अन्ततः पुस अन्तिममै तोकियो कांग्रेस महाधिवेशन, गगन–विश्वको अडानको जित
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६–२८ सम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले मंसिर २० गतेभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने निर्णय गरेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले वर्तमान कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने पनि निर्णय गरेको छ।
विवादपछि केन्द्रीय समिति बैठक बारम्बार सर्दै आएकोमा सोमबारको बैठकले नियमित महाधिवेशन सर्वसम्मत गर्ने निर्णय भएको हो। नियमित महाधिवेशन गर्ने भएपछि विशेष महाधिवेशनको प्रस्तावमा निर्णय आवश्यक नभएको नेता महतले बताए। कांग्रेसमा नियमित नभए विशेष महाधिवेशनको माग उठ्दै आएको छ । संस्थापन पक्ष चुनावपछि महाधिवेशन गर्ने रणनीतिमा थियो । तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुसमै महाधिवेशन गर्नुपर्ने अडान कायम राखेका थिए । जसलाई सभापति शेरबहादुर देउवाले समेत सहमति जनाएपछि कांग्रेसमा विवाद साम्य भएको हो ।