राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
अपराध बढाएको ठहर सहित हरियाणामा ६७ गीतमाथि प्रतिबन्ध
नयाँ दिल्ली । भारतको हरियाणा राज्यमा गीत संगीतले विकृति ल्याउँदै हिंसा बढाएको दाबी सहित प्रहरीले ६७ वटा गीतमाथि प्रतिबन्ध लगाएको छ । केही समय यताबाट भारतको हरियाणामा पन्जाबी संस्कृति र गीत संगीतलाई नै विथोल्ने गरी हिंसा भड्काउने तथा अश्लील भावका गीतहरू निकाल्ने क्रम मौलाएको थियो । यस्ता गीतहरूले सामाजिक सञ्जालमा चाँडै भ्युज पाउनुका साथै राम्रो पैसा आर्जन हुने भएपछि हिंसा भड्काउने तथा अश्लील भावका गीतहरू बढेको प्रहरीको दाबी छ ।
गीत संगीतको प्रेरणाकै कारण बढ्दो गुन्डा संस्कृति र आजका युवाहरूमा हतियारको प्रयोग बढ्दै गएपछि आफूहरू यस्ता गीत संगीत विरुद्ध कडा कारबाहीमा उत्रनु परेको हरियाणा प्रहरीले बुधबार भारतीय सञ्चारकर्मीलाई जनाएको छ । आफूहरूले सामाजिक सञ्जाल र संगीत प्लेटफर्महरूबाट हिंसा, बन्दुक संस्कृति र अपराधलाई बढावा दिने ६७ गीतहरू हटाएको प्रहरीले जनाएको छ । प्रहरीको यो कदमबाट पन्जाबी मौलिक गीत संगीतका स्रष्टाहरू खुसी भएका छन् ।
हरियाणा प्रहरी महानिर्देशक (डीजीपी) अजय सिंघलले यो कारबाही सुरुवात मात्र भएको बताएका छन् । भविष्यमा यस्ता सामग्रीहरू विरुद्ध थप कडा कारबाही गरिने चेतावनी उनले दिएका छन् । बुधवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै डीजीपी सिंघलले समाज र युवाहरूको भविष्यमा असर पार्ने यस्ता गीत संगीतमाथि कुनै सम्झौता नहुने स्पष्ट पारे ।
सिंघलका अनुसार प्रहरी अनुसन्धानले धेरै गीतहरूमा गुन्डाहरूलाई नायकको रूपमा चित्रण गरिएको थियो । जसमा अपराधको जीवनलाई ग्ल्यामराइज गरिएको भन्दै समाजबाट यस्ता गीतहरूको व्यापक विरोध भइरहेको थियो । यसले युवाहरूमा नकारात्मक प्रभाव पारिरहेको थियो र धेरैलाई अपराधतर्फ आकर्षित गरिरहेको थियो । यसलाई नियन्त्रण गर्न हरियाणा प्रहरीको विशेष कार्यदल (एसटीएफ) र साइबर युनिटले संयुक्त रूपमा डिजिटल प्लेटफर्महरूको कडा निगरानी सुरु गरेको सिंघलले बताए ।
एसटीएफ र साइबर युनिटद्वारा संयुक्त अपरेसन गर्दा अनुसन्धानको क्रममा यस्ता धेरै गीतहरू भेटिए । जसले खुलेआम हतियारको महिमा गरेको थियो । यस्ता गीत संगीतले हिंसालाई सामान्य बनाउँदै गुन्डा जीवनशैलीलाई विलासी र शक्तिशालीको रूपमा चित्रण गरिरहेको थियो । यसपछि, प्रहरीले सम्बन्धित प्लेटफर्महरूसँग सम्पर्क गरेर यस्ता हिंसा बढाउने ६७ वटा आपत्तिजनक गीतहरू हटाउनुका साथै ब्लक गरेको हो ।
सो कारबाही पछि आयोजित पत्रकार सम्मेलनमा डीजीपी अजय सिंघलले भने, ‘यस्ता गीतहरूले अपराधीहरूलाई आदर्शको रूपमा चित्रण गर्छन्, जबकि वास्तविकतामा, अपराधले विनाश र पीडा मात्र निम्त्याउँछ । अपराधको मूल्य अपराधीहरूले मात्र नभई तिनीहरूका परिवारहरूले पनि चुकाउँछन् ।’
गीत संगीतले विगतमा धेरै आपराधिक कार्यलाई प्रोत्साहन गरेको उदाहरण दिँदै डीजीपी सिंघलले पत्रकार भेटघाटका क्रममा भने, ‘अबका दिनमा हरियाणाका कुनै पनि प्लेटफर्मले अपराध संस्कृतिलाई प्रवद्र्धन गर्ने सामग्री होस्ट गर्ने छैन । यदि यस्तो काम गरेमा हामी सम्बन्धित कलाकार, प्लेटफर्म र निर्माता सबैलाई कानुनी कारबाही गर्ने छौँ ।’
The post अपराध बढाएको ठहर सहित हरियाणामा ६७ गीतमाथि प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....