देशभरका कांग्रेस उम्मेदवार जिताउन पूर्णबहादुर खड्काको अपिल
काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन र कांग्रेसलाई जिताउन अपिल गरेका छन् ।
उम्मेदवार मनोनयनको दिन आफू यसपटक उम्मेदवार नबन्ने भनेर रुखको टिकट लिएर आएका सबै उम्मेदवारलाई जिताउन आग्रह गरेका खड्काले आइतबार कांग्रेसलाई जिताउन फेरि अपिल गरेका हुन् । उनी यसपटकको निर्वाचनमा कांग्रेस र पार्टीका उम्मेदवारलाई मत माग्न कहीँकतै देखिएका छैनन् । कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले नैतिक रूपमा कुन स्टाटसका आधारमा मत माग्ने भनेर उनी निवासमै बसेका छन् । सुर्खेत १ मा कांग्रेसले खड्काका भाइ विष्णुकुमारलाई उम्मेदवार बनाएको छ ।
‘फागुन २१ गते प्रतिनिधि सभाको २७५ सिटको लागि निर्वाचन हुँदैछ। उक्त निर्वाचन शान्तिपूर्ण र निस्पक्ष सम्पन्न हुनु पर्दछ । फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका दुबै मतपत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमुल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइदिनु हुन हृदयदेखि नै हार्दिक बिनम्र अनुरोध गर्दछु,’ उनको सन्देशमा भनिएको छ ।
निर्वाचनको चटारो चलिरहेका बेला कांग्रेसका प्रभावशाली भनिएका नेताहरूको मौनतामाथि पार्टीभित्रै प्रश्न उठाउन थालिएको छ। यहीबेला खड्काको अपिल सार्वजनिक भएको हो ।