कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले माघे संक्रान्तीको पावन अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो । भरतपुर अस्पताल र बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका थिए ।
कार्यक्रमको मुख्य उद्घेश्य समुदायमा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउन, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्न रहेको थियो ।
सहभागीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरु बी. पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अनिल बाबु रेग्मी, भरतपुर अस्पतालका डा.इन्द्र पण्डित र डा. सुशान्त लामिछानेले प्रदान गरेका थिए ।
नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले यस्ता स्वास्थ्य शिविरहरुले समुदायको स्वास्थ्य स्तर सुधार गर्न र स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिने बताए ।
कार्यक्रमप्रति स्थानीय समुदायले सकरात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।