npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

जेनजी र वैकल्पिक शक्तिलाई समेट्दै रास्वपा

राजधानी समाचारदाता 1 hour ago

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेलगायतका राजनीतिक शक्तिहरूलाई ‘डेट एक्स्पाएर’ घोषणा गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैकल्पिक शक्तिलाई आफ्नो नेतृत्वमा ध्रुवीकरण बढाएको छ । वर्षौंदेखिको राजनीतिक बेथिति र कुशासनको जग भत्काउन भन्दै जेनजी आन्दोलनले असंगठित रूपमा उठाएको आन्दोलनबाट सिर्जना भएको अवस्थालाई रास्वपाले संस्थागत रूपमा नेतृत्व दिने संकेत गरेको छ ।

काठमाडौंमा भएको रास्वपा–साझा पार्टी एकता समारोहमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले परीक्षण भएका र अस्वीकृत भएकाहरूसँग भिड्न नयाँ सोच र वैकल्पिक शक्तिहरूको निर्णायक ध्रवीकरण सुरु भएको बताए । राष्ट्रिय सभागृहमा आयोजित एकता सभामा एकतामा आएकी विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटाले पार्टी एकतालाई विलय भन्नेहरूलाई २१ फागुनमा प्रलय ल्याएर देखाइदिने चेतावनी दिइन् । समीक्षाले भनिन्, ‘हामीले वैकल्पिक राजनीतिको ट्र्याक खोल्यौं, रास्वपाले राजमार्ग बनायो अब यो सबैका लागि विश्वासिलो गन्तव्यको महामार्ग बन्नेमा ढुक्क भए हुन्छ ।’

१२ वर्षअघि सुरु भएको विवेकशील साझाको अभियान र ७ असार २०७९ मा स्थापना भएको रास्वपाको एकताले वैकल्पिक राजनीतिमा भने नयाँ तरंग सिर्जना गरेको छ । जेनजी आन्दोलनका सरोकारवाला भनेर दाबी गर्नेहरूले दल दर्तामै अलमल गर्नेदेखि निर्वाचन तयारीमै भिन्न दृष्टिकोण दिइरहेका बेलामा रास्वपालाई सहज हुने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

रास्वपाले स्थापनाको सुरुवाती समयमा उठाएको नाराकै पेरिफेरिमा जेनजी आन्दोलन भएका कारण त्यसपछिको परिवेशलाई नेतृत्व दिन संस्थागत शक्तिका रूपमा रास्वपा नै अघि बढ्नुपर्ने आवश्यकता महसुस भएकाले वैकल्पिक शक्ति र जेनजीसँग एकता परामर्श भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

आइतबार साझा पार्टीसँग औपचारिक रूपमा पार्टी एकता गर्दै ध्रुवीकरणको सार्वजनिक सन्देश दिइएको महामन्त्री बुर्लाकोटीले बताए । ‘पार्टी एकताकै रूपमा यो पहिलो भए पनि यसअघि एउटा पार्टी र एक दर्जनजतिका स्वतन्त्र अभियानहरू विलय भएर वैकल्पिक राजनीतिलाई दिशानिर्देश गरिसकेको छ,’ बुर्लाकोटीले भने ।

१२ वर्षे विवेकशीलको विसर्जन
बन्द हड्तालको विकल्प, देशमै गरिखाने अवस्थाको निर्माण तथा भ्रष्टाचारमुक्त समाजको माग राख्दै शान्त प्रदर्शन र भद्र विरोधको शैली लिएर १२ वर्षअघि उदाएको विवेकशील आइतबारबाट औपचारिक रूपमा साझा विवेकशीलको विलय भएको छ ।

पार्टी एकताका रूपमा दुई शक्तिका तर्फबाट हस्ताक्षर र खातामा रहेको ३३ लाख रुपैयाँ रकमसमेत औपचारिक रूपमा हस्तान्तरण गरिए पनि सांगठनिक रूपमा अलमलिएको देखिएको छ । हस्ताक्षर भएको पाँचबुँदे सहमतिमा सांगठनिक समायोजनलाई आपसी समझदारीमा मनोनयन गरिने भन्दै टुंग्याइएको छ ।

विवेकशील अभियान हुँदै साझा विवेकशील पार्टीका रूपमा भएको वैकल्पिक शक्तिको समेत रास्वपामा भएको विलय स्वरूपको एकताले रास्वपालाई भने वैकल्पिक शक्तिको नेतृत्वकर्ताका रूपमा उभिने बाटो खुलेको छ ।

समाजवादी पार्टी विलय
नन्दन यादव नेतृत्वको लोहियावादी समाजवादी दललाई १ मंसिर २०८० मै रास्वपाले विलय गराइसकेको छ । समाजवादी तथा जातीय तथा क्षेत्रीय र वर्गमुक्तिको एजेन्डा लिएको यस पार्टीको विलयपछि यादवलाई केन्द्रीय सदस्य बनाइएको र उनको पार्टीका नेता कार्यकर्तालाई संगठनमा व्यवस्थापन गरिएको महामन्त्री बुर्लाकोटीले बताए ।

स्वतन्त्र नागरिक अभियानका दर्जन मोर्चा
राजनीतिक दलभित्र भिन्न मत राख्नेहरूले अलग्गिएर बनाएका विभिन्न मोर्चाहरू पनि रास्वपामा विलय भइरहेका छन् । नयाँ शक्तिका रूपमा बाबुराम भट्टराईले नेतृत्व गरेको राजनीतिक शक्तिबाट विद्रोह गरेर स्वतन्त्र नागरिक समूह भनी संगठित भएका शक्तिहरू जिल्लाजिल्लाबाट रास्वपाको सम्पर्कमा आएको बुर्लाकोटीले बताए । ‘पुराना पार्टीहरूको एकता र विभाजनका नाममा नेता गएसँगै खुरुखुरु पछि लाग्न नसकेर स्वतन्त्र नागरिक भन्दै संगठित भएर राजनीतिक सामाजिक गतिविधि गरिरहेकाहरू सम्पर्कमा आएका छन्, संवाद र ध्रुवीकरण हुनसक्छ,’ बुर्लाकोटीले पुष्टि गरे ।

जेनजी शक्तिसँग छलफल
रास्वपाले ध्रुवीकरण र एकताको गतिलाई जेनजी आन्दोलनको मर्मअनुसार पनि बढाउन लागेको बताएको छ । अवस्था परिपक्व नभई सार्वजनिक नगर्ने पक्षमा रहेका महामन्त्री बुर्लाकोटीले केही जेनजी शक्तिसँग वार्ता भइरहेको बताएका छन् । बुर्लाकोटीले भने, ‘पहिल्यै सूचना लिक भएको भए विवेकशील साझासँग पनि यस तहमा नहुन सक्थ्यो, त्यसैले अरू संवादको विषयमा गोप्य नै राख्नुपर्छ तर यतिसम्म भन्न मिल्छ, हामी जेनजी समूहहरूसँग संवादमा छौं, छिट्टै एकतामार्फत जेनजी भावनाको संस्थागत नेतृत्व रास्वपाले लिन्छ भन्ने सन्देश दिन्छौं ।’

The post जेनजी र वैकल्पिक शक्तिलाई समेट्दै रास्वपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category