News of Nepal
निर्वाचनको पूर्वसन्ध्यामा कर्णाली पूर्ण तयारीमा: सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुग्यो
सर्खेत ।
प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारीस्वरूप कर्णाली प्रदेशका सबै मतदान स्थलमा कर्मचारीहरू पुगेका छन्।
प्रदेश निर्वाचन कार्यालयबाट सामग्री लिएर खटिएका कर्मचारी सोमबारसम्म आ–आफ्नो कार्यक्षेत्रमा पुगिसकेको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरूङले जानकारी दिए।

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा ९४१ मतदान स्थल र १ हजार ४३७ मतदान केन्द्र निर्धारण गरिएको छ। यहाँ कुल १० लाख ३७ हजार २५० मतदाता रहेका छन्।
निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीहरू ५१ प्रकारका निर्वाचन सामग्रीसहित सम्बन्धित स्थानमा पुगेका हुन्। आइतबार सामग्री रुजु प्रक्रिया पूरा गरिएको र सोमबार बिहानदेखि ती सामग्री बुझेर कर्मचारीहरू कार्यक्षेत्रतर्फ प्रस्थान गरेका थिए।

मतपत्र, मतपेटिका, स्वस्तिक छाप, स्ट्याम्प प्याड, रङ, डोरी, स्टेप्लर, लाहा, सिल गर्ने डोरीलगायतका आवश्यक सामग्रीसहित कर्मचारी तैनाथ भएसँगै कर्णालीमा निर्वाचनको अन्तिम तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ।