npl.977 Nepal News Stream

नेपालीपोष्ट logo नेपालीपोष्ट

योगको असली विश्व केन्द्र बन्दै नेपाल

 ठाकुरप्रसाद बराल/भर्जिनिया,अमेरिका 3 weeks ago


(१) परिचयः योग शव्दको उत्पत्ति र अर्थः

योग शव्द संस्कृत शव्द हो । यो शव्द युज् धातुमा घञ् प्रत्यय लगाएपछि निष्पन्न हुन्छ । युज् धातुको तीन अर्थ हुन्छ । समाधि, संयोग र संयमन । यद्यपि योग शव्द युज् धातुबाट बनेको हो, जसको व्युत्पत्तिलभ्य अर्थ समाधि नै हो । व्यासले भनेका छन् ‘योगः समाधिः’ अथवा योगको शाव्दिक अर्थ जोड्नु वा एक जुट हुनु हो अर्थात् जीव जगत्लाई ब्रह्माण्ड जगतसँग जोड्नु नै योग हो । पर्याय अर्थमा स्वयं आफूले आप्mनो शरीर र मनलाई ब्रह्मसँग जोड्नु वा चिन्नु योग हो ।
योगको प्रथम सूत्रमै भनिएको छ । ‘योगानुशासनम्’ त्यसैले योग भनेकै अनुशासन हो । अनुशासन विना योग हुनै सक्दैन । योग शव्दको प्रयोग सर्वप्रथम ऋग्वेदमा भएको पाइन्छ त्यसपछि विभिन्न उपनिषदहरु त्यसमा पनि कठोपनिषदमा पाइन्छ ।
पतञ्जली योग सूत्रमा लेखिएको छ ‘योगश्चित्तवृत्ति निरोधः’ चित्तलाई ईश्वर वा परमात्मामा एकाकार गर्नु नै योग हो अर्थात् चित्तलाई चञ्चल हुन नदिनु नै योगको काम हो । योग सूत्र ५मा भनिएको छ ‘वृतयः पञ्चतयः क्लिष्टा क्लिष्टाः’ योगले मनमा शान्ति ल्याउँछ । मनको शान्तिको लागि योग महत्वपूर्ण औषधी हो ।

(२) योगको व्यवस्थितीकरणः

योगका बारेमा श्रीमद् भागवत, भगवत् गीता आदि प्राचीन ग्रन्थमा प्रशस्त नै उल्लेख गरेको पाइन्छ । तापनि महर्षि पतञ्जलीलाई योगका व्यवस्थापक वा पहिलो गुरुका रुपमा चिनिन्छ । प्राचीन आयुर्वेद शिक्षा योग विना अपूरो मानिन्थ्यो । योग विना आयुर्वेदको कल्पना पनि गर्न सकिंदैन । धर्मग्रन्थहरुमा योेगका प्रथम गुरु देवादिदेव महादेव शिवजीलाई मान्दै उनलाई पहिलो योग गुरु भनेको पाइन्छ । आदि योगी महादेव वा शिवले देवी पार्वतीलाई योगको पहिलो शिक्षा दिएका थिए । यसपछि कृष्ण, महाविर र बुद्धले पनि यसलाई विस्तार गरेर लगे । जे भए पनि आदिदेव शिव नै योगका प्रथम गुरु मानिदैआएका छन् । महर्षि पतञ्जली ई पू २००तिर भारत वर्षमा जन्मेका थिए । उनका गुरु चर्चित सँस्कृत व्याकरणकार पाणिनी थिए ।
गीताका अनुसार योगको अर्थ ‘जीव र ब्रह्म वा जीवात्मालाई परमात्मासँग मिलन गर्नु  हो ।’ गीताले योगका विभिन्न शाखा बताएको छ । तिनमा राजयोग, कर्मयोग, भक्तियोग, ज्ञानयोग आदि । यद्यपि योगमा नादयोग तथा लययोग पनि चर्चित छन् । तर पनि हंश महापुरुषयोग सबैभन्दा शक्तिशाली योग मानिन्छ । भनिन्छ गीता वर्णित सांख्य योगबाट भगवान् बुद्ध पनि प्रभावित थिए ।
भारत वर्षमा योगको इतिहास लगभग ५००० वर्ष पुरानो हो । योगको प्रचार त अगस्त ऋषिले पनि गरेका हुन् तर पतञ्जली मात्र त्यस्तो मानव हुन् जसले योगलाई धर्म, आस्था, अन्धविश्वासबाट बाहिर निकालेर एउटा व्यवस्थित रुप दिएका थिए । योग हिमालय क्षेत्रको त्यस्तो अमूल्य सम्पत्ति हो जुन भारतमा मात्र नभएर एशिया, मध्यपूर्व,अमेरिका सहित साराका सारा विश्वका भागहरुमा फैलन गयो । सन् २०१२मा संयुक्तराष्ट्रसँघका १७७ सदस्यले जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरे । जुन २१ किन भन्ने सवाल उठ्न सक्छ किनकि जुन २१ वर्षको सबभन्दा लामो दिन भनेर मानिन्छ । योगले पनि मानिसको आयु बढाउँछ ।

