News of Nepal
जेन–जीको मर्म बिर्सियो भने फेरि विद्रोह हुन्छ : जेन–जी अगुवा सुधन गुरुङ

भदौ २३ र २४ गते नेपालमा भएको जेन–जी विद्रोह नेपालको इतिहासमा मात्र होइन, विश्वभरका दुर्लभ घटनाहरूमा पर्छ । २७ घण्टे यस आन्दोलनले दुई तिहाइको सरकार नै ढलेको मात्र नभई सत्ता नै उथलपुथल भएको थियो । सुधन गुरुङ, यही आन्दोलनले सर्वाधिक चर्चामा ल्याएका पात्र हुनुहुन्छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पछि हामी नेपाली संस्थामार्फत राहत तथा पुनःस्थापनामा सक्रिय सुधन गुरुङ यो आन्दोलनपछि जेन–जी नेतृत्वका रूपमा स्थापित हुनहुन्छ । छुट्टाछुट्टै अनेक समूहले गरेको आन्दोलनले दुई तिहाइको सरकार ढलेपछि जेन–जीको नेतृत्वको रूपमा सार्वजनिक रूपमा उभिने पहिलो नेतृत्व गुरुङसँग जेन–जी विद्रोह र त्यसपछिका घटनाक्रमबारे नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुुराकानीको सम्पादित अंश :
जेन–जी आन्दोलनमा पानी बाँड्न आएको मानिसले त्यसको नेतृत्वको जिम्मा लिएर समग्र आन्दोलन नै ‘हाईज्याक’ गरेको भनेर तपाईंमाथि लागेको आरोपबारे के भन्नुहुन्छ ?
हामी यो जेन–जी आन्दोलनको एउटा ठूलो सरोकारवाला हौं । आन्दोलनको लागि सुरुदेखि तयारी गर्दै आएको थियौं । आन्दोलनको लागि हामीले निकै तयारी गरेको हाम्रो इन्स्टाग्राम, फेसबुक वा अन्य सञ्जाल हेरेर जोकोहीले पनि थाहा पाउनेछ । आन्दोलनको तयारी गर्दै गर्दा पनि हामीले त्यसको नेतृत्व दाबी गरेको थिएनौं । किनभने आन्दोलनमा सबैको स्वस्र्फूत सहभागी होस् र सबैले अपनत्व लिने वातावरण बनोस् भन्ने हामीले चाहन्थ्यौं । र भयो पनि त्यस्तै ।
यो हाम्रो पहिलो आन्दोलन त होइन । हामीले विगतमा पनि विभिन्न आन्दोलन गरेका थियौं । हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिति सुधारको लागि सात महिनासम्म आन्दोलन गरेका थियौं । त्यसपछि इनफ इज इनफ भयो, निर्मला कुर्मीको काण्ड र पोखरा विमानस्थलको विषयमा पनि हामीले आवाज उठायौं । ती अनुभवबाट हामीले आन्दोलनको तयारी कसरी गर्नुपर्दछ ? मानिसहरू कसरी परिचालन गर्ने भनेर सिक्यौं ।
आन्दोलनको तयारी गरिरहँदा हामी नेपालका ९२ च्याप्टरका झन्डै १६ हजार स्वयंसेवकहरूलाई आन्दोलनको दिन प्रत्येक सदस्यले पाँच जना मानिसहरु ल्याउनु भनेर भनिरहेको थिएँ । त्यसका लागि सूचना आदानप्रदान गर्न डिस्कड बनाएको थिएँ । आन्दोलनको तयारी, त्यसको व्यवस्थापनदेखि सबै काम खटिएँ । यद्यपि, आन्दोलनमा सबैको स्वस्र्फूत सहभागी होउन् भनेर नेतृत्वको दाबी गरेको थिएन । सबैलाई स्वतन्त्र रूपमा छाडिदिएका थियौं । कसैलाई नियन्त्रण गरेको थिएन । यसो गर्नुको मुख्य आन्दोलनलाई सफल बनाउनुपर्दछ, नेतृत्वको विवाद नहोस् भनेर हो । यो आन्दोलनमा आवश्यक स्पिकरदेखि लिएर पर्चादेखि, फ्लेक्स, औषधिलगायत अन्य सामग्रीहरू मेरो व्यक्तिगत पैसाले किनेको थिएँ ।
