राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
स्वदेशी लगानीमै बन्ने भयो अपर अरुण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ ।
एनआरएन र वैदेशिक रोजगारीकाले पनि सेयर पाउने
विवाद र विदेशी लगानीका कारण चासो र प्रतीक्षामा रहेको बहुप्रतिक्षित अरुणमा १२ अर्ब ९५ करोड रुपैयाँबराबरको सेयर गैरआवासीय नेपाली (एनआरएन) र वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्ने प्रस्ताव गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङका अनुसार आयोजनाको सेयर संरचना स्वदेशी लगानीलाई नै आधार बनाइएको छ ।
उनले भने, ‘विदेशमा रहेका नेपाली, एनआरएन, स्थानीय तथा सर्वसाधारण सबैलाई सहभागी गराएर अपर अरुणलाई जनताको आयोजनाका रूपमा विकास गरिँदै छ, वित्तीय व्यवस्थापन सकेसम्म छिटो सकेर निर्माण चरणमा लैजाने हाम्रो लक्ष्य हो ।’
अपर अरुणलाई स्वदेशी पुँजीबाटै अघि बढाउने मोडेलले नेपालको ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो आन्तरिक वित्तीय जुटाइको उदाहरण बन्ने अपेक्षा गरिएको छ ।
आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक १ अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ । लागतलाई हाल प्रचलित विनिमयदर प्रतिअमेरिकी डलर १ सय ४१ रुपैयाँका दरले रुपान्तरण गर्दा निर्माण अवधिको ब्याजबाहेक कुल लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ हुन्छ ।
आयोजनाको निर्माण अवधिको ब्याजसहित २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जसमा स्वपुँजी (इक्विटी) ३० प्रतिशत अर्थात् ७१ अर्ब ९४ करोड रुपैयाँ रहनेछ । कुल लागतको ३० प्रतिशत अर्थात् १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ रहनेगरी वित्तीय व्यवस्थापनको प्रस्ताव गरिएको छ । आयोजनाको निर्माण अवधि ७ वर्ष रहने र त्यस अवधिको वार्षिक ब्याजदर ७ प्रतिशत रहने अनुमान गरिएको छ ।
२ खर्ब ४० अर्बबराबरको लागत अनुमान
अपर अरुणको वित्तीय विश्लेषणअनुसार आयोजना निर्माणमा १ अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यस रकमलाई प्रतिडलर १ सय ४१ रुपैयाँका दरले रुपान्तरण गर्दा २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँबराबर हुन्छ । निर्माण अवधिको ब्याजसहित कुल लागत २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।
यसअनुसार ३० प्रतिशत अर्थात् ७१ अर्ब ९४ करोड रुपैयाँ स्वपुँजी (इक्विटी), ७० प्रतिशत अर्थात् १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्था गरिने प्रस्ताव छ । आयोजना निर्माण अवधि ७ वर्ष रहने र यस अवधिमा वार्षिक ७ प्रतिशत ब्याजदर लागू हुने अनुमान गरिएको छ । सेयरमध्ये ७ अर्ब १९ करोड रुपैयाँबराबरको सेयर आयोजना प्रभावित क्षेत्र तथा संखुवासभा जिल्लाका बासिन्दाले पाउनेछन् ।
१२ अर्ब ९५ करोड रुपैयाँबराबरको सेयर देशभरका सर्वसाधारणले पाउनेछन् । त्यसैगरी १ अर्ब ४४ करोड रुपैयाँ पिछडिएको क्षेत्रका जनताका लागि सुरक्षित गरिएको छ । ७१ करोड ९४ लाख रुपैयाँ प्रवर्धक निकायका कर्मचारीले पाउनेछन् । ऊर्जा मन्त्रालयका अनुसार कुल साधारण सेयर ४९ प्रतिशतबाट रकम संकलन गरिनेछ ।
यससँगै ५१ प्रतिशत संस्थापक सेयर संस्थापक समूहबाट उठाइनेछ, जसमा प्राधिकरण अग्रसर रहने मोडालिटी तयार भएको छ ।
आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले तयार पारेको वित्तीय संरचनाअनुसार कुल इक्विटीको ४९ प्रतिशत साधारण सेयर निष्कासन गरिनेछ । यसमध्ये १२ अर्ब ९५ करोड रुपैयाँ एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले पाउनेछन् ।
प्राधिकरणकै अग्रसरतामा बन्ने
आयोजनामा लगानी हुने इक्विटीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सेयर साधारण सेयर निष्कासन गरी रकम संकलनको प्रस्ताव गरिएको छ । संस्थापनबाट ३६ अर्ब ६९ करोड र साधारण सेयर निष्कासनबाट ३५ करोड २५ लाख रुपैयाँ लगानी हुनेछ ।
कसलाई कति सेयर ?
४९ प्रतिशत साधारण सेयरमध्ये १८ प्रतिशत एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ । त्यस्तै, ७ अर्ब १९ करोड (१० प्रतिशत) आयोजना प्रभावित क्षेत्र तथा संखुवासभा जिल्लावासीलाई, १२ अर्ब ९५ करोड (१८ प्रतिशत) रुपैयाँ देशभरका सर्वसाधारणलाई, १ अर्ब ४४ करोड (२ प्रतिशत) पिछडिएको क्षेत्र र ७१ करोड ९४ लाख प्रवर्धक निकायका कर्मचारीलाई छुट्याइएको छ ।
आयोजनाको प्रवर्धक कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत संस्थापक सेयर अर्थात् २९ अर्ब ४९ करोड रुपैयाँको लगानी रहनेछ ।
१ अर्ब ४४ करोड (२ प्रतिशत)का दरले प्राधिकरणका सहायक कम्पनी, कर्मचारी सञ्चय कोष, बिमा तथा पुनर्बिमा कम्पनीको हुनेछ । नेपाल टेलिकम, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, एचआईडीसीएल, प्रदेश एवं स्थानीय सरकारलाई ३५ करोड ९७ लाख रुपैयाँका दरले संस्थापक सेयर हुनेछ ।
आयोजना सम्पन्न गर्न आवश्यक १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ ऋण सरकारबाट नलिई आन्तरिक स्रोत र मिश्रित लगानीबाटै जुटाइनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार मिश्रित लगानी प्रणालीले लागत कम गर्ने, लगानी जोखिम घटाउने, आन्तरिक पुँजीको उच्चतम उपयोग बढाउनेमा सहयोग पु¥याउनेछ ।
पहिलो वर्षमै २८ अर्ब आम्दानी हुने
अपर अरुणबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । व्यावसायिक उत्पादन सुरु भएको पहिलो वर्षमै २७ अर्ब ९० करोड आम्दानी हुनेछ । ८ वर्षसम्म वार्षिक ३ प्रतिशत मूल्यवृद्धि हुँदा दीर्घकालीन आम्दानी ३४ अर्ब ५९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण छ ।
सुरुवाती औसत विद्युत् खरिद सम्झौतादर प्रतियुनिट ६.३ रुपैयाँ राखिएको छ । ३ प्रतिशत वार्षिक वृद्धिसँग आयोजनाभरि औसत दर ७.८ रुपैयाँ हुनेछ ।
The post स्वदेशी लगानीमै बन्ने भयो अपर अरुण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....