(३) योगका आठ अंग के के हुन् ?

योगको मूल अर्थ चित्तमा आउने विकारहरुलाई भगाउनु हो ।  यसको मुख्य अभिष्ट भने वेग्लै छ । जसलाई समाधि भनिन्छ ।  स घा नो योगः आभूवत् स रराये स पुरध्याम् गमद् वाजेभिरा स नः अर्थात् ‘परमात्माको सान्निध्यबाट हामीलाई समाधि सिद्ध हुन्छ तथा ईश्वरको  कृपाबाट विवेक, ख्याति वा ऋृतम्भरा प्रज्ञा प्राप्ति हुन्छ । योगका कैयौं परिभाषामा गीतामा उल्लेखित ‘योग कर्मसु कौशलम् ।’ अथवा फलको इच्छा विना गरिने कर्मको कुशलता नै योग हो । पतञ्जली भन्नुहुन्छ,‘योगश्चित्तवृत्ति निरोधः’ अथवा मनका इच्छाहरुलाई सन्तुलन गर्नु नै योग हो । उनले योगका आठ नियम वा चरण बताएका छन् ती निम्न छन् ।

(क) यमः

यम भनेको सत्य र अहिंसाको पालन गर्नु हो (मन,वचन तथा कर्म कुनै पनि प्रकारले अरुको हिंसा गर्नु हुँदैन) चोरि नगर्नु, ब्रह्मचर्यको पालन गर्नु (यसमा पनि मन, वचन तथा कर्मले नै पालना गर्नुपर्दछ) र आवश्यकताभन्दा बढी  चिज वस्तुहरुको संग्रह नगर्नु हो (बढी बस्तुहरुको संग्रह गर्नु पनि एक प्रकारले चोरि नै हो) । योगीहरुले यो यमको प्रथम नियम पालन गर्नु पर्दछ ।

(ख) नियमः

नियममा ईश्वरको उपासना, स्वाध्याय, तप, सन्तोष, र शौच पर्दछन् । यम पछि उपासना,तप,सन्तोष र शौच पनि गनूृ पर्ने हुन्छ । शरीर शुद्धि विना मन शुद्ध हुँदैन मन शुद्ध नभई ध्यानमा पुग्न सकिंदैन भन्ने यसको आशय हो ।

(ग) आसनः

शरीरलाई स्थिर राखेर बस्दै सुखको अनुभूति गरिनु पर्दछ । शरीर चञ्चल भयो भने मन पनि चञ्चल हुन्छ त्यसैले मनलाई स्थिर राख्न शरीरलाई स्थिर राख्नु पर्दछ त्यसका लागि विभिन्न आसन प्रस्ताव गरिएको छ । जस्तो ः सिद्धासन, पद्मासन, शवासन आदि । आसनमा स्थिर रहन सकिएन भने मनलाई स्थिर राख्दै ध्यानमा जान सकिंदैन ।

(घ) प्राणायामः

शव्दबाटै बुझ्न सकिन्छ कि प्राणायाम अर्थात् प्राण र आयाम  दुई शव्दबाट यो शव्द बनेको छ । प्राण भन्नाले यहाँ श्वास प्रश्वास भन्ने बुझ्नु पर्दछ । श्वासको गतिलाई विस्तारै विस्तारै वशमा राख्नु नै प्राणायाम हो । योग प्रकृयामा थुप्रै प्राणायामहरु छन् । जस्तो कपालभाँति, अनुलोम विलोम, नाडी शोधन, भस्त्रिका आदि आदि यी सबै श्वास प्रश्वासलाई शरीर भित्र अक्सिजन लाने र भित्र भएका विकारलाई बाहिर फ्याल्ने कार्य नै प्राणायाम भित्र पर्दछ । यसमा वैज्ञानिकता पनि पाइन्छ । श्वास स्थिर गरेर लामो र गहिरो श्वासका माध्यमबाट पूरा शरीरदेखि मष्तिष्कसम्म नै अक्सिजन पुर्याएर स्वस्थ रहन सकिन्छ ।