त्यसका लागि मैले ५० हजार निकालेको थिएँ । त्यसरी हामी सबै मिलेर आन्दोलन ग¥र्यौ । आन्दोलनको पहिलो दिन नरसंहार भएपछि भोलिपल्ट जनता प्रतिरोधमा उत्रियो । त्यही दिन प्रधानसेनापतिले सम्बोधन गर्नुभन्दा आधा घण्टाअघि म जङ्गी अड्डामा पुगेको थिएँ । अबको निकास के हो ? आन्दोलन रोकिदिनुप¥यो भनेर मलाई नेपाली सेनाले बोलाएको थियो । त्यहाँ जाँदा हामी जेन–जीका १७ वटा समूह थिए । विभिन्न समूहले विभिन्न तरिकाले कुरो गर्दे थियौं । त्यतिबेला सेनालाई आन्दोलन कसले गरेको ? कोसँग वार्ता गर्ने भनेर ठूलो अन्यौल भयो । यही क्रममा जेन–जीका १७ वटै समूहका नेतृत्वहरूले ‘तपार्इंले नेतृत्व गर्नुपर्यो दाई, यसमा जोखिम पनि छ तपाईं अघि बढ्नुहोस्’ भनेर भन्नुभयो । त्यसपछि सबैको आग्रह र देखाएको विश्वासको आधारमा जेन–जीको नेतृत्व भनेर सार्वजनिक रूपमा अघि आएको हुँ ।
त्यो समयको माग र आवश्यकता पनि थियो । यसरी नेतृत्व लिनु आन्दोलन हाईज्याक गर्नु हो र ? सुरुदेखि आन्दोलनको तयारी गरेको व्यक्तिलाई ‘पानी बाँड्न आएको’ मानिसले नेतृत्व लिएको भनेर सत्ता गुमेको छटपटिले गर्दा तल्लो स्तरमा राखेर भनेको हो । आन्दोलनपछि त्यसलाई निकास दिन नेतृत्व लिनु पनि आवश्यक छ । त्यही कारणले अहिले जेन–जीको सरकार बनेको छ । जेन–जीले सरकारलाई खबरदारी गर्न सकिरहेको छ ।
भदौ २३ गतेको वास्तविक जेन–जी आन्दोलन र त्यसको भोलिपल्ट भदौ २४ गतेको घटनालाई आगजनी र तोडफोडलाई आपराधिक घटनाको रूपमा टिकाटिप्पणी गर्नेलाई तपाईंले कसरी लिनुभएको छ ?
भदौ २३ गते भएको जेन–जीको शान्तिपूर्ण आन्दोलनमा जसरी राज्यले एक घण्टाको अवधिमा १९ र पछि २ जनाको मृत्यु हुने गरी दमन ग¥यो, कयौं घाइते भए । राज्यले गरेको यत्रो नरसंहारपछि जनताले त्यसको आक्रोश, प्रतिरोध गर्ने त स्वाभाविक नै हो । जेन–जी आन्दोलनको चरण बढ्दै गएको रुपमा यसलाई लिनुपर्दछ । जहाँसम्म सिंहदरबार, सर्वोच्च अदालत जस्ता ठाउँहरू आगजनी, तोडफोड भयो, त्यो हामीले रोक्दारोक्दै पनि भयो । यसलाई दुःखद् भन्छु ।
२४ गतेको दिन घुसपैठ भएकोले व्यापक तोडफोड र आगजनीमा भएकोले यसलाई आपराधिक घटनाका रूपमा लिनु ठिक होइन र ?
राज्यको दमन विरुद्धको जनताको आक्रोश प्रतिरोधका क्रममा घुसपैठ भएन भनेर म भन्दिनँ । राज्यले गोली चलाएर भाइबहिनीहरूलाई हत्या गरेपछि जनतामा आक्रोश उत्पन्न हुनु स्वाभाविक पनि हो । २३ गतेको घटना बढ्दै २४ गते घटना भएको कुरो हामी बुझ्नु पर्दछ । सुरुमा गोली चलायो कसले ? मुख्य प्रश्न यो हो । त्यतिखेर गोली नचलाएको भए, युवाहरू नमारेको भए भोलिपल्ट जनतामा सडकमा उत्रिने थियो त ? के भदौ २३ गते राज्यले त्यत्रो मानिसको हत्या नगरेको भए २४ घटना सायद् घट्ने सम्भावना थियो त ? हामीकहाँ अनेक षडयन्त्रको सिद्धान्तको कुरो गरेर मुख्य विषयलाई अन्यतर्फ मोड्न कोसिस पनि हुने गर्दछन् ।
भदौ २३ गतेको जेन–जी आन्दोलनमा घुसपैठ गरेर स्थिति भड्काइयो भनेर पनि भन्ने गर्दछन् । यसलाई कसरी लिनुभएको छ ?
