मधेसको मुख्यमन्त्रीमा रातारात एमालेका सरोज नियुक्त, प्रदेश प्रमुखले होटलमा शपथ ग्रहण गराइन्
जनकपुरधाम- मधेस प्रदेशको मुख्यमन्त्रीमा रातारात नेकपा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् ।
बिरामी परेको भन्दै मधेस भवनबाट बाहिरिएकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटलमा यादवलाई शपथ ग्रहण गराएकी हुन्।
यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त गरिएको हो। हिजो मात्र एमाले बाहेकका दलहरू नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार आह्वान गर्नका लागि प्रदेश प्रमुखकहाँ गएका थिए ।
प्रदेश प्रमुख भण्डारीले आफू छलफलमै रहेकाले दुई तीन दिन लाग्ने बताएकी थिइन् तर उनले रातारात यादवलाई नियुक्त गरेकी हुन्। पाँच दलको ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा गत असोज २९ गते नियुक्त भएका मुख्यमन्त्री जितेन्द्र प्रसाद सुनार (सुनल) विश्वासको मत पाउने अवस्था नदेखेपछि शनिबार प्रदेशसभामै राजीनामाका घोषणा गरेर प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए।
सोनलले मधेसका जनतासँग धोखा भएको भन्दै फेसबुकमा आपत्ति जनाएका हुन्। उनले स्वास्थ उपचारको नाममा निस्केकी मधेस प्रदेशका प्रदेश प्रमुख भन्डारी ले सिन्धुली र महोत्तरी को सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरेको लेखेका छन् ।