Clickmandu
निजी क्षेत्रको मनोबल बढाउन सुरक्षा र प्रवर्द्धनको योजना बनाउँदै महासंघ, सरकारले स्वीकृत गर्नुपर्ने

काठमाडौं । निजी क्षेत्रको मनोवल बढाउने गरी काम गर्न नेपाल उद्योग वाणिज्य महासंघले नयाँ योजना अगाडि सारेको छ । निजी क्षेत्रको लगानीको प्रोत्साहन गरेर मात्रै अर्थतन्त्रको दीर्घकालीन विकास गर्न सकिने भन्दै ‘निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनको योजना’ तयार पारिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
उनले भने ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान’को ड्राफ्ट तयार भएको छ । निजी क्षेत्रको पछिल्लो अवस्था झल्कने यो प्रतिवेदन सरकारलाई बुझाउने तयारी महासंघले गरिरहेको छ । यसलाई मन्त्रिपरिषदबाटै स्वीकृत गराएर लागू गर्न सकियो भने अर्थतन्त्रको विकासमा ठूलो योगदान पुग्ने भनाइ महासंघ अध्यक्ष ढकालको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यत्रलाई सम्बोधन गर्दै ढकालले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने पहलकदमी महासंघले लिएको र सोही अनुसारको प्रतिवेदन बनाइरहेको पनि बताए ।
ढकालले भने ‘सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा गर्नुपर्छ । रोजगारी सिर्जना गरेर अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने निजी क्षेत्रलाई वारम्बार आक्रमण गर्नु राम्रो होइन् । यो विषयमा सरकारलाई निजी क्षेत्रले जानकारी गराइसकेको छ ।’
निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने र सुरक्षा दिने काम सरकारले गर्यो भने मनोबल बढाएर काम गर्न आफूहरुलाई सहज हुने धारणा पनि ढकालले राखे ।
ढकालले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको आक्रामण र तोडफोडले व्यवसायलाई त्रसित गरेको उनले बताए । निजी क्षेत्रलाई थप लगानी विस्तार गरेर अगाडि बढ्न यो क्षेत्रको सम्पत्तिको रक्षासहित सुरक्षाको प्रत्याभूति हुनुपर्छ । यसैका लागि प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोसन प्लान’ बनाएको पनि महासंघ अध्यक्ष ढकालले जानकारी दिए ।
जेनजी आन्दोलपछि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नै फरक भएकोले सबैभन्दा पहिले जनताको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक भएको पनि उनले धारणा राखे ।