त्यसो हो भने कसरी घुसपैठ भयो, ककसले घुसपैठ गरेछ भनेर राज्य सप्रमाण भनिदिनुप¥यो । देशलाई लुट्नसम्म लुटेका, ठग्नसम्म ठगेर यो हालतमा पु¥याइदिएकाहरूले जेन–जी विद्रोहलाई अझै आत्मसात गर्न सकेको छैन । त्यसले उनीहरूले यो आन्दोलनलाई बदनाम गर्ने पूरै प्रयास गरिरहेको छन् ।
जेन–जी विद्रोह के का लागि भएको हो ?
राज्य सञ्चालन गर्नेहरू २०४६ सालयता अनेक काण्डैकाण्ड गरेर जसरी भए पनि आफू र आफ्नो परिवारमात्र बन्ने काम गरे । देशलाई हित हुने नहुने अनेक सम्झौता र काम गरेर यो भड्खालोमा पु¥यायो, त्यसका विरुद्धमा जेन–जीले व्रिहोह गरेको हो । जसरी भए पनि राज्यको दोहन गरेर लुट्नेमात्र नेताहरूको ध्यान गएकोले देशका युवाहरू जाग्नुपरेको हो । देश विकासका लागि भ्रष्टाचारका लागि भन्ने मानक नेताहरूले आफ्नो व्यवहार र कर्मले स्थापित गरिदिए । यस्तो अनगिन्ती विकृतिहरू विरुद्ध युवाहरू जाग्नुपरेको हो । देशको विकास, परिर्वतन र सुशासनको लागि युवाहरूले स्वस्र्र्फूत विद्रोह गरेको हो ।
जेन–जी विद्रोहपछि सरकारको भूमिका कस्तो देखिन्छ ?
हामीले जुन हिसाबले जेन–जी विद्रोहपछि देश रूपान्तरणका बाटोमा अघि बढ्छ भनेर सोचेको थिएँ, त्योअनुसार देश अघि बढिरहेको छैन । हाम्रो मूल मूल ‘स्पिरिट’ देशको रूपान्तरण हो । अहिलेको सरकारले देशको रूपान्तरणको लागि कार्ययोजना बनाई अघि बढ्नुपर्ने हो । त्यस दिशामा हामीले सोचले जस्तो अघि बढिरहेको छैन । तर, केही पनि नभएको भने होइन ।
तपाईंहरूले देश कसरी अघि बढ्छ भनेर सोच्नुभएको थियो ?
जस्तै भ्रष्टाचार तथा सुशासनको सवालमा तीव्र गतिमा काम हुने सोचेको थिएँ । राज्यका विभिन्न निकाय, कर्मचारीतन्त्रको सुधार, संस्थाको रूपान्तरण र सार्वजनिक सेवा प्रवाहको काम अघि बढ्नेछ भनेर सोचेको थिए । तर, वास्तविकता अलि भिन्न भएको छ । नेताहरूको सम्पत्ति छानबिन, भ्रष्टाचारीहरूलाई कारबाही प्रक्रिया अघि बढ्नेमा ढुक्क थिएँ । भ्रष्टाचार न्यूनीकरणको लागि प्रभावकारी कदम चालेको छैन । संविधान सुधारमा ध्यान दिएको छैन । यी सबै काम अहिले नभए पनि त्यसको योजना बनाउनुपर्ने थियो ।
तपार्इंको सोचअनुसार देशमा जम्मै सुधार गर्न त संविधान संशोधन गर्नुपर्ने हुन्छ । यो सरकारले निर्वाचनअघि यो सम्भव छैन भनेर भनिसकेको छ नि ?
