npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

काठमाडौँ महानगरले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई निःशुल्क उपचार गर्ने

Tourism Face 2 days ago

टुरिजमफेस
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ ।

जसअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका जो कोही व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने प्रक्रिया कामपाले अघि बढाइसकेको जनाएको छ ।

यसरी उपचार गर्नका लागि कामपाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग चालु आर्थिक वर्षका लागि सम्झौता गरिसकेको कामपाकी उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनले पारिवारिक समस्याका कारण आफ्नो कोही नभएर उपचारमा जान नसक्नेहरू पनि महानगरपालिका छन् भन्ने महसुस हुन थाल्नु सुखद नतिजाको प्रारम्भ भएको बताइन् ।

कामपाको प्रमुख प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आवश्यक पर्नेले सजिलै सेवा प्राप्त गर्ने र सम्भावित दुरुपयोग रोक्ने प्रणालीबाट सेवा प्रवाह गर्न अस्पताललाई आग्रह गरेका छन् ।

अस्पतालका अध्यक्ष डा मनोजमान श्रेष्ठले स्वास्थ्योपचारमा महत्व नदिने पाका व्यक्तिहरू उपचारका लागि आउन थाल्नु, समुदायका मानिस उपचारका बारेमा सोधखोज गर्न थाल्नु, कामपाको सहयोग प्राप्त भएको नतिजा हो भन्छन् ।

सम्झौताबमोजिम कामपाका जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ । त्यस्तै लैङ्गिक हिंसामा परेका व्यक्ति, बेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नुपर्ने कर्मचारीका लागि सामाजिक विकास विभागको सिफारिस आवश्यक पर्नेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहार्नेछ ।

The post काठमाडौँ महानगरले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई निःशुल्क उपचार गर्ने first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category