राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
नेपाली भाषाको ‘बमबहादुर’ ९ महिनापछि बल्ल सेन्सर पास
काठमाडौं । गत वर्ष पुसको पहिलो साता नेपालमा रिलिज गरिएको नेपाली भाषाको चलचित्र ‘बम बहादुर’लाई गोर्खालीको प्रशंसा गरेको भन्दै पश्चिम बंगाल सरकारले प्रतिबन्ध लगाएको थियो । अब यो चलचित्र अर्कै नामबाट रिलिज हुने भएको छ । पश्चिम बंगालको कोलकात्ता सेन्सर बोर्डले यो चलचित्रलाई प्रदर्शनको अनुमति नदिएपछि निर्देशक जोन राईले मुम्बईमा सेन्सरको लागि ‘बम बहादुर’ बुझाएका थिए । मुम्बईको सेन्सर बोर्डमा समेत सात महिनासम्म यो चलचित्र सेन्सर पास नभएपछि यसको नाम अहिले ‘धमिलो पहाड’ राखिएको छ ।
आफूहरूले सेन्सरकै लागि यो चलचित्रको केही दृश्यहरू सहित नाम नै परिवर्तन गरेर ‘धमिलो पहाड’ राख्नु परेको यसका निर्देशक जोन राईले राजधानीलाई बताएका छन् । नेपालमा कुनै पनि दृष्य नकाटी सेन्सर पास भएको चलचित्रलाई भारतमा ९ महिनासम्म रोकेकोमा उनले दुःख ब्यक्त गरे । शनिवार बेलुका भारतको सिलीगुडीमा चलचित्र ‘धमिलो पहाड’को गीत रिलिज गर्दै अब यही नामबाट आफूहरूले भारतमा चलचित्र रिलिज गर्ने निर्देशक राईले कार्यक्रममा बताए ।
जोनका अनुसार गीत रिलिज कार्यक्रममा सांसद राजु विष्टले भने,‘यस चलचित्रमा भारतीय गोर्खा समुदाय, विशेष गरी दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका ऐतिहासिक महत्त्व बोकेका घटनाहरूलाई सुन्दर रूपमा प्रस्तुत गरिएको छ । चलचित्रका अधिकांश कलाकार र निर्माताहरू पनि हाम्रै क्षेत्रका हुनुले यसलाई अझै विशेष बनाएको छ,’ उनले अगाडि थपे, ‘सेन्सरले लामो समय रोकेपछि यस चलचित्रलाई रिलिज गर्न आवश्यक प्रमाणीकरण गर्ने प्रक्रियामा मैले सिफारिस गरेर निर्माण टिमसँग लामै समय सहकार्य समेत गर्नु परेको थियो । धमिलो पहाडका निर्माताहरूले यस परियोजनाका लागि गरेको कडा मेहनत अन्ततः सफल हुनुका साथै चलचित्रको रिलिजको अनुमति पाएकोमा खुसी लागेको छ ।’
यसका निर्देशक राईले सेन्सर पासलाई गोर्खालीहरुको जीत भनेका छन् । उनका अनुसार अब यो चलचित्र भारतको सिक्किम, दार्जिलिङ, खरसाङ, कालिम्पोङ, सिलीगुडी, जलपाईगुलीलगायतका स्थानमा आगामी १९ डिसेम्बरबाट रिलिज गरिने भएको छ । गत वर्ष नै यो चलचित्रलाई नेपालसँगै यी क्षेत्रमा रिलिज गर्न लागिएको थियो । तर पश्चिम बंगालको कोलकात्ता सेन्सर बोर्डले चलचित्रलाई प्रदर्शनको अनुमति नदिएपछि बल्ल यति बेला मुम्बईबाट सेन्सर पास गरेको पनि निर्देशक जोन राईले बताएका छन् ।
जोनका अनुसार नेपाली भाषाको चलचित्र ‘बम बहादुर’मा १९८६ को दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको कथा समेटिएको थियो । जसमा भारतको हुनु भन्दा अघि दार्जिलिङ लगायतको क्षेत्र नेपालको रहेको र त्यहाँ नेपाली भाषीहरू भएको कथा उठान गरिएको थियो । पश्चिम बंगालबाट अलग भएर दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी जिल्लालाई समेटेर गोर्खाल्यान्ड राज्य घोषणा गरिनु पर्ने माग सहितको आन्दोलन १९८६ मा भएको थियो । त्यति बेला राज्यबाट त्यहाँका नेपाली भाषीमाथि भएको दमनलाई यो चलचित्रमा उठान गरिएको थियो । जसमा ती पहाडी क्षेत्रका जनताको संघर्ष र पीडासँगै नेपाली भाषी गोर्खालीहरूको संघर्ष र बहादुरीको कथा समेत प्रस्तुत गरिएको थियो । यसलाई भारतीय नभएर नेपाली चलचित्र भएको र चलचित्रले पश्चिम बंगालको सार्वभौमतामा असर पार्ने काम गरेको भन्दै कोलकात्ता सेन्सर बोर्डले ‘बम बहादुर’लाई रोकेको थियो ।
यसपछि सेन्सरको लागि आफू मुम्बई गएको जनाउँदै निर्देशक जोनले भने,‘मुम्बईको केन्द्रिय सेन्सर बोर्डले पनि हामीलाई ६ महिनासम्म कुनै पनि कारण नदेखाई निरन्तर झुलायो । यसपछि हाम्रा सांसद राजु विष्टको सिफारिस र सहयोगमा यो चलचित्रको केही दृश्य परिवर्तन गरेर हामीले धमिलो पहाडको नामबाट सेन्सरको लागि आवेदन दियौँ ।’
यसरी आफूहरूले सेन्सरको लागि ‘धमिलो पहाड’को नामबाट निवेदन दिएपछि पनि सेन्सर पास नगरिएको पनि जोनको कथन छ । त्यस पछि आधा दर्जन वकिलसहित मुद्दाको तयारीमा जुट्नु परेको पीडा पनि जोनले सुनाए । सांसद राजुको दबाब पछि बल्ल यो चलचित्रलाई पुन मुल्यांकन गर्न सेन्सर बोर्ड तयार भएको पनि निर्देशक जोनको कथन छ । यसरी नेपाली भाषामा दार्जिलिङ तथा सिलिगुडीबाट निर्माण गरिएको चलचित्र ‘बम बहादुर’लाई अन्ततः ९ महिनाको संघर्ष पछि ‘धमिलो पहाड’ नामाकंन गरेर सेन्सर गरिएको पनि उनले बताएका छन् ।
यो चलचित्रमा नेपालबाट सौगात मल्ल मुख्य भूमिकामा छन् । यसमा बाँकी स्थानीय कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, बशिष्ट कार्की, गर्व पाख्रिन, अरुण प्रकाश राई, भास्कर प्रधान, महेन्द्र बागदास, मदन भुजेल, अजय प्रधान, प्रभात पाख्रिन, रिया भुजेल, मनिष तामाङ, मणि घतानी, अन्वर अली, निलेश राई, सुरेश पञ्चकोटी, ज्ञान गुरुङलगायतको अभिनय छ ।
The post नेपाली भाषाको ‘बमबहादुर’ ९ महिनापछि बल्ल सेन्सर पास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....