News of Nepal
सुशासनका लागि हाम्रो खबरदारी– निरन्तर, अडिग र अझ सशक्त
कामना न्यूज पब्लिकेसन्स् प्रालि र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकले आज आफ्नो गौरवमय वार्षिकोत्सव मनाउँदै गर्दा, हामी चार दशकदेखिको यात्रालाई केवल स्मरण मात्र गरिरहेका छैनौँ– समग्र मिडिया क्षेत्रको विकास र विस्तारमा हामी निरन्तर अघि बढिरहेका छौं । मुुलुकको विकास र समृद्धिको अनिवार्य सर्तको रुपमा रहेको सुशासनको एजेन्डालाई अझ दृढतापूर्वक अघि बढाउने संकल्प गर्दछौं । यो यात्रा आरोह–अवरोहको, संघर्ष–समर्पणको र सत्य–तथ्यको अखण्ड पक्षधरता कायम राख्ने पत्रकारिताको यात्रा हो ।
मुलुक वर्षौंदेखि कुशासन, भ्रष्टाचार र बेथितिको अन्धकारमा जकडिँदै आएको दुःखद तथ्य हामीसँग छ । शासन व्यवस्थाको नाम फेरिँदै गए तर नागरिकका गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारका यावत् समस्या एवं नागरिकका तमाम पीडा यथावत् रहे । संघीय लोकतान्त्रिक गणतन्त्रले पनि जनजीवनमा अपेक्षित समृद्धि र सहजता दिन नसक्दा आम जनताको मनमा निराशा बढ्दै गइरहेको थियो ।
यही निराशा, यही असन्तोष र परिवर्तनप्रतिको तीव्र चाहनाबाट जन्मियो– भदौ २३ र २४ गतेको जेनजी विद्रोह । झन्डै दुई–तिहाइनजिकको शक्तिशाली देखिएको सरकार पनि जनताको आक्रोश र खबरदारीका अगाडि कसरी क्षणभरमै ढल्न सक्छ भन्ने जेनजी आन्दोलनले त्यसको प्रत्यक्ष उदाहरण दियो । यसले एउटा कठोर तर महत्वपूर्ण पाठ सिकायो कि जनताको चाहनाविपरीत सरकार चल्छ भने, जतिसुकै बलियो सरकार पनि जनताकै हातले ढलाइदिन सक्छ । त्यसैले सुशासन कुनै विकल्प होइन, यो राज्य सञ्चालनको अनिवार्य आधार हो । शासकले सत्ता जोगाउन होइन, जनता जोगाउन सुशासनमा केन्द्रित हुनुपर्छ ।
कामना न्यूज पब्लिकेसन्स् र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको टिमले सुशासनका लागि गत ४० वर्षदेखि अखण्ड कलम–संघर्ष गर्दै आएको छ । हामीले कैयौँ भ्रष्टाचार काण्ड उजागर ग¥यौं, शासकलाई जवाफदेही बनायौं, जनताको स्वप्ना र आवाजलाई प्राथमिकता दियौं । नेपालमा जेनजी आवाजलाई पहिलोपटक संगठितरूपमा उजागर गर्ने, निरन्तर स्थान दिने र जनचेतनाको मेरुदण्ड बनाउने काम नेपाल समाचारपत्रले नै ग¥यो । हामीले जेनजी पृष्ठमार्फत युवाको चासो, आवाज, विद्रोह र वैचारिक ऊर्जा निरन्तर देशभर पु¥याउँदै आयौँ । आज जेनजी अभियानले मुलुकलाई नव–ऊर्जामा लम्काइरहेको छ । नागरिक सचेत हुँदै छन्, युवा निर्भीक हुँदै छन् । यो परिवर्तन हाम्रो पत्रकारिता यात्राको पनि उपलब्धि हो ।
जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार गठन भएको वर्तमान सरकारको दुई मुख्य लक्ष्य छन्, जसअनुसार फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु र मुलुकमा सुशासन अनि विधिको शासन स्थापित गर्नु । तर यतिले मात्र पर्याप्त हुँदैन । हामीले विगतमा देखिसकेका छौँ, शक्ति पाउनेबित्तिकै सुशासनको प्रतिज्ञा कसरी कमजोर पर्न सक्छ । त्यसैले नेपाल समाचारपत्रको खबरदारी अब झनै सशक्त, झनै निरन्तर र झनै कडाइका साथ अघि बढ्नेछ ।
हामी सरकारलाई गलत गर्दा गाली गर्न होइन, ठीक दिशातर्फ धकेल्न निरन्तर खबरदारी गरिरहनेछौं । हामी सुधारका कदममा समर्थन गर्छौं तर कुशासनको कुनै संकेत देखिए तीव्र प्रतिरोध गर्छौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हाम्रो अडिग प्रतिज्ञा हो । हामी पत्रकारिताको केवल दर्शक होइनौं, हामी जनताको पक्षमा उभिने पहरेदार हौं । त्यसैले हाम्रो पनि मूल नीति छ– भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता । आगामी दिनमा हाम्रा समाचार अझ खोजमूलक हुनेछन्, अनुसन्धान झनै गहिरो हुनेछ, प्रत्येक बेथिति, अव्यवस्था र विकृतिको उजागर हुनेछ । जनताका प्रश्नहरू संसद्, सरकार र प्रणालीसम्म पु¥याइनेछ । हामी मौन रहने छैनौं, हामी झुक्ने छैनौं, हामी थाक्ने छैनौं ।
चार दशकको यो यात्रा केवल नेपाल समाचारपत्रको इतिहास होइन, यो आम नागरिकको इतिहास हो । सुशासन चाहने प्रत्येक नेपालीको सामूहिक मनोकामना हो । आज वार्षिकोत्सवको अवसरमा हामी सम्पूर्ण पाठक, ग्राहक, शुभचिन्तक र नागरिकसमक्ष प्रतिज्ञा गर्दछौं कि हामी सुशासनका लागि पत्रिकाहरुको पहिलो पंक्तिमा उभिनेछौं । जेनजी पुस्ताले देखाएको मार्गलाई हामी कलमद्वारा ऊर्जा दिन निरन्तर अघि बढ्नेछौं । हामी सत्य, स्वच्छता र सुशासनका पक्षमा निरन्तर अडिग, अझ सशक्तरूपमा अघि बढिरहनेछौं ।