु । परिवर्तनको बाटो कहिल्यै सीधा हुँदैन । आन्दोलनले आगो बाल्छ, तर त्यस आगोलाई स्थायित्वमा रूपान्तरण गर्न समय लाग्छ । देश अहिले संक्रमणमा छ । पुरानो सोच मर्न खोज्दैछ, नयाँ सोच जन्मिँदैछ ।
जेनजी आन्दोलन उपलब्धिपूर्ण भएको मान्नुहुन्छ ?
सबैभन्दा ठूलो उपलब्धि जनचेतना हो । जनताले बुझ्न थालेका छन् कि परिवर्तन र नेतृत्व दुवै युवा पुस्ताबाट सम्भव छ । सडकमात्र होइन, अब विचारमा पनि बिद्रोह फैलिएको छ ।
जेनजी आन्दोलनका मागमध्ये के–कति सम्बोधन भए ?
औपचारिक सम्बोधन अझै न्यून छ । तर, मानसिक स्तरमा देश हल्लिएको छ । अब शासकले युवाको आवाज नसुन्ने स्थिति छैन । सरकार दबाउन सक्छ, तर विचारलाई कहिल्यै रोक्न सक्दैन ।
दोषीमाथि कारबाहीको माग पटक–पटक दोहोरिए पनि सरकारले केहि गर्न नसकेको जस्तो लागेको छ ?
कदम औपचारिक मात्र छन् । वास्तविक न्याय अझै संस्थागत हुन सकेको छैन । हाम्रो माग सजाय होइन, प्रणालीगत उत्तरदायित्व हो । जसले गल्ती गर्छ, उसले जवाफ दिनैपर्छ । यही नयाँ संस्कार बनाउन खोज्दैछौं ।
जेनजी क्रान्तिबाट उठेका मागहरु पूरा हुने मार्ग वा उपाय के हुनसक्छ ?
उपाय स्पष्ट छ, प्रणालीगत सुधार । संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली ल्याउने । शिक्षा रोजगार र सुशासनमा युवा सहभागीता सुनिश्चित गर्ने । परिवर्तन केवल नारामा होइन, संरचनामा हुनुपर्छ ।
यदि अहिलेको सरकारले तपाईंहरूको बटमलाइन पूरा नगरे अर्को कदम के हुनेछ ?
अबको चरण “जागरणदेखि निर्माण” हुनेछ । सडक आन्दोलन मात्र होइन, अब हामी संगठन र वैकल्पिक नेतृत्व निर्माणमा जानेछौं । हामीले सरकार बदल्ने होइन, प्रणाली बदल्ने लक्ष्य राखेका छौं ।
राजनीति परिवेशको कुरा गर्दा जेनजी र अरू पुस्तामा के भिन्नता छ ?
जेनजी पारदर्शिता र गति चाहन्छ । हामी भावनामा होइन, तथ्य र परिणाममा विश्वास गर्छौं । हाम्रो राजनीति डिजिटल युगको हो । जहाँ पारदर्शी, प्रश्नमुखी, जिम्मेदारिता र जवाफदेहिता केन्द्रित रहन्छ ।
नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली किन आवश्यक छ जस्तो लाग्छ ?
किनकि विभाजित संसदले सधैं कमजोर सरकार बनाउँछ । प्रत्यक्ष कार्यकारी प्रणालीले निर्णयमा स्थायित्व, जिम्मेवारी र गति ल्याउँछ । जनताले जसलाई छान्छ, उसले काम गर्छ र जवाफ दिन्छ यही लोकतन्त्रको सार हो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व के कारणले तपाईंहरूको मुख्य मुद्दा हो ?
अहिलेको प्रणालीमा जिम्मेवारी कसैले लिँदैन । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणालीले जनताबाट प्रत्यक्ष म्यान्डेट पाउँछ । त्यो म्यान्डेटले काम गर्नका लागि एउटा निडर शक्ति प्रदान गर्छ । हामी जिम्मेवारी सहितको शक्ति चाहन्छौं ।
के कारणले जेनजीबीच मतान्तर देखिएको हो र यसको समाधान कसरी होला ?
