Clickmandu
शेखर कोइरालाको आह्वान: सबै घर फर्कौं

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै विभाजनका बाबजुद आसन्न निर्वाचनमा कांग्रेसको ऐतिहासिक जिम्मेवारी जोगाउन सबै नेता–कार्यकर्तालाई एकतामा फर्किन आह्वान गरेका छन् ।
बिहीबार जारी गरेको वक्तव्यमा उनले बुधबारदेखि पार्टी दुई समूहमा विभाजित भए पनि फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् ।
पार्टीभित्र देखिएको विभाजन र त्यसका कारणबारे दोषारोपण गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउन नचाहेको स्पष्ट पार्दै उनले भनेका छन्, ‘हामी सबै कहीँ न कहीँ चुकेका छौँ । पछिल्ला घटनाक्रमको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाको मूल्यांकन इतिहासमै छाडिदिऊँ ।’
डा. कोइरालाले राजधानीकेन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्र र आन्तरिक अन्तरविरोधका कारण कांग्रेसलाई एकढिक्का बनाएर निर्वाचनमा होमिने प्रयास सफल हुन नसकेको उल्लेख गरेका छन् ।
कठिन घडीमा महामानव बीपी कोइरालाको स्मरण आवश्यक रहेको भन्दै उनले पार्टीभित्रको विभाजनलाई बीपीले ‘नियतिको खेल’ का रूपमा बुझ्ने गरेको उदाहरणसमेत दिएका छन् ।
कांग्रेस एक भएर अघि बढ्न नसक्नु नियतिको कठोर सत्य भए पनि अब आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउने जिम्मेवारी सबैको काँधमा आएको उनको भनाइ छ । संगठनात्मक ऊर्जा प्रस्फुटन भए मात्रै अग्रज नेता र शहिदहरूले सुम्पेको दायित्व पूरा गर्न सकिने उनले बताएका छन् ।
कांग्रेस आम कार्यकर्ताले निर्माण गरेको पार्टी भएको स्मरण गराउँदै उनले साझा इतिहास, साझा नेता र शहिदहरूको बलिदानबाट प्रेरणा लिएर नेपाल र नेपालीको साझा भविष्य निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । विगतमा पार्टी विभाजनका बाबजुद पनि जनताले कांग्रेसप्रति गरेको भरोसा कायमै रहेको उल्लेख गर्दै उनले पुनः जनताको घरदैलोमा पुगेर समृद्धिको यात्रामा साथ माग्नुपर्ने बताए ।
पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै डा. कोइरालाले भनेका छन्, ‘म आह्वान गर्छु-हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीत–हार कसैको छैन, सबैको ‘विन–विन’ अवस्थाबाट हामी अगाडि बढ्न सक्छौँ ।’ वक्तव्यको अन्त्यमा उनले ‘जय नेपाल’ भन्दै कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न आग्रह गरेका छन् ।
डा. शखेर कोइरालाको वक्तव्य:
साथीहरु,
कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न । हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।
यस विचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका वारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहाँसमा सुम्पन्छु ।
दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यस विच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।
कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको ईमान्दार प्रयास थियो । तर त्यसो हुन सकेन । यस कठिन घडीमा हामीले स्मरण गर्नुपर्ने हाम्रा महामानव श्रद्धेय नेता विपी कोइरालालाई हो ।
विपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो ।
विपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु ।
अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहाँसको गौरवलाई जोगाउने जिम्मेवारी छ । यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामी इतिहाँसले र हाम्रा अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ ।
यसको लागि सम्पुर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ । तसर्थ, साथीहरु कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरुले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहाँस छन, साझा नेता र शहिदहरु छन । हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ ।
हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपरेको छ । हाम्रा अग्रज नेताहरु र शहिद हुनुभएका साथीहरु हाम्रा प्रेरणाका स्रोत हुन ।
नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आम मतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन दिएका थिएनन् । आज एकपटक फेरी तपाई हामी हाम्रा सबै अग्रज नेताहरुको मार्ग दर्शनबाट र शहिदहरुको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घर दैलोमा भोट माग्न जानु परेको छ । समय छोटो छ, तर पनि यथासम्भव तपाईहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु ।
पार्टी भित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन् । म आह्वान गर्छू : हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ । जय नेपाल ।
डा. शेखर कोइराला
२०८२ माघ १