(ङ) प्रत्याहारः

प्रत्याहार अन्तर्गत इन्द्रियहरुलाई बाहिरी विषयहरुबाट हटाएर आन्तरिक विषयमा लगाउनु कार्य पर्दछ अर्थात् बाहिर संसारका इच्छा चाहनाहरु सबैलाई शरीर वा मनबाट अलग गर्ने कार्य प्रत्याहार भित्र पर्दछ । मानिसका इच्छा, चाहना, लोभ, इष्र्या, लोभ, दम्भ तथा वासनाहरुले उसको मनलाई अशान्त बनाइरहेको हुन्छ त्यसबाट छुटकारा दिलाउनु प्रत्याहारको मुख्य लक्ष्य हो ।

(च) धारणाः

संसारका हरेक बस्तुहरुलाई समान ठान्नु मान्नु धारणा हो । जीवनमा सुख दुःख,पीडा,जन्म मृत्यु हुन्छन् ती सबै हाम्रा लागि समान हुन् अर्थात् संसारमा कोही शत्रु तथा मित्र छैनन् भन्ने भावना सिर्जना गर्नु सबै गर्नु धारण हो ।

(छ) ध्यानः

मनमा विभिन्न विचारहरु तथा कुविचारहरु आइरहन्छन् तिनलाई आउन जान दिने तर वास्ता नगरी विचारसून्यता तर्फ जाने प्रक्रिया अर्थात् मनको एकाग्रताको प्रकिया नै ध्यान हो ।

माथिल्ला सबै चरणहरुका मुख्य उद्देश्य भनेको समाधिमा पुग्नु हो । यस्तो अवस्थामा व्यक्ति आफूले न आफूलाई व्यक्ति देख्दछ न त अरुलाई देख्दछ । न उसको  नाकले सुँघ्न सक्दछ, न त आँखाले देख्न सक्तछ । न त कानले सुन्छ, न त छालाले नै स्पर्श गर्न सक्नेहुन्छ । व्यक्ति वा जीव छ तर उसमा रहेका इन्द्रियहरु सबैले काम गर्दैनन् । काम गर्दैनन् यसको मतलव मुटु,फोक्सो तथा अन्य कुनै इन्द्रियले काम गर्दैनन् त ? त्यसो पनि होइन । सबै भित्री अंगले काम त गरिरहेका हुन्छन् तर स्वयं व्यक्तिलाई महशुस हुँदैन । यस्तो अवस्थामा मानिसलाई आफू नै नभएको महशुस हुन्छ । तर सपनामा जस्तो होइन उ शून्यता तर्फ ब्रह्माण्डीय उर्जातर्फ उन्मुख भइरहेको हुन्छ । यो अवस्था समाधिको अवस्था हो । एक प्रकारले शून्यता जस्तो अर्काे प्रकारले आफ्नो ब्रह्माण्डीय उर्जामा लीन भएजस्तो भइरहेको हुन्छ । यो अवस्थालाई ओशोले यौन समागमको अवस्था भन्दा आनन्ददायी अवस्था भनेका छन् । साँच्चि नै जीवनमा एकपटक मात्र समाधि लाग्यो भने पनि तपाईं आफैलाई ओशोले भनेको कुरा पुष्टि भएको महशुस हुन्छ । तर यो सजिलो होइन भन्ने साथ हुने होइन यो तपाईंको निरन्तर अभ्यासमा भर पर्दछ । आँखा चिम्लेरमात्र हुँदैन । गहिराइमा पुग्नु पर्दछ । समाधि जुनसुकै वेला पनि लाग्न सक्तछ । समाधि शव्द संस्कृतको सम्, आ, धा, बाट बनेको हो । जसको अर्थ हुन्छ पूर्णरुपेन एक ठाउँमा स्थापित हुनु हो । समाधिका ३ तह हुन्छन् । सविकल्प, र्नििर्वकल्प र महासमाधि । यी अवस्था भनेको मन्त्रमा लीन हुने, कुनै विषयबस्तु दुवैबाट टाढा रहने र साधक पुनः शरीरमा नफर्कने अवस्था हुन्

