npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

बाघकै कारण विश्वको ध्यान बर्दिया आकर्षित, बर्सेनी पर्यटकको सङ्ख्या बढ्दो

Tourism Face 2 days ago

टुरिजमफेस
बर्दिया ।  नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जले चासो र चर्चा कमाएको छ । सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष हुँदै २०४५ मङ्सिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जका रुपमा घोषणा भएको हो ।
यस निकुञ्जले बर्दियाको भूमि भएर बग्ने कर्णाली र बबई नदीका केही भागसमेत समेटेको छ । यसको कुल क्षेत्रफल ९६८ वर्गकिलोमिटर रहेको छभने यसको मध्यवर्ती क्षेत्र ५०७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ  । स्थानीय जनतालाई नियमित रूपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्नेगरी २०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।
निकुञ्जअन्तर्गत चुरेको माथिल्लो भेगमा केही सल्लाका जङ्गल रहे पनि तराईतर्फको अधिकांश भाग सालको जङ्गलले ढाक्नाका साथै बीचमा विशाल घाँसेमैदान रहेका छन् । विशेषतः पाटेबाघको मुख्य वासस्थान क्षेत्र रहेका कारण उनीहरूको आहारा प्रजातिको वासस्थान संरक्षण गर्ने उद्देश्यले यस निकुञ्जको स्थापना गरिएको हो ।
सन् २०२२ को गणनाअनुसार यस निकुञ्जमा १२५ वटाको सङ्ख्यामा बाघ रहेको बर्दिया संरक्षण क्षेत्रका अध्यक्ष राजन चौधरीले जानकारी दिए । उनहाँका अनुसार विश्वका १३ वटा देशमा चार हजार ८०० को सङ्ख्यामा बाघ भएको पाइएको छ । बाघ भूमिका रुपमा बर्दियाले आफ्नो विशिष्ट स्थान बनाएको बताउँदै चौधरीले यो क्षेत्र नमूना सिकाइको ठाउँका रुपमा पनि विकास भएको बताउनुुभयो । “बाघकै कारण विश्वको ध्यान बर्दियामा आकर्षित भएको छ, यहाँ बाघका ठूला ठूला अनुसन्धानसँगै विभिन्न डकुमेन्ट्री पनि बनेका छन्”, उनले भने ।
बाघसँगै अन्य जनावरका साथै विविधतायुक्त वनस्पति समेतले यो पर्या–पर्यटनको विशिष्ट गन्तव्यका रुपमा स्वदेश एवम् विदेशमा चासो र चर्चा कमाइरहेको उनले जानकारी दिए । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघसँगै हात्ती, एकसिङे गैँडालगायत ६२ भन्दा बढी स्तनधारी प्रजातिका जनावर रहेका छन् । निकुञ्जमा ५१५ भन्दा बढी प्रजातिका चरा, विभिन्न प्रजातिका घस्रने वन्यजन्तुका साथै १२१ प्रजातिका माछा पाइने उक्त क्षेत्रमा पर्यटक पथप्रदर्शका रुपमा काम गर्दै आएकी मञ्जु महतराले जानकारी दिइन् । पर्या–पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा बर्सेनी स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढिरहेको उनले बताइन् ।
पर्यटकका लागि निकुञ्जले प्रवेश शुल्क वापत नेपालीका लागि एक सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ७५० रुपैयाँ र विदेशी पर्यटकका लागि एक हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । यहाँ घुम्नका लागि प्रयोग हुने जीप, पर्यटक पथप्रदर्शकका लागि भने थप शुल्क लाग्ने गर्दछ ।
संसारमा सजिलै बाघ देख्न सकिने ठाउँका रुपमा ठूलो संख्यामा विदेशी पर्यटकको पनि आगमन बढिरहेको बताउँदै उहनले पछिल्ला वर्षमा आन्तिरिक पर्यटकको आगमन पनि उत्साहजनक रुपमा बढेको जानकारी दिइन् ।

The post बाघकै कारण विश्वको ध्यान बर्दिया आकर्षित, बर्सेनी पर्यटकको सङ्ख्या बढ्दो first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category