मतान्तर विचारको सौन्दर्यता हो । तर, उद्देश्य एउटै हो नयाँ नेपाल । संवाद र पारदर्शी नेतृत्वले मतभेदलाई शक्तिमा बदल्छौं । हामी एक अर्काका विरोधी होइनौं, सुधारका आवाज हौं ।
जेनजी अगुवाको रूपमा तपाईंले अनुभव गर्नुभएका ठूला चुनौती के–के हुन ?
सबैभन्दा ठूलो चुनौती पुरानो सोच, डर र त्रास नै हो जस्तो लाग्छ । पुरानो पुस्ताले नयाँ पुस्ताको उर्जा र दृष्टिकोणलाई अझै खतरा ठानेका छन् । तर, हामी डराएका छैनौं । हामी स्थायित्व होइन, सार्थक परिवर्तन खोज्दैछौं ।
तपाईंको विचारमा देश विकासका लागि पहिलो प्राथमिकता के हो जस्तो लाग्छ ?
शिक्षा, रोजगारी र सुशासन । तीनवटा मूल कुरा सुधार भयो भने बाँकी सबै स्वतः सन्तुलनमा आउँछन् । शिक्षा प्रणालीलाई व्यवहारिक बनाउने, भ्रष्टाचारमुक्त प्रशासन र युवामैत्री नीति बनाउने मेरो पहिलो प्राथमिकतामा पर्छ ।
आगामी फागुन २१ गते मिति तोकिएको चुनावलाई कसरी लिनुहुन्छ ?
यो चुनाव परीक्षण हो पुरानो र नयाँ सोचबीचको । यो पुस्ता परिवर्तन चाहन्छ । अबको मत केवल नाममा होइन, जिम्मेवारीमा आधारित हुनेछ ।
जेनजी एलाइन्सका अगुवाको हैसियतले तपाईले आगामी चुनावमा उम्मेदवारी दिनुहुन्छ ?
हो, यदि युवाले विश्वास गर्छन र म्यान्डेट दिन्छन भने । हाम्रो उद्देश्य पद होइन, प्रभाव हो । उम्मेदवारी केवल देश निर्माणको माध्यम हो ।
देशप्रतिको जिम्मेवारीलाई तपाईको पुस्ताले कसरी लिएको छ ?
हामी सडकमा हिड्ने मात्रै होइनौं, “सिस्टममा घुस्ने” पुस्ता हौं । हाम्रो जिम्मेवारी डिजिटल प्लेटफर्ममा आवाज उठाउने, नीति अध्ययन गर्ने र वास्तविक सुधारमा योगदान दिने हो ।

तपाईंले कस्तो नयाँ नेपालको परिकल्पना गर्नुभएको छ ?
नयाँ नेपाल जहाँ अवसर नातामा होइन, योग्यता र दृष्टिमा बाँडिन्छ । जहाँ युवा निर्णयकर्तामा रूपान्तरण हुन्छन् । परिवर्तन अब सपना होइन, बानी बन्नेछ । म यस्तो नेपाल देख्न चाहन्छु जहाँ युवाको मस्तिष्क विदेशमा होइन, स्वदेशमै भविष्य निर्माणमा लागोस् । अवसर नातामा होइन, योग्यता र ईमानमा बाँडियोस् । युवाले पढ्ने शिक्षाले केवल डिग्री होइन, देशप्रतिको बोध र दक्षता दिओस् । राज्यको हरेक नीति युवा दृष्टिकोणबाट बनेर अभ्यासमा पारदर्शीता होस् । भ्रष्टाचार, अन्याय र असमानताविरुद्ध बोल्न डर लाग्ने होइन, गर्व लाग्ने समाज बनोस् । हाम्रो पुस्ताले अब सपना होइन, जिम्मेवारी देखेको छ । नयाँ नेपाल हाम्रै हातले बन्छ विचारले, इमानले र एकताले ।