(४) पश्चिममा योगको विकासः

योगको जन्मभूमि नेपालको पहाडी भूभाग तथा प्राचीन धार्मिक स्थलहरु नै हुन् । जस्तो पश्चिम नेपालका पाटनहरु, खप्तड लगायत ठाउँहरु, विचमा मुस्ताङ लगायत गण्डकी प्रदेशका देवस्थल गुफाहरु, कोशीका तटीय क्षेत्रहरु र पछि लुम्विनी लगायत क्षेत्रहरु ।

पश्चिमा विद्वान्हरुले ईशाको १७ शताव्दीमा योगका बारेमा लेख्न प्रारम्भ गरेको पाइन्छ । तर पनि १९६० र ७०को दशक भन्दा अगि पश्चिमीहरु योगको मूल धारमा प्रवेश गर्न सकेका थिएनन् । ७०को दशकमा वेलायती विद्वान् सर विलियम जोन्सले सर्वप्रथम भागवत गीता र अन्य हिन्दू धार्मिक पुस्तकको अनुवाद गरे यसैबाट पश्चिमी जगतमा योगले प्रवेश पायो । यस पछि अमेरिकी विद्वान् द्वय इमरसन र थोरोले  हिन्दू र वौद्ध कितावहरुको अनुवाद गरेको पाइन्छ ।  इ सं १८६३मा  विश्व धार्मिक संसदमा स्वामी विवेकानन्द र  सोयने साकु (जेन बुद्धिष्ट) ले  अमेरिकन श्रोताको ध्यान योग तर्फ आकर्षित गर्न सके । त्यहाँ योगी विवेकानन्दले राज योगका बारेमा  विशिष्ट वक्तव्य दिएका थिए । उनको यो सारगर्भित भाषण नै पश्चिमी जगतमा योगको आरम्भ विन्दु बन्न पुग्यो ।

यति भए पनि पश्चिमी समुदायमा योगले मूल धार पक्रन सकेको चाहिं १९६० र ७० तिर मात्र हो । केराउक र जिन्सवर्ग नै त्यस्ता व्यक्ति हुन् जसले पश्चिमी समुदायलाई भौतिकताबाट पूर्वीय अध्यात्मवाद तर्फ आकर्षित गरे । विटल्सहरुको १९६८मा ट्रान्सकेन्डल मेडिटेसन अध्ययन यात्रा पछि महर्षि  महेश  योगीले सामान्य र गैरधामर््िाक सन्देश दिएपछि योग पश्चिममा लोकप्रिय वन्न पुग्यो । योगलाई धर्मसँग गाँस्ने परम्परा पनि उनले तोडिदिए । स्वामी सच्चिदानन्द र चेग्याम थुङ्पा  रिङपोचेको यस दिसामा थप योगदान पुग्यो । योगको धर्मसँग जोड्ने पुरानो परम्परालाई यसपछि विस्तारै अगाडि बढाइयो ।

ई सं १९८०को दशकमा जोन कावाट जिनले १९७९मा एवीआरएस प्रोग्राम मासाच्युट्स युनिभर्सिटी मेडिकल स्कूलमा शुरु गरेपछि यसलाई मानसिक पीडा, दुःख र विमारको उपचार प्रणालीका रुपमा हेर्ने प्रक्रिया शुरु भयो ।

वैज्ञानिक रुपमा  सन् १९९०देखि आजसम्म  वैज्ञानिकहरुले योगलाई न्युरोलीजकल टर्मका रुपमा हेर्न थाले । यी अनुसन्धानले योगलाई दिमागी तनावलाई व्यवस्थित गर्ने, भावनात्मक संवेग नियन्त्रणको उपायका रुपमा हेर्ने प्रकृयाको थालनी गरेर यसलाई वैज्ञानिकरुपमा नै पुष्टि गरे  । न्युरो साइन्स रिसर्चले एफएमआरआई  स्क्यानबाट नै यसको पुष्टि गरेपछि योग तनाव व्यवस्थापनको मुख्य औषधिका रुपमा आजपनि हेर्न गरिन्छ र विश्व स्वास्थ्य संगठनले योग दिवस भनेर नै जुन २१लाई घोषणा गरि दिएपछि योग वैज्ञानिक रुपमा लाभदायी ठहरियो ।

