npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा रोक्यो

Tourism Face 1 hour ago

 काठमाडौं । अमेरिकाले आफ्नो आप्रवासन नीतिमा थप कडाइ गर्दै नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयको यो कदमलाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिको निरन्तरताका रूपमा हेरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रभावित देशका केही आप्रवासीहरू भविष्यमा सार्वजनिक सहायता कार्यक्रममा निर्भर हुन सक्ने जोखिम देखिएकाले भिसा प्रक्रिया रोकिने निर्णय गरिएको हो। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको मन्त्रालयले विश्वभरका कन्सुलर कार्यालयहरूलाई ती देशबाट आउने आप्रवासी भिसा आवेदन तत्काल अघि नबढाउन निर्देशन दिएको छ।

यो निर्णय गत नोभेम्बरमा जारी गरिएको आदेशको विस्तार हो, जसले अमेरिकाको सामाजिक सुरक्षा प्रणालीमाथि आर्थिक भार पर्न सक्ने सम्भावनालाई आधार मानेर आप्रवासन मापदण्ड कडा बनाएको थियो। यसअघि पनि ट्रम्प प्रशासनले करिब ४० देशमाथि यात्रा तथा अध्यागमनसम्बन्धी प्रतिबन्ध लगाइसकेको छ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी करदाताको स्रोत दुरुपयोग हुने अवस्थालाई अन्त्य गर्न अध्यागमन प्रणालीको पुनरावलोकन आवश्यक छ। सो प्रक्रिया पूरा नभएसम्म यी देशका नागरिकका लागि आप्रवासी भिसा स्थगित गरिनेछ।”

गैर–आप्रवासी भिसामा पनि कडा परीक्षण

यद्यपि यो स्थगन पर्यटक, व्यवसायिक वा छोटो अवधिका गैर–आप्रवासी भिसामा प्रत्यक्ष लागू नहुने जनाइएको छ। तर यस्ता भिसा आवेदकहरूलाई पनि सार्वजनिक सुविधामा निर्भर हुन सक्ने सम्भावनाबारे थप कडाइका साथ मूल्याङ्कन गरिनेछ।

सबै अमेरिकी दूतावास र कन्सुलर कार्यालयलाई पठाइएको आन्तरिक सूचनामा आवेदकको आर्थिक अवस्था, पेशा, शिक्षा, सीप, स्वास्थ्य र पारिवारिक पृष्ठभूमिको गहिरो अध्ययन गर्न निर्देशन दिइएको छ। आवश्यक परे अङ्ग्रेजी भाषामा अन्तर्वार्ता लिएर आवेदकको आत्मनिर्भर क्षमताको मूल्याङ्कन गरिने उल्लेख छ।

नेपाली आवेदकमा अनिश्चितता

नेपाल पनि सूचीमा परेपछि अमेरिकी स्थायी बसोबासको तयारीमा रहेका धेरै नेपालीमा अन्योल बढेको छ। विशेषगरी परिवार पुनर्मिलन, रोजगार र दीर्घकालीन बसोबासका लागि आवेदन दिएकाहरू प्रत्यक्ष प्रभावित हुने देखिन्छ।

अमेरिकाले आगामी वर्षहरूमा विश्वकप फुटबल (२०२६) र ओलम्पिक (२०२८) आयोजना गर्ने भएकाले गैर–आप्रवासी भिसाको माग भने तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ। तर स्थायी बसोबास चाहनेहरूका लागि अमेरिकाको ढोका कहिलेसम्म बन्द रहने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।

The post अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा रोक्यो first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category