अधिक लगानीयोग्य रकमले सकस, ऋणपत्रमार्फत रु. २ खर्ब तानेपछि अब के गर्छ राष्ट्र बैंक ?
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य रकम (तरलता) भएपछि नेपाल राष्ट्र बैंकले आक्रामक रुपमा पैसा तानेको छ। ऋणपत्र जारी गरेर राष्ट्र बैंकले पछिल्लो १५ दिनमा मात्रै ९ पटक ऋणपत्र जारी गर्दै २ खर्ब रुपैयाँ बजारबाट झिकेको हो।
राष्ट्र बैंकले पुस १४ गते ‘एनआरबी बन्ड २०८३ क’ गरेको थियो। त्यसपछि पुस १६, २०, २२, २३, २४, २८, २९ र ३० गते एकवर्षे अवधिका लागि राष्ट्र बैंकले फरक–फरक दरका ऋणपत्र जारी गरेको हो।
दुई साताको अवधिमा ६ पटक २५–२५ अर्ब रुपैयाँ, २ पटक २० अर्ब रुपैयाँ र एकपटक १० अर्ब रुपैयाँका ऋणपत्र जारी भएका छन्। यसरी कुल २ खर्ब रुपैयाँबराबरको रकम बजारबाट तानिएको छ।
यसअघि आर्थिक वर्ष २०७२।७३ मा राष्ट्र बैंकले यही ऋणपत्र जारी गरेर ४९ अर्ब ८ करोड रुपैयाँ बजारबाट झिकेको थियो। करिब एक दशकपछि पुनः अधिक तरलताका कारण ऋणपत्रलाई प्रभावकारी औजारका रुपमा प्रयोग गरिएको हो।
हाल बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जनाएको छ। तत्काल यो रकम घट्ने संकेत नदेखिएकाले एकवर्षे अवधिका ऋणपत्रमार्फत लामो समयका लागि तरलता थाम्ने रणनीति अपनाइएको हो।
राष्ट्र बैंकले यसअघि पनि विभिन्न वर्षमा ऋणपत्र प्रयोग गर्दै आएको छ। आर्थिक वर्ष २०४९।५० मा २४ अर्ब ८८ करोड रुपैयाँ, २०५०।५१ मा ६५ अर्ब ७२ करोड रुपैयाँ, २०५१।५२ मा ४५ अर्ब ७४ करोड रुपैयाँ, २०५२।५३ मा ९ अर्ब ३७ करोड रुपैयाँ र २०७२।७३ मा ४९ अर्ब ८ करोड रुपैयाँ बजारबाट झिकिएको थियो।
अहिले ब्याजदर करिडोरको माथिल्लो सीमा (स्थायी तरलता सुविधा दर) ५.७५ प्रतिशत र तल्लो सीमा (स्थायी निक्षेप सुविधा दर) २.७५ प्रतिशत छ। अन्तरबैंक दर ५.७५ प्रतिशतभन्दा माथि पुगे राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ भने २.७५ प्रतिशतभन्दा तल झरे बजारबाट पैसा तान्छ।
पछिल्लो ३ वर्षयता अन्तरबैंक दर निरन्तर तल्लो सीमाभन्दा तल रहँदै आएको छ। जसका कारण केन्द्रीय बैंकले नियमित रुपमा तरलता प्रशोचन गरिरहेको छ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको कुल निक्षेप ७६ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ६८ खर्ब ९५ अर्ब रुपैयाँमा सीमित छ। कर्जा–निक्षेप अनुपात ७३.९७ प्रतिशत मात्र रहनु पनि लगानीको माग कमजोर भएको संकेत हो।
करिब ३ वर्षदेखि वित्तीय प्रणालीमा थुप्रिएको तरलता लगानीमा जान नसक्दा समस्या देखिएको निजी क्षेत्रको गुनासो छ। बजार माग सुस्त हुनु र पछिल्लो समय भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले निजी क्षेत्रको मनोबल झनै खस्किनु कर्जाको माग नबढ्नुका मुख्य कारणका रुपमा लिइएको छ।
राष्ट्र बैंकका अधिकारीहरु ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन निरन्तर तरलता प्रशोचन अपरिहार्य भएको बताउँछन्। निजी क्षेत्रको मनोबल बढाउने गरी केन्द्रीय बैंकले काम गरिरहेको र सरकारको पहलसँगै अर्थतन्त्र क्रमशः लयमा फर्किंदा अहिले थुप्रिएको तरलता सदुपयोग हुने जानकारहरु बताउँछन्।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने घोषणा गरेको थियो। अहिले केन्द्रीय बैंकले त्यसकै कार्यान्वयन गरेको हो।
जानकारहरु यसरी ऋणपत्रमार्फत रकम राष्ट्र बैंकले मात्र तानेर नहुने बताउँछन्। सरकारले र संस्थानले पनि यस्ता ऋणपत्र जारी गरेर परियोजनामा लगानी गर्नुपर्नेमा उनीहरुको जोड छ।
बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा बैंकको ब्याजदर पनि घट्दै गएको छ। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ४.६८ प्रतिशत र संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर माघमा ०.१४९५ प्रतिशत छ।
पछिल्ला महिनाहरुमा बजारमा कर्जाको माग न्यूनप्रायः छ। राष्ट्र बैंकका अनुसार मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत (१ खर्ब २ अर्ब २४ करोड रुपैयाँ)ले बढेको छ। तर, निक्षेप ३.९ प्रतिशतले बढेको छ। यसले कर्जा विस्तारको तुलनामा निक्षेप निकै धेरै बढेको र तरलता पनि बढिरहेको देखाएको छ। यसले तरलता अझै उपयोग हुने अवस्था देखाएको छैन। जानकारहरु राष्ट्र बैंकले अझै ऋणपत्र मार्फत निक्षेप तान्नुपर्ने बताउँछन्।
राष्ट्र बैंकले तत्कालका लागि ऋणपत्र फेरि जारी गर्ने सोचेको छैन। तर, आवश्यक पर्दा फेरि ऋणपत्र जारी गर्न सकिने बताएको छ। यसबाहेक राष्ट्र बैंकले नियमित रुपमा साताको २ दिन विभिन्न उपकरणमार्फत प्रणालीको पैसा तान्ने काम गरिरहेको छ। त्यसमै अबको ध्यान हुने राष्ट्र बैंकका प्रतिनिधिहरु बताउँछन्।
हाल ब्याजदर करिडोरको माथिल्लो सिलिङ (स्थायी तरलता सुविधा दर) ५.७५ प्रतिशत छ भने तल्लो सीमा (स्थायी निक्षेप सुविधा) २.७५ प्रतिशत छ। यसरी बैंकहरु बीचको सापटी (अन्तरबैंक दर) ५.७५ प्रतिशतभन्दा बढी हुँदा राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ भने अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा कम हुँदा बजारबाट पैसा झिक्छ। पछिल्लो ३ वर्षयता भने अन्तरबैंक दर २.७५ प्रतिशतभन्दा तल रहिरहेको छ। जसका कारण केन्द्रीय बैंकले बजारबाट पैसा तान्दै आएको छ।
राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्नका लागि अन्य विभिन्न औजारको पनि प्रयोग गरिरहेको छ। जसअन्तर्गत चालु आर्थिक वर्षको पुस ३० सम्म ४९ पटक यस्ता उपकरण प्रयोग गरेर १६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ तानिसकेको छ। जसमा एनआरबी बन्डबाट २ खर्ब रुपैयाँ र ४० पटक बचत संकलन गरेर १४ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ तानेको छ।