हो, वास्तवमा हामीले विद्रोहपछि संविधान संशोधनको विषय ल्याउनुपर्दथ्यो । संविधानमा कहाँ कहाँ सुधार गर्ने भनेर खाका ल्याउनुपर्ने थियो । त्यो अवसर हामीले गुमायौं । त्यतिबेला हाम्रा साथीहरू रगतले लतपतिएको थियो, जताततै घाइतेहरूको चित्कार थियो । त्यतिबेला नागरिक सरकार गठन गर्ने विषयमा बढी ध्यान गयो । हामीले सहजीकरण गर्ने अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालले पनि हामीलाई अन्तरिम संविधान बनाएर जाऔं भनेर ‘गाइड’ गर्नुभएन । त्यतिबेला सविधानमै टेकेर सरकार बनाउने विषयमा बढी केन्द्रीत भयौं । फेरि सरकार बनाउन पनि निकै सकस भएको सबैलाई थाहा भएकै विषय हो ।
अहिले पनि तपाईं सरकारलाई खबरदारी गर्दै आउनुभएको छ । जेन–जीको सरकार र खबरदारीलाई कसरी सन्तुलनमा मिलाइराख्नुभएको छ ?
वास्तवमा सरकारले जेन–जीको भावनाअनुसार काम गरुन् भनेरन खबरदारी गर्दै आएका छौं । भ्रष्टाचार निवारणको लागि बलियो आयोग गठन गरेर सरकारले काम अघि बढाउनु भन्ने हाम्रो माग रहेको छ । देशको समग्र सुधारको खाका बनाएर त्यसलाई लागू गर्ने दिशामा सरकार अघि बढोस् भनेर हामीले खबरदारी गर्दे आएका छौं । हामीले बनाएको सरकार भए पनि गल्ती, कमी कमजोरीलाई ढाकछोप नभई खबरदारी गरेर जानुपर्ने आवश्यकता छ । जेन–जी विद्रोहमा त्यत्रो नवयुवाहरूको रगत बगेको कसरी बिर्सिन सक्छ ? त्यही कारण म अहिले कडा भएर सरकारको खबरदारी गरिरहेको छु ।
तपाईंलाई जङ्गी अड्डमा गृहमन्त्री बन्नुहोस् भनेर भनेको थिए र तपाईं किन नबन्नुभएको हो ?
देश बनोस् । जेन–जी विद्रोह स्थापित होस् भन्ने मात्र हाम्रो चाहना थियो । कानुन जानेका, बुझेका अग्रजहरूले हाम्रो भावनाअनुसार काम गरे पुग्छ भनेर म गृहमन्त्री बन्नबाट पछाडि हटेको थिए । फेरि आन्दोलन गर्दा मन्त्री बन्ने छु भनेर आन्दोलन गरेको पनि होइन । सही व्यक्ति सही ठाउँ हुनुपर्दछ भन्ने सोच थियो । त्यसैले ओमप्रकाश अर्याललाई गृहमन्त्री सिफारिश ग¥र्यौ, उहाँ जेन–जी समूहबीच कानुनी सहजीकरणको लागि आउनुभएको थियो । पछाडि बसेर सरकारलाई समर्थन र खबरदारी गर्ने काम हाम्रो भनेर त्यतिबेलाको मेरो बुझाइ हो, जुन अहिले पनि कायमै छ ।
जेन–जी विद्रोहलाई जोगाउन अब के के गर्दै हुनुहुन्छ ?
जेन–जी विद्रोहले दुई दिनमै सत्ता फेरबदल भएको थियो । यो विश्वकै एउटा उल्लेखनीय विद्रोह हो । यो विद्रोहको मर्मलाई कुल्चिने र बिर्सिने हो भने फेरि विद्रोह हुने खतरा छ । हामीले सविधान संशोधन र सुधारको खाका तयार पार्ने कुरा सोचिरहेका छौं । अब हामीले सरकारलाई जनताको हकहितको लागि काम गर्न दबाब दिनुपर्नेछ । यसले गर्दा चाँडै नै प्रधानमन्त्री र राष्ट्रपतिसँग वार्ता गरेर जेन–जी राष्ट्रपतिबीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिराखेका छौं । अर्कोतर्फ यो सरकारले चुनाव गराउनेसँगै शासन व्यवस्थामा देखिएका विकृति विसंगति सुधार गर्ने एउटा कार्ययोजना बनाउनुपर्दछ ।
सरकारले अहिलेसम्म तपाईंले सोचअनुसार कार्ययोजना किन नल्याएको हो ?
