राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
दल र उम्मेदवारका प्रचार सामग्री हटाउन अनुरोध
काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।
बोर्डले आज सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले प्रदान गरेका विज्ञापनबाहेकका अन्य विज्ञापन राति १२ः०० बजेदेखि हटाउन आग्रह गरेको हो ।
बोर्डले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालमा दल तथा उम्मेदवारको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न पनि अनुरोध गरेको छ । निर्वाचन आचारसंहिताविपरीत दल तथा उम्मेदवारको प्रचारप्रसार गरिएको पाइएमा कानुनबमोजिम कारबाही हुने बोर्डले जनाएको छ ।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डेद्वारा जारी सूचनामा भनिएको छ, “मौनअवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने भएकाले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न नगराउन अनुरोध गरिन्छ ।”
The post दल र उम्मेदवारका प्रचार सामग्री हटाउन अनुरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....