npl.977 Nepal News Stream

Nepali Link

लन्डनमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, सम्मानित भए पांच व्यक्तित्व

Nabin Pokharel 2 days ago

लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आइतबार लन्डनमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।

पुस २७ कै दिन लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा पृथक शैलीमा पृथ्वी जयन्ती मनाइएको हो । संगठनले यसपटक बेलायतमा विभिन्न क्षेत्रमा योगदान दिएका अग्रज ५ व्यक्तित्वलाई विशेष सम्मान समेत गरेको छ ।

बेलायत र नेपालको राष्ट्रिय गान, स्वस्ती वाचनपछि सहभागीहरुबाट पृथ्वी नारायण शाहको तस्विरमा माल्र्यापण गर्दै कार्यक्रम अगाडि बढेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका द्वितिय सचिव संजोग राईले दुरदर्शी राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको राष्ट्रिय एकीकरण अभियानले आधुनिक नेपाल बनेको स्मरण गरे । उनले शाहको महावाणी अहिले पनि उत्तिकै सान्दर्भिक रहेका चर्चा गर्दै राष्ट्रिय महत्वका यस्ता कार्यक्रम दूतावासमै गर्न दूतावास सकारात्मक रहेको बताए । प्रमुख अतिथी राईले राष्ट्र निर्माणमा योगदान गर्नु सबैको दायित्व भएको पनि बताए ।


विशेष अतिथी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले पृथ्वी नारायण शाहको योगदान भन्न कन्जुस्याईं गर्न नहुने बताए । डा. धितालले अहिलेका जेनजी पुस्ताले समेत शाहको दिव्योपदेशबाट प्रेरणा लिनुपर्ने बताए । उनले पृथ्वी जयन्तीलाई विभिन्न ठाउंमा छरिएर भन्दा एकत्रित रुपमा अझ व्यापक गरि मनाउन समेत सुझाए ।

कार्यक्रममा गोरखाली वुद्धिजिवी विकलचन्द्र आचार्यले पृथ्वीनारायण शाहको व्यक्तित्व, शाहवंशको विरासत तथा गोरखा जिल्लाको ऐतिहासिक तथ्यमाथि विवेचना गरे । एउटा असल नेतृत्वमा हुने दुरदर्शिता, योजना, समन्वय तथा निर्णय क्षमता पृथ्वीनारायण शाहमा भएको तथ्य उजागर गर्दै आचार्यले शाहको दिव्य उपदेश नेपाल राज्यको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायत विविध पक्षमा मार्ग निर्देशक रहेको चर्चा समेत गरेका थिए ।

समाजसेवी विमल आचार्यले व्यवस्था र अवस्था जस्तो सुकै आएपनि पृथ्वी नारायण शाहको योगदान कहिल्यै नमर्ने र भुल्न पनि नहुने धारणा राखे । जेनजी विद्यार्थी अनन्तले शाहको एकीकरण, आर्थिक पाटो, लडाईं रणनीति, दिव्योपदेश आदिबारे सारगर्भिक मन्तव्य दिएका थिए ।

विगत १८ वर्षदेखि एक्लो प्रयासमा पृथ्वी जयन्ती मनाउंदै आएका संगठनका अध्यक्ष भरत क्षेत्रीले आधुनिक नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वी नारायण शाहको योगदान कहिल्यै भुल्न नहुने बताए ।

उनले राष्ट्रपिता शाहलाई सदैव सम्मान गरिनु पर्नेमा जोड दिंदै उनले विशाल नेपाल नबनाएको भए अहिले हामी नेपाली हुने थिएनौं भन्ने धारणा समेत राखेका थिए ।

यसपटक बेलायतका ५ जना अग्रज व्यक्तित्वहरुलाई संस्थाले सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । सम्मानित हुनेहरुमा डा. राघवप्रसाद धिताल (ओबीइ), हरिसिंह थापा, मदन थापा, वसन्त रायक्षेत्री र विजय थापा छन् । उनीहरुलाई अध्यक्ष क्षेत्रीले दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरेका थिए ।

अध्यक्ष क्षेत्रीले सहयोगी र सहभागी सबैप्रति आभार व्यक्त गरे । उनले ३०० औं पृथ्वी जयन्तीदेखि एक लाख रुपैयांको वार्षिक पृथ्वी पुरस्कार दिन शुरु गरिएको जानकारी दिंदै यसवर्ष भने उक्त पुरस्कारको राशी एक लाख रुपैयां जेनजी आन्दोलनका घाइतेलाई उपचार खर्च दिइएको बताए ।


कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक डेभिड गुरुङ, हन्स्लो बरोका वर्तमान काउन्सिलर तथा पूर्व मेयर विष्णु गुरुङ, प्रेम गौतम, हेमन्त पौडेल, साहित्यकार हरिसिंह थापा, संगठनका महासचिव सुनिलजंग शाह, नेपाल आर्मीका पूर्व मेजर कुमार बस्नेत लगायतले पनि पृथ्वी नारायण शाहको व्यक्तित्व र योगदानबारे चर्चा गरे ।

कार्यक्रमका अवसरमा विद्यार्थी रोजिना गुरुङले राष्ट्रभक्तिले ओतप्रोत गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गरिन् भने गायक प्रमोद शर्माले गीत गाए । रमेश लामा गुरुङले राजनीति र नेता लक्षित प्यारोडी गाएका थिए । पण्डित निलहरि घिमिरेले स्वस्ति वाचनसहित शाहबारे मन्तव्य दिएका थिए ।

संगठन स्थापनादेखि नै योगदान गरेका चेतमान केसीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उत्तम खड्काले स्वागत मन्तव्य दिएका थिए ।

तस्विर: शिव भण्डारी

Read more news from Nepali Link

Explore by Source or Category