यो सरकार जेन–जीको विद्रोहको बलमा बनेको सरकार हो । हाम्रो अभिभावक बनेर आएको सरकार हो । जेन–जी विद्रोहको मर्म जोगाउने काम सरकारले सोच्नुप¥यो । सरकारले कानुन र प्रक्रियाको कुरो गरेर जेन–जी विद्रोहअनुसार काम गर्न आलटाल गर्न पाउने छैन । आलटाल ग¥यो भनेर सरकारको विरोधमा सशक्त आवाज उठाउने छौं । त्यो गर्दा हामी कमजोर भयो भने पनि मलाई केही मतलब छैन । मुख्य कुरो देश कमजोर बन्नुहुँदैन । जनता कमजोर बन्नुहुँदैन ।
एकातिर जेन–जी विद्रोहको मर्मलाई राजनीतिक दलहरूले मनैदेखि आत्मसात गर्न नचाहेको र अर्कोतरि सरकारले पनि आन्दोलनको भावनाअनुरूप तीव्र गतिले काम गर्न नसकेको यो स्थितिमा जेन–जी विद्रोह बिर्सिंदै गएको प्रमाण हो त ?
जेन–जी विद्रोह देशको शासकीय बेथिति, नेताहरूको भ्रष्टाचारविरुद्ध भएको हो । सरकारले यस दिशामा काम गरेर जेन–जी विद्रोहको मर्मलाई जोगाइराख्नुपर्ने सरकारको काम हो नि । माओवादीले त्यत्रो विद्रोह गरेर आफ्नो एजेन्डा अघि ल्याएझै सरकारले पनि जेन–जी विद्रोहको एजेन्डालाई अघि सारेर कार्यान्वयन गर्दै जाने वातावरण बनाउनुपर्ने खाँचो छ । जेन–जीको भावनालाई अहिलेको सरकारले सम्बोधन गरेन भने फेरि विद्रोह हुनसक्दछ । यसतर्फ सबै सजग हुनुपर्दछ ।
तपाईंको विचार सरकारले चाँडोचाँडो गर्नुपर्ने काम के के हुन् ?
पहिलो काम भनेको विद्रोहको घाइतेको उपचार, उनीहरूको रोजगारी र शैक्षिक यात्राको लागि सरकारले सक्दो सहयोग गनुपर्दछ । त्यसै गरी सहिद परिवारलाई रोजगारी दिने कुरो । आन्दोलनमा दमन गर्ने हिजोकका सत्ताधारीहरू चाँडै कारबाही गर्नुपर्ने काम हुन् ।
अर्कोतर्फ शासकीय सुधारको लागि संविधान सुधार आयोग बनाउने, भ्रष्टाचार निवारणको लागि उच्चस्तरीय आयोग बनाउने कार्यहरू पर्दछन् । त्यसै गरी सम्पति शुद्धीकरण विभागलाई सक्रिय बनाउने, ७७ वटै जिल्लाका प्रशासन कार्यालयहरूमा डेस्क राखेर सार्वजनिक जग्गा हिनामिना गर्ने, सेवा प्रवाहमा ढिलाइ गर्ने कार्यालय र कर्मचारीहरूलाई कारबाही गर्नेजस्ता नागरिकले सुशासनको अनुभूति गर्ने काम चाँडै अघि बढाउनुपर्दछ ।
सार्वजनिक रूपमा देखिने तपाईंको आक्रोशका कारण के तपाईंलाई धेरै आलोचना भएको छ ?
मलाई मानिसहरुले कति रिसाउँछन् भनेर भन्छन् । नरिसाउ कसरी ? मेरो आक्रोश केवल व्यक्तिगत होइन, देशको हालको बेथिति र शासकहरूको असफलताको विरुद्ध हो । जेन–जी विद्रोहमा हजारौं युवाहरूको रगत र बलिदान छ । अझै पनि कयौं घाईतहरुको खुट्टाले टेक्न सकेका छैन । कयौंको खुट्टा गुमेको छ । पक्षाघात भएर बसिररहेका छन् ? देशको अवस्थाले मलाई रिसाउन बाध्य बनाइरहेको छ । तपाईं नेताहरूको बोली सुन्नुस न, उनीहरू बोली कति मिठो छ । अनि काम हेर्नुस् न । त्यसैले बोलीमात्र विश्वास गर्ने कि ? काम पनि हेर्ने ? मानिसको व्यवहारमा विश्वास गर्ने हो । अहिले देश नबनेको कारण नेताहरूको व्यवहार राम्रो नभएर हो नि।काम नगरेर हो। जब देशको भविष्य र नागरिकको हकको कुरा आउँछ, त्यहाँ कुनै सम्झौता हुनुहुँदैन। जसरी पनि यो आन्दोलनको मर्म र उद्देश्यलाई कायम राख्न जरूरी छ ।
तपाईंले पटक पटक नेपाली हुँ भनेर नागरिकता नै देखाउनुपर्ने घटना किन आउने गर्दछन् ?
