npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

आपतकालीन उपचार तालिम सुदृढ पार्न आपतकालीन किट वितरण

न्युज अफ नेपाल 7 hours ago

काठमाडौं ।

नेपालमा आपतकालीन उपचार सेवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक केयर सिकाई ल्याब किट वितरण प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले नर्वेको लेर्डल ग्लोबल हेल्थ बाट नौवटा आपतकालिन किट तथा दुईवटा लार्डल एएलएस बेबी टे«नर किट प्राप्त गरेको हो ।

प्राप्त किटहरू राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र (एचइओसी) तथा सातै प्रदेशका स्वास्थ्य तालिम केन्द्रहरूमा वितरण गरिने मन्त्रालयले जनाएको छ । यी किटहरूको प्रयोगबाट बेसिक आकस्मिक केयर तालिम तथा अस्पतालपूर्व आपतकालीन उपचार तालिमलाई थप प्रभावकारी, व्यावहारिक र गुणस्तरीय बनाउने लक्ष्य राखिएको छ ।
मन्त्रालयका अनुसार प्रारम्भिक परीक्षणका क्रममा ईसीसीएलएल किटहरू अत्यन्त सफल देखिएका छन् ।

यी किटमार्फत स्वास्थ्यकर्मीहरूले जीवन रक्षासम्बन्धी अत्यावश्यक सीपहरू—जस्तै प्राथमिक उपचार, श्वासप्रश्वास व्यवस्थापन, आकस्मिक अवस्था पहिचान तथा तत्काल हस्तक्षेप—व्यवहारिक अभ्यासका माध्यमबाट सिक्ने अवसर पाएका छन । यसले तालिमलाई सैद्धान्तिक ज्ञानमा सीमित नराखी वास्तविक आपतकालीन अवस्थासँग नजिक बनाउने अपेक्षा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो पहललाई दीगो र सुदृढ आपतकालीन उपचार प्रणाली निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ । विशेषगरी सडक दुर्घटना, प्राकृतिक प्रकोप, आकस्मिक रोग र अन्य विपद्का बेला तत्काल र प्रभावकारी उपचार सेवा उपलब्ध गराउन दक्ष जनशक्ति उत्पादनमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

किट वितरण कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महामहिम नर्वेका राजदूत ड्याइंने म्जस, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर बहादुर ढकाल, डब्लुएचओका निमित्त प्रतिनिधि डा. एलिशन गोकोतानो, लार्डल ग्लोबल हेल्थकी प्रमुख कार्यकारी अधिकृत क्यारोलिन म्याक्लुविस्ट लिंडे, स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा एचइओसी प्रमुख डा. प्रकाश बुढाथोकी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक श्रीमती यशोदा अर्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री डा. गौतमले सरकार आपतकालीन उपचार सेवाको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै सरकारी निकाय र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यले देशभर आपतकालीन उपचार तालिमको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

Read more news from News of Nepal

Explore by Source or Category