npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

तोरन्ल : पहिचान र परम्पराको संगम

मधुजंग पाण्डे 4 hours ago

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । हिमालदेखि तराईसम्म फैलिएको विविधताले यहाँका समुदायहरूलाई विशिष्ट पहिचान दिएको छ । त्यही विविधताभित्र आफ्नो अलग्गै संस्कृति, जीवनशैली र पर्व–परम्परा बोकेको एक महत्वपूर्ण समुदाय हो– थकाली ।

विशेषगरी मुस्ताङ जिल्लालाई ऐतिहासिक थातथलो मानिने थकाली समुदायले मनाउने प्रमुख चाडमध्ये ‘तोरन्ल’ पर्व उनीहरूको अत्यन्त महत्वपूर्ण सांस्कृतिक पर्व हो । यो पर्व धार्मिक अनुष्ठानमात्र नभएर सामाजिक एकता, पुर्खाप्रतिको श्रद्धा र सामूहिक पहिचानको उत्सवसमेत मानिएको छ ।

थकाली समुदाय मुख्यतः मुस्ताङको थाकखोला क्षेत्रसँग जोडिएको छ । इतिहासमा व्यापारिक दृष्टिले सक्रिय यो समुदायले हिमाली भेग र तिब्बतसँगको व्यापारमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । समयसँगै थकालीहरू देशका विभिन्न सहर जस्तै पोखरा, काठमाडौं र बुटवलतर्फ बसाइँ सरेका देखिन्छन् । तर, भौगोलिक दूरी बढे पनि सांस्कृतिक सम्बन्ध भने अझै बलियो छ ।

थकाली समुदायभित्र चार प्रमुख थर शेरचन, तुलाचन, भट्टचन र गौचन प्रचलित छन् । यी चार थरले सामाजिक संरचना, धार्मिक परम्परा र सामूहिक निर्णय प्रक्रियामा विशेष स्थान राख्छन् । तोरन्ल पर्वमा पनि यी चार थरको संयुक्त सहभागिता अनिवार्यजस्तै मानिँदै आएको छ ।

‘तोरन्ल’ शब्दको अर्थ’bout विभिन्न व्याख्या पाइन्छन् । स्थानीय भाषामा यसले पुर्खाको सम्झना, सुरक्षा र कल्याणको कामना गर्ने विशेष दिन जनाउँछ । तोरन्ल पर्वको मूल भावना भनेको आफ्ना दिवंगत पुर्खा (खिमी÷कुलदेवता)को पूजा गरी परिवार र समुदायको समृद्धि, स्वास्थ्य र शान्तिको कामना गर्नु हो ।

यस पर्वको ऐतिहासिक उत्पत्ति’bout लिखित प्रमाण सीमित भए पनि मौखिक परम्परामा आधारित कथाहरू भने प्रशस्तै पाइन्छन् । ती कथाअनुसार थकालीहरू कठिन भौगोलिक परिस्थितिमा जीवनयापन गर्दा प्राकृतिक प्रकोप, रोग र संकटबाट जोगिन पुर्खाको आशीर्वादको कामना गर्थे । त्यही अभ्यास क्रमशः व्यवस्थित पर्वका रूपमा विकसित भएको मानिन्छ ।

तोरन्ल कहिले र कसरी मनाइन्छ ?
तोरन्ल पर्व सामान्यतया वर्षको निश्चित समय समुदायले तय गरेको शुभदिनमा मनाइन्छ । स्थानअनुसार मिति फरक पर्न सक्छ । परम्परागत रूपमा यो पर्व थकालीहरूको कुल–देवस्थल वा सामूहिक पूजास्थलमा आयोजना गरिन्छ । पर्व सुरु हुनुअघि घरआँगन सफा गरिन्छ । पूजास्थल सजाइन्छ र परम्परागत सामग्रीहरू तयार पारिन्छन् । पूजाकार्य सामान्यतया समुदायका ज्येष्ठ व्यक्ति वा धार्मिक अगुवाले सञ्चालन गर्छन् ।

‘तोरन्ल’ शब्दको अर्थ’bout विभिन्न व्याख्या पाइन्छन् । स्थानीय भाषामा यसले पुर्खाको सम्झना, सुरक्षा र कल्याणको कामना गर्ने विशेष दिन जनाउँछ । तोरन्ल पर्वको मूल भावना भनेको आफ्ना दिवंगत पुर्खा (खिमी-कुलदेवता)को पूजा गरी परिवार र समुदायको समृद्धि, स्वास्थ्य र शान्तिको कामना गर्नु हो ।

