News of Nepal
जुनियर विश्व ब्याडमिन्टन वरियताको ‘नम्बर १’ प्रिन्स दाहाल
नेपालको सुदूरपश्चिमको भूगोल दार्चुला, जहाँका पहाडहरूले संघर्षको गीत गाउँछन्, त्यहीँको एउटा सानो बालकले हातमा ¥याकेट समात्दा कसैले सोचेको पनि थिएन कि त्यो काँधले एकदिन विश्व ब्याडमिन्टन जगत्मा धाक जमाउनेछ भनेर । सन् २००४ मा जन्मिएका प्रिन्स दाहाल आज २२ वर्षको ऊर्जावान् बैँसमा छन् । उमेर सानै भए पनि उनको जीवनयात्रा कुनै फिल्मी पर्दाको काल्पनिक महानायकको भन्दा कम रोमाञ्चक र प्रेरणादायी भने छैन । उनले हासिल गरेको मुकाम केवल एक खेलाडीको सफलताको मानक मात्र होइन, यो त आफ्नो सपना लागि रगत र पसिना बगाउने अथक योद्धाको गाथा पनि हो । दैलेखको पुख्र्यौली विरासत र ललितपुरको नख्खुका साँघुरा गल्लीहरूबाट सुरु भएको उनको यात्रा पेरिस ओलम्पिकको भव्य मञ्चसम्म पुगिसकेको छ । प्रिन्सले यदि आँखामा सपना र मुटुमा साहस छ भने भूगोलले कहिल्यै सफलताको उचाइ रोक्न सक्दैन भन्ने तथ्यलाई विश्वसामु प्रमाणित गरिदिएका छन् । उनी नेपाली खेलकुद इतिहासका ती दुर्लभ र चम्किला तारा हुन्, जसले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा ‘नम्बर १’ को सर्वोच्च सिंहासनमा आसिन भएर नेपालको चन्द्र–सूर्य अंकित झन्डालाई सगरमाथा झैं अग्लो बनाउने सौभाग्य प्राप्त गरे ।

ब्याडमिन्टन प्रिन्सका लागि केवल एउटा खेलप्रतिको रहर मात्र होइन, यो त उनको नसा–नसामा बगेको एउटा सुन्दर जिद्दी र जीवन जिउने आधार पनि हो । आफ्ना पिता नारायण दाहाल, जो स्वयं एक जुझारु खेलाडी थिए, उनैले छोराको बाल्यकालमै कलिलो हातमा पहिलो पटक ¥याकेट थमाइदिँदा नेपाली ब्याडमिन्टनको एउटा नयाँ र स्वर्णिम इतिहासको बीउ रोपिएको थियो । बुबाको कडा अनुशासन र आमाको मूक प्रार्थनाको छहारीमा हुर्किएका प्रिन्सले सुदूरका विकट पहाडहरूदेखि काठमाडौँको कोलाहलपूर्ण सहरसम्मको दूरी पार गर्दा जीवनका धेरै अभाव र चुनौतीहरूलाई पछाडि पारे । दीपेन्द्र प्रहरी स्कुलको त्यो अनुशासित बोर्डिङ विद्यालय जीवन, जहाँ उनले घरको न्यास्रो र परिवारको सामीप्यतालाई खेलको भोकमा बदल्ने कला सिके । त्यहीँबाट उनको बायाँहाते जादुमयी प्रहारले एसियाली प्रतिद्वन्द्वीहरूको होसहवास उडाउन थालेको थियो । पुष्पलाल र कृष्ण मोहन मेमोरियल जस्ता दर्जनौं प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरू त केवल उनको खेल जीवनको आगमनको शंखघोष मात्र थिए । उनले त कलिलो उमेरमै सिनियर खेलाडीहरूसँग निर्धक्क भएर कोर्टमा उत्रिएर “म यहाँ खेल्न मात्र होइन, राज गर्न आएको हुँ” भन्ने स्पष्ट र ओजपूर्ण सन्देश दिइसकेका थिए ।
जब दुबई जुनियर इन्टरनेशनल सिरिजमा उनले यू–१५ र यू–१९ जस्ता दुवै कठिन विधामा स्वर्ण पदक जितेर इतिहास रचे, तब मात्र विश्व खेल जगत्ले पहिलो पटक एउटा नेपाली किशोरको मुड्कीमा लुकेको अदम्य शक्ति र प्रतिभालाई गम्भीरतापूर्वक महसुस ग¥यो । तर, नेपाली खेलकुदको इतिहासमा सबैभन्दा सुनौलो र ऐतिहासिक अक्षर त तब लेखियो जब विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को जुनियर विश्व वरियतामा प्रिन्स दाहालको नाम पहिलो स्थानमा अंकित भयो । सन् २०२२ को जनवरीमा १०,४०० भन्दा बढी अंकका साथ विश्व जुनियर ब्याडमिन्टनको शिखरमा उक्लिनु भनेको केवल एउटा प्राविधिक वरियता मात्र थिएन, त्यो त पर्याप्त स्रोत र अत्याधुनिक साधन नभए पनि यदि दृढ संकल्प र समर्पण छ भने सर्वश्रेष्ठ हुन सक्छौँ भन्ने संसारका शक्तिशाली र सम्पन्न मुलुकहरूलाई नेपालको तर्फबाट दिइएको एउटा अदम्य साहसले भरिपूर्ण सन्देश थियो । तर, प्रिन्स यतिमै सन्तुष्ट भएर रोकिनेवाला स्वभावका थिएनन् । विश्व जुनियर ब्याडमिन्टनको राजा भएर पनि सिनियर विधामा फेरि सुरुवातबाट संघर्ष सुरु गर्नुपर्ने त्यो कठोर र निर्मम यथार्थलाई उनले मुस्कानका साथ स्वीकार गरे । किनकि उनले राम्ररी बुझेका थिए कि शिखरमा पुग्नुभन्दा त्यहाँ टिकिरहनु र नयाँ–नयाँ उचाइहरू खोज्नु अझ कठिन र चुनौतीपूर्ण यात्रा हो भनेर ।
