राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
सुनसरीमा ट्रक दुर्घटना हुँदा मार्बलले किचिएर ५ मजदुरको मृत्यु
काठमाडौं । सुनसरीको भोक्रहा नरसिंहमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा परी ५ जना कामदारको घटनास्थलमै मृत्यु भएको छ । विराटनगरबाट मार्बल लोड गरी हुलाकी राजमार्ग हुँदै पश्चिमतातर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो ।
भोक्राह नरसिंह-८ स्थित फूलचोकमा भएको यस दुर्घटनामा मृत्यु हुनेहरू सबै ट्रकको पछाडि मार्बलमाथि सवार कामदारहरू रहेका छन् । ट्रक पल्टिएसँगै त्यसमा लोड गरिएको भारी मार्बलले थिचिएका कारण उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार दुर्घटनामा बर्जु-१ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो । विराटनगरबाट मार्बल लोड गरी हुलाकी राजमार्ग हुँदै पश्चिमतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रकको पछाडिको भागमा मार्बलसँगै सवार उनीहरूलाई सोही मार्बलले किचेको थियो । मार्बलको भारीले किचिएका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको समयमा उक्त ट्रकमा चालकसहित ९ जना सवार थिए । जसमा अगाडिको क्याबिनमा चालकसहित चार जना र पछाडिको डिक्कामा पाँच जना मजदुर रहेका थिए । पछाडि बसेका पाँचै जनाले ज्यान गुमाएका छन् भने क्याबिनमा सवार अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनालगत्तै ट्रकका चालक भने फरार भएका छन् ।
The post सुनसरीमा ट्रक दुर्घटना हुँदा मार्बलले किचिएर ५ मजदुरको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....