पूजामा धूप, दीप, अन्न, मासु, रक्सी (स्थानीय रूपमा बनाइने रक्सी) र विभिन्न परिकार अर्पण गरिन्छ । यी सामग्री भौतिक अर्पण नभई कृतज्ञता र श्रद्धाको प्रतीक हुन् । पूजापश्चात् सहभागीले प्रसाद ग्रहण गर्छन् र सामूहिक भोज आयोजना गरिन्छ ।

तोरन्ल पर्वको मुख्य आधार पुर्खापूजा हो । थकाली समुदायमा ‘खिमी’ अर्थात् कुलदेवताको ठूलो महत्व छ । प्रत्येक थरको आ–आफ्ना खिमी हुन्छन् । तोरन्लको अवसरमा ती खिमीको विशेष पूजा गरिन्छ ।

यस पर्वले पुर्खाप्रतिको सम्मानअनुरुप स्वअस्तित्व जोगाएको छ । टाढा रहेका परिवारका सदस्य पनि पर्वमा घर फर्कने प्रयास गर्छन् भने समुदायबीचको मतभेद हटाई एकताको सन्देश प्रवाह गर्छ । यो नयाँ पुस्तालाई आफ्नो परम्परा सिकाउने अवसरसमेत हो । तोरन्लले केवल धार्मिक अनुष्ठानमात्र होइन, सामूहिक जिम्मेवारीको भावना पनि विकास गर्छ ।

तोरन्ल पर्वमा थकाली पुरुष र महिलाले परम्परागत पोशाक लगाउने चलन छ । महिलाले विशेष प्रकारको गहना, फेटा तथा आभूषण धारण गर्छन् भने पुरुषले परम्परागत टोपी र पोशाक लगाउँछन् ।

खानपानमा थकाली परिकारको विशेष स्थान हुन्छ । दालभातसँगै सुकुटी, मासुका परिकार, अचार र घरेलु रक्सी परम्परागत रूपमा तयार गरिन्छन् । थकाली खाना आज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत लोकप्रिय भइसकेको छ । तोरन्लमा पकाइने परिकार स्वादका लागिमात्रै नभई सांस्कृतिक अभिव्यक्ति पनि हुन् ।

त्यसो त, समय परिवर्तनसँगै तोरन्ल पर्व मनाउने शैलीमा पनि परिवर्तन आएको छ । सहरीकरण, शिक्षा र वैदेशिक रोजगारीका कारण धेरै थकाली युवा विदेशमा छन् । त्यसैले सबै सदस्यको उपस्थितिमा पर्व मनाउन कठिन हुन थालेको छ । तर सकारात्मक पक्ष पनि छ । विभिन्न सहरमा थकाली समाजले औपचारिक रूपमा तोरन्ल आयोजना गर्न थालेका छन् ।

थकाली सेवा समितिजस्ता संस्थाले सांस्कृतिक कार्यक्रम, सामूहिक पूजा र सांस्कृतिक प्रदर्शनीमार्फत परम्परा जीवित राख्ने र जोगाउने प्रयास गरिरहेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यमले पनि पर्वलाई प्रचारप्रसार गर्न सहयोग पु¥याएका छन् । यसले नयाँ पुस्तामा चासो बढाएको छ ।

मुस्ताङ क्षेत्र नेपालकै प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक हो । थाक खोला क्षेत्रको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र ऐतिहासिक महत्वले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्छन् । यदि तोरन्ल पर्व व्यवस्थित रूपमा सांस्कृतिक पर्यटनसँग जोड्न सकियो भने यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्छ । तर यसका लागि परम्पराको मौलिकता जोगाउँदै सन्तुलित प्रवद्र्धन आवश्यक हुन्छ ।

तोरन्ल पर्व थकाली समुदायको आत्मा र पहिचानसँग जोडिएको सांस्कृतिक धरोहर पनि हो । यसले पुर्खाप्रतिको श्रद्धा, सामाजिक एकता र सांस्कृतिक निरन्तरता सन्देश दिन्छ । आधुनिकताको प्रभावबीच पनि पर्वले मौलिकता कायम राख्नु समुदायको सामूहिक जिम्मेवारी हो । नेपालको बहुसांस्कृतिक पहिचान समृद्ध बनाउने यस्ता पर्वलाई संरक्षण र प्रवर्धन गर्नु थकाली समुदायको मात्र होइन, समग्र राष्ट्रकै कर्तव्य हो । तोरन्ल चाडभन्दा पनि इतिहास, विश्वास, सम्बन्ध र भविष्यप्रतिको प्रतिबद्धताको प्रतीक हो ।
(लेखकको यो निजी विचार हो)

The post तोरन्ल : पहिचान र परम्पराको संगम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category