(५) नेपाल योगको हवरुपमा विकास हुँदैः

यसैवर्ष वेलायतको डिव्रे विश्वविद्यालयले नेपाललाई संसारमै सबैभन्दा प्रकृति प्रेमीहरुको मुलुक भनेर अनुसन्धानमा देखाएको कुरा प्रचारमा आएपछि नेपालीहरु अहिले आफ्नो मुलुकको गरिमा उच्च रहेको मान्दै हौसिएका छन् । त्यसो त केही वर्षदेखि नेपाललाई योगको हव बनाउन सकिन्छ भनेर विभिन्न व्यक्ति तथा धार्मिक समुदायहरु योगको पछि लागेको पाइन्छ । यस अगिसम्म नेपालमा भारतीय साधुहरुको योग प्रशिक्षकका रुपमा विगविगी भए पनि रामदेवलाई पछि पार्दै नेपालमै योगीहरुको विगविगी शुरु भएको छ ।

यस अगि नेपालको योगसम्वन्धी विकास पनि हेरौं ।
प्राचीन समयमा नेपालमा जबसम्म बौद्ध धर्म तथा हिन्दू धर्मको नेपालमा प्रवेश भएको थिएन त्यसवेला यहाँ धामी भाँक्रीहरुले  भूतप्रेत वा आत्मासँग कुराकानी गर्ने रुपमा योगलाई विकास गरेका थिए । उनीहरुले अहिले भनिने हिलिंगको अभ्यास पनि गर्दथे । उनीहरुले मान्छे र प्राकृतिक संसारवीच एक अर्कामा कुराकानी आदान प्रदान गराउँथे । जंगल र गुफाहरुमा साधुहरु आएर बस्ने गर्दथे । बुद्धको  आगमन पछि  विपश्यना अभ्यास हुन थाल्यो र धामी झाँक्रीहरुको ध्यान योग पनि क्रमश बढ्दै गयो ।
किराँत तथा लिछवी कालमा हिन्दू र संस्कृत योगका प्रयाश हुँदैगए । आठौं शताव्दीमा आएर वल्ल तान्त्रिक तथा वज्रायन योगको सुरु भयो । वज्रयानीहरुले अं मनि पद्मे हुँ मन्त्र उच्चारणमा ध्यान दिन थाले । यहाँ नाडी, प्राण, विन्दु र तम्मु आन्तरिक तापलाई हेर्न सकाइयो । ११औ शताव्दीमा बुद्धिस्ट तिव्वतीयनहरुले हिमालयलाई  तिव्वतीयन बुद्धिस्ट योगको हव बनाउन थाले ।

२०सौं शताव्दीमा जब हिप्पीहरुको नेपालमा आगमन भयो तव बुद्धिस्ट योगमा पनि थेरवादले प्रभाव जमाउन थाल्यो । यतिवेला श्रीलंका र वर्माबाट आएका बुद्धिस्टहरुले योगमा थेरवादी योगको प्रवेश गराएका थिए । जुन  सामान्यीकरण गरिएको थियो ।

सन् १९६० र ७०को दशकमा हिप्पी तथा पश्चिमेली खोजकर्ताहरुले आत्मिक योगको खोज गरेपछि योगमा नयाँ खोज शुरु भयो । चोग्यांग थु्रुंग्पा चिम्पोचे  र पछि १४धौ दलाइलामाले पश्चिममा योगलाई विस्तार गरे । जो हिमालयका गुुफाहरुमा सिकाइन्थ्यो हाल एस एन गोयन्काले शुरु गरेको बुढानिलकन्ठको दश दिने निःशुल्क कोर्षमा पश्चिमीहरु प्रायः जाने गर्दछन् । जसलाई विपश्यना योग भनिन्छ । योगी आनन्दले वालाजु पश्चिमको जंगलमा तपोवनको स्थापना गरेर ओशो योगको व्यापक विस्तार गरे उनले नेपाललाई योगको हव बनाउन ठूलो योगदान गरे । त्यसैगरी योगका क्षेत्रमा योगी विकासानन्दको पनि उत्तिकै योगदान रहेकोछ उनले योगमा हाँस्ने पद्धति शुरु गरेर हास्न नसकेर निराशामा भएका मानिसमा हास्य प्राण नै भर्ने परम्परा बसालेका छन् । उनको अभियानको नाम नै मनोक्रान्ति राखेर मनमा पीडा भएकाहरुलाई शान्ति प्रदान गर्ने कार्यमा निक्कै उदाहरणीय काम गरेका छन् ।

