News of Nepal
‘आफ्ना’लाई ल्याउन खोज्दा ४ सहसचिव कामविहीन
–१६ दिनदेखि बोर्डमा धाउँदा धाउँदै सहसचिव हैरान
–शिक्षा सचिवको निर्देशन सदस्य सचिवले मानेनन्
भक्तपुर ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका कारण चार सहसचिवको पदस्थापना रोकिएको छ । १४ वर्षपछि बल्ल सहसचिवमा बढुवा भएका सहसचिव राष्ट्रिय परीक्षा बोर्डको मुख्यालय धाउँदै हैरान भएका छन् ।
सदस्यसचिव अर्यालले प्रशासन महाशाखामा आफ्नो मान्छेलाई पदस्थापन गर्न नपाएको झोंकमा सबै सहसचिवपाई पेन्डुलम बनाउनुभएको छ । रमाकान्त तिवारी, जयन्ती सत्याल, कृष्णप्रसाद शर्मा र भाष्करदत्त पन्त पुस १४ गते सहसचिवमा बढुवा भई सबैले पुस १५ मा पत्र बुझेका थिए ।
‘बोर्डका उपाध्यक्ष एवं शिक्षासचिव चूडामणि पौडेलले बढुवा भएका सहसचिवलाई पदस्थापना गर्न निर्देशन दिएको १० दिन नाघिसकेको छ । सदस्य सचिव अर्यालले भोलि पत्र बनाएर ल्याउँछु भनेर पटकपटक भन्नुभएको तर हालसम्म पदस्थापन नगरेको स्रोतले बताएको छ । एक–दुई दिनको कार्यक्रमका लागि पोखरा पुगेका सदस्य सचिवअर्याल ४ दिन उतै हुनुहन्छ । उहाँकै कारण सबैको पदस्थापना रोकिएको छ । मन्त्रालयस्रोतका अनुसार सचिव एवं बोर्डका उपाध्यक्ष पौडेलले पटकपटक निर्देशन दिँदा पनि सदस्यसचिव अर्यालले अटेर गर्नुभएको छ । उहाँले अहिले पनि आफूनिकटलाई प्रशासन महाशाखा बनाउन जोडबल गरिरहनुभएको छ ।
स्रोतमाअनुसार अर्यालले सहसचिव रमाकान्त तिवारीलाई प्रशासन महाशाखाको जिम्मेवारी दिन खोज्नुभएको छ । उपाध्यक्ष पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरी तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले नसिहत दिएका तिवारीलाई प्रशासन महाशाखाजस्तो जिम्मेवार निकायमा नराख्न निर्देशन दिनुभएको थियो ।
‘सहसचिव तिवारीका कारण अन्य महाशाखामा पनि नियुक्ति हुन सकेको छैन, बोर्डका उपाध्यक्षले निर्देशन दिँदा पनि सदस्यसचिव अर्यालले अटेर गरिरहनुभएको छ’ –बोर्डका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने । यस विषयमा जानकारी लिन सदस्यसचिव अर्याललाई पटकपटक मोबाइल गर्दा सम्पर्कमा आउन चाहनुभएन ।
तिवारीलाई उत्तरपुस्तिकामा अनियमितता गरेको प्रमाणित भएपछि २०६९ साउन १४ गते तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले नसिहत दिएको थियो । परिषद्ले २०६७ सालमा सञ्चालित कक्षा ११ र १२ को परीक्षाका लागि छपाइएका उत्तरपुस्तिकामा अनियमितता गरेको उजुरी परेको थियो । छपाइ भइआएका उत्तरपुस्तिकाहरूको गुणस्तर परीक्षण, गणना तथा उचित भण्डारणका साथै वितरणको मुख्य जिम्मेवारी तिवारीले पाउनुभएको थियो । उहाँले छपाइ भइआएका उत्तरपुस्तिकाहरू गणना नै नगरी भरपाई गरी बुझिलिनुभएको थियो । तत्कालीन सदस्य सचिव भीमलाल गुरुङको कार्यकालमा तिवारीलाई नसिहतको पत्र दिएको थियो ।
बोर्डका उपाध्यक्ष पौडेलले नसिहत दिएका कर्मचारीलाई प्रशासन महाशाखा प्रमुख नबनाउन आग्रह गर्नुभएको थियो । तर, सदस्य सचिव अर्यालले सिनियर भएको आधारमा तिवारीलाई नै प्रशासन महाशाखाको जिम्मेवारी दिनुपर्ने अडान दोहो¥याउनुभएको छ । ‘पत्र हस्ताक्षर गर्न बोर्डबाट पटकपटक मन्त्रालय जानुहुन्छ, त्यहीँ सिनियारिटीको कुरा गर्दै फर्कने गर्नुभएको छ’