Clickmandu
चुनावका दिन पानी पर्छ कि पर्दैन ? यसो भन्छन् मौसमविद्

काठमाडौं । देशभर आगामी शनिवारसम्म मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मंगलबार मुलुकका केही पहाडी भू–भागमा आंशिक बदली देखिए पनि वर्षाको कुनै सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।
उनका अनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका एक–दुई स्थानमा भने छिटपुट वर्षाको सम्भावना रहेको छ । तर यी क्षेत्रका सबै भूभागमा वर्षा हुने अवस्था नरहेको उनले बताए ।
मंगलबारको तुलनामा बुधबारको मौसम केही खुल्ने अनुमान गरिएको समेत बताए।
बुधबार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लागे पनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको पौडेलको भनाइ छ । उनले गर्मीयाम सुरु हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिन सक्ने भए पनि यस साताभरि वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको बताए ।
‘शनिवारसम्मको मौसम सामान्यतः सफा नै छ । आज पहाडी भूभागमा केही बादल लागेको छ । त्यही पनि वर्षा भएको छैन । यद्यपि ताप्लेजुङ, संखुवासभा, गण्डकी प्रदेशका कास्कीलगायत एक–दुई स्थानमा भने छिटपुट वर्षा हुन सक्ने देखिन्छ । एक–दुई स्थानमा यस्तो सम्भावना देखिन्छ । जिल्लाभरि भने होइन । आजको मौसम यस्तै छ,’ उनले भने, ‘आजभन्दा भोलि मौसम केही खुल्ने देखिन्छ । यद्यपि भोलि पनि मुलुकका केही पहाडी क्षेत्रमा बादल लाग्ने देखिन्छ । त्यसबाट तर्सिनुपर्ने त्यस्तो केही पनि छैन । पर्सिको मौसम झन् सफा नै छ । अब विस्तारै गर्मीयाम सुरु हुन थालेकाले दिउँसो तात्दै जाने र बेलुकातिर पहाडी क्षेत्रमा बादल देखिनुका साथै छिटपुट वर्षा हुने समय आउने हो । यद्यपि यो हप्ताभरिमा त्यस्तो खालको अवस्था छैन । तर बिहीबार र शनिबारको हकमा भने गण्डकी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का बादल देखिन सक्छ ।’
उनले मौसमी गतिविधिका कारण मतदान प्रक्रियामा कुनै असर नपर्ने समेत स्पष्ट पारे ।