आजकाल टुरिस्टहरुलाई ध्यान दिैंदै पोखरा तथा काठमाण्डौंका विभिन्न ठाउँमा विभिन्न प्रकारका अभ्यासहरु भइरहेका छन् । जसमा धार्मिकभन्दा धर्मसँग नजोडि गरिने योग अध्यासहरु निक्कै लोकप्रिय भएका छन् । यो एउटा पर्यटन उद्योग जस्तो बनेको छ । यद्यपि भानु शर्मा समेतले जीवन विज्ञान नामक संस्था खोलेर योग प्रशिक्षकहरु समेत उत्पादन गरी योगलाई व्यवसायिकता तर्फ लगेको भान हुन गएको छ ।

योगलाई विभिन्न प्रयोग गरी स्वास्थ्यका लागि अनिवार्य हो भन्ने वैज्ञानिक रुपमा नै पुष्टि गर्न सकिएन भने योगिहरुको प्रापोगाण्डाका रुपमा फेरि पनि पण्डाहरुको ठगि खाने भाँडोका रुपमा चित्रित हुन सक्ने समेत कुरालाई मध्यनजर गरी योगको नेपालमा भइरहेको विकासलाई हेरियो भने नेपाल अहिले योगको जीवित प्रयोगशालाका रुपमा दिनहूँ विकास भइरहेको प्रमाणित हुन सक्छ । योगलाई धार्मिक प्रचारवाजी भन्दा स्वास्थ्यसँग जोड्न वैज्ञानिक प्रयोग गरिनु अत्यन्तै आवश्यक छ र यसलाई प्रयोगशालाबाट नै प्रमाणित गर्न सकेमात्र वास्तवमै योगको महत्व बढेर जान्छ । अझ ध्यानभन्दा नागरिकहरुलाइृ ध्यानभन्दा माथि लान सक्ने गुरुको आवश्यकता देखिन्छ नत्र योगलाई अल्छीहरुको शास्त्रका रुपमा विकास गरेको मानिन्छ । साथै योगलाई हाम्रो प्राचीन खेतीपाती र उव्जासँग पनि जोडिनु पर्दछ जसले नागरिकको आर्थिक प्रगति पनि होस् । खेतीपातीमा ध्यान दिनु पनि योगको एउटा पाटो हुँदै हो ।

(६) निष्कर्षः

योगलाई अहिले नै व्यापारको रुपमा लगियो भने मानिसहरुले पक्कै पनि ठगिको आरोप लाउने छन् किनकि अहिलेसम्म वैज्ञानिक अनुसन्धानले प्रचार गरे झैं सबै रोगहरु निको भै हाल्ने वैज्ञानिक प्रमाणित भइनसकेको अवस्था छ । सामान्य मानसिक तनाव बाहेक ठूला ठूला रोग निधान योगबाट हुन सक्ने ग्यारेन्टी गर्न सकिन्न । तर पनि नियमित शारीरिक व्यायाम गर्दा शरीरलाई निश्चय नै फाइदा त पुग्छ तर जेसुकै शारीरिक अभ्यास गर्दैमा रोग चट्ट निको भइहाल्दैनन्  । त्यसैले प्रशिक्षक तथा गुरुहरुले गोयवल्स शैलीमा जे रोग पनि निको हुन्छ भनेर हल्ला गरेर भिड बटुल्नुभन्दा प्रयोगबाट पुष्टि भएपछि मात्र त्यस्ता सल्लाह दिन सके दीर्घकालीन रुपमा योग जगतलाई फाइदा हुन्छ र हाललाई योगलाई शिक्षकहरु पैसा आर्जन होइन पूर्ण रुपमा सेवाभावमा तल्लीन हुन सके उपयुक्त हुनेथियो र भविष्यमा नेपालमा योग पर्यटन फस्टाउने थियो । काचै खाउँ जलिमरौं नभनिदिए हुन्थ्यो । योग सिक्न चाहनेहरुलाई गुरुहरुले बारी बाझै राखेर विहानभर प्रयोगशालामा उफ्रने र दिनभरि सुत्ने प्रकारको शिक्षा नभएर बरु खेती बारीमा गएर एक घण्टा काम गरेर मात्र प्रयोगशालामा आउनु भन्ने सन्देश दिनु भयो भने योगको वास्तविक मूल्य थाहा हुने थियो ।

Read more news from नेपालीपोष्ट

Explore by Source or Category