विश्वविद्यालय कोटाबाट नेपालको गौरवपूर्ण प्रतिनिधित्व गर्दै पेरिस ओलम्पिक २०२४ को त्यो भव्य र ऐतिहासिक मञ्चमा जब प्रिन्स दाहाल नेपाली झन्डा बोकेर उभिए, तब संसारभर रहेका हरेक नेपालीको छाती गर्वले चौडा भएको थियो । विश्वका दिग्गज महारथीहरूसँग नेटको वारपार कडा प्रतिस्पर्धा गर्दा उनले केवल प्राविधिक अंक मात्र जोडेनन्, बरू उनले नेपाली खेलकुदको आगामी भविष्यका लागि एउटा फराकिलो र स्पष्ट राजमार्ग कोर्ने काम गरे । यद्यपि, यो सफलताको बाहिरी चमकधमक र तालिका गडगडाहट पछाडि संघर्ष र पीडाले भरिएको एउटा अर्को तितो पाटो पनि लुकेको छ । वर्षमा कम्तीमा १०–१२ वटा अन्तर्राष्ट्रिय खेलहरू खेल्नुपर्ने प्राविधिक बाध्यता, तर राज्यको ढुकुटीबाट एउटै प्रतियोगिताको पनि खर्च जुटाउन धौ–धौ पर्ने नेपाली खेलकुदको यथार्थका बीच प्रिन्सले आफ्नो सपनालाई आफैँले सिञ्चित गरिरहे । विदेश यात्राको टिकटदेखि लिएर उच्चस्तरीय तालिमको महँगो शुल्कसम्मका लागि उनले र उनको परिवारले गरेका त्याग र बलिदानहरू शब्दमा वर्णन गर्न नसकिने खालका छन् । उनले सामाजिक सञ्जाललाई केवल सस्तो मनोरञ्जनका लागि मात्र होइन, बरु आफूलाई माया गर्ने र खेल बुझ्ने दर्शकहरूले उनको यो राष्ट्रिय महाअभियानमा साथ दिन सकून् भनेर आफ्नो सपना बचाउने एउटा डिजिटल हतियारको रूपमा समेत प्रयोग गरे, जसले धेरैको मन जित्यो ।
अहिले उनी आफ्नो खेल कौशललाई अझै तिखार्नका लागि दक्षिण कोरियाको बुल्स क्लब जस्ता अत्यन्तै कठोर र स्तरीय प्रशिक्षण केन्द्रहरूमा म्यानेजर कमलेश निरौला र प्रशिक्षक सुदिप योञ्जनको प्रशिक्षणमा दिनरात पसिना बगाइरहेका छन् । नेपाल ओलम्पिक कमिटीले आगामी ओलम्पिकसम्मका लागि प्रदान गरेको मासिक १ हजार १ सय २५ अमेरिकी डलरको छात्रवृत्तिले उनको आर्थिक भारमा केही राहत दिएको छ । उनको अर्जुनदृष्टि अहिले २०२८ को लस एन्जलस ओलम्पिकको पदक जित्नेमा स्थिर छ । उनी अब केवल सहभागी हुन वा अनुभव बटुल्नका लागि मात्र नभएर, विश्व खेलकुदको इतिहासमा नेपालको नाम स्वर्ण पदकका साथ दर्ता गराउने दृढ लक्ष्यका साथ अगाडि बढिरहेका छन् । प्रिन्स दाहाल आज केवल एक प्रतिभावान खेलाडी मात्र होइनन्, उनी अवसरको खोजीमा रहेका र कतिपय अवस्थामा निराशामा डुबेका तमाम नेपाली युवाहरूका लागि एउटा जल्दाबल्दा ‘प्रेरणा’ र ’आइकन’ हुन् ।

सुदूरको त्यो सामान्य बालक जसले हातमा सानो ¥याकेट समातेर विश्व जित्ने ठूलो आँट ग¥यो, उसले आजको पुस्तालाई सिकाएको छ कि अभाव वा भूगोलले सपना देख्न र त्यसलाई पूरा गर्न कहिल्यै रोक्दैन । उनको हातमा रहेको त्यो ¥याकेटले केवल सटलककलाई मात्र प्रहार गर्दैन, त्यसले त समाजमा रहेका असम्भव भनिएका मानसिक पर्खालहरू र असफलताका डरहरूलाई पनि जरैदेखि उखेलेको छ । प्रिन्सको यो महायात्रा त भर्खर सुरु मात्र भएको छ, र यो अडिग यात्राले भोलि विश्व खेलकुदको इतिहासका पानामा अझै कयौँ स्वर्णिम अध्यायहरू थप्ने कुरामा कुनै सन्देह छैन ।
प्रिन्स दाहालले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा प्राप्त गरेका केही पदकहरू :