आन्दोलन अघि र आन्दोलन भइरहेको समयमा कतिले मलाई सिक्कमको भने, भारतीय भने । अहिले फेरि तिब्बतीयन भनेर भनिराखेको छ । अहिले आएर फेरि भुटानिज भनेर भनिराखेको छ । मैले सबैलाई आफ्नो नागरिकता देखाइसकेको छु । काठमाडौंको प्रसूति गृहमा जन्मिएको मानिसले म नेपालको नागरिक भनेर नागरिकता देखाउनुपर्ने घटना भने यो पहिलो होइन । धरानमा जब सात महिना आन्दोलन गरिराखेको थिए, त्यतिबेला पनि कतिपयले मलाई भारतबाट आएको, सिक्कमबाट आएको भनेर आरोप लगाए, त्यतिखेर पनि नागरिकता देखाएको थिए ।
एक जना नेपालीको राष्ट्रियतामाथि पटक पटक शंका किन गर्छन्, कसले गर्छन् भनेर सबै नेपालीले बुझ्नु आवश्यक छ । वास्तवमा सयौं वर्षदेखि देशलाई लुटनसम्म लुटेकाहरूले अरू खबरदारी गर्नासाथ कहिले नागरिकताको कुरो, कहिले राष्ट्रवादको कुरो गरेर हेय भाव देखाउने, बदनाम गर्ने गर्दछन् । आफ्नै देशको नागरिकलाई शत्रु भाव देखाउने, जनजाति, मधेशसीलाई पराइ देख्ने कस्तो नीच सोचले हाम्रा नेताहरू ग्रस्त छन् । यो देश त्यसै नबेको कहाँ हो र ? नेताहरूको यस्तै संकीर्ण सोच र घृणामा आधारित राष्ट्रवादले गर्दा देश नबनेको हो ।
त्यत्रो आन्दोलनको अगुवाई गरेर सत्ता नै परिवर्तन गर्नुभयो । यसले गर्दा तपाईंलाई कतिका सुरक्षाको थे्रट छ ?
व्यक्तिगत रूपमा मलाई सुरक्षा थ्रेट नै हुने नै भयो, तर योभन्दा ठूलो थ्रेट भनेको देश बिग्रिनु हो । देश बिग्रिनुभन्दा ठूलो थ्रेट अरू छ र ? देश बनाउन लडेको मानिसले यति सुरक्षा थ्रेटको सामना गर्नुपरिहाल्यो नि । देश बनाउनकै लागि हाम्रा यत्रो भाइबहिनी बलिदानी दिएका हुन् । तिनीहरूको रगत खेर जाने दिने छैनौं । त्यसका लागि अहिले पनि लडिरहेको छु । श्वास रहेसम्म लडिरहने छौं । अहिले पनि तीन चार घण्टाभन्दा बढी निन्दा लाग्दैन ।
अहिलेको परिस्थितिमा तपाईंको भविष्य के देख्नुहुन्छ ?
मेरो भविष्यको कुनै सुनिश्चितता छैन । यो यात्रा अझै जारी छ । मैले जेन–जी विद्रोहमा नेतृत्व दिएँ, तर देशको वास्तविक परिवर्तनका लागि अझ धेरै संघर्ष गर्न बाँकी छ । मैले भनेको छु, यो हाम्रो देशको भविष्यको लागि हो, र हामी श्वास रहेसम्म लडिरहनेछौं । यही कारणले मलाई अब राजनीतिबाट भाग्न दिने छैन ।
अहिलेका युवाहरू देशभित्र के के कुरामा आशावादी बन्न सक्छन् ?
राज्य जनताको समस्या बुझ्ने हु्नप¥यो । कर्मचारीतन्त्र जनताको काम छिटोछिटो हुने हुनुपर्दछ । देशमा थुप्रै सम्भावनाहरू छन् । नेपालमा हाइड्रो पावरको क्षेत्रमा गर्न सकिने थुप्रै कामहरु छन् । प्रविधिमा आधारित कृषि, नेपालको धार्मिक, सांस्कृतिक, जातीय विविधताले गर्दा पर्यटनको उधोगको विकासको थुप्रै सम्भावनाहरू छन् । संविधान, राज्यका संयन्त्रहरू र सबैले अधिकार पाएपछि युवाहरू यी क्षेत्रबाट देशलाई माथि उठाउन सकिन्छ ।