npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

प्रभु बैंकका सीईओ शेरचनलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, रश्मी पनि अनुसन्धानको घेरामा

क्लिकमान्डु 4 hours ago

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अशोक शेरचनसहित उच्च तहका तीन जना कर्मचारीलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंबाट अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले क्लिकमान्डुलाई जानकारी दिए ।

‘पक्राउ परेका तीनजनामाथि थप अनुसन्धानका लागि अदालतले ५ दिनको म्याद दिएको छ,’ उनले भने ।

आइतबार अनामनगरस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयबाट सीआईबीको टोलीले सीईओ शेरचन, डीसीओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ पक्राउ गरेको थियो ।

सीआईबी स्रोतका अनुसार बैंकका चिफ बिजनेश अफिसर रश्मी पन्त र सीईओ अफिसका कर्मचारी दिनेश डंगोल पनि प्रत्यक्ष अनुसन्धानको दायरमा रहेका छन् । उनीहरू दुबै केही दिनयता सम्पर्कविहीन छन् ।

सीआईबीले कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर कर्जा सम्बन्धी करिब १ दर्जन महत्वपूर्ण कागजात पनि नियन्त्रणमा लिएको थियो।

करिब १ अर्ब रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा देवी प्रकाश भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बैंकका तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन र सञ्चालक कुसुम लामाको कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाका विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Read more news from Clickmandu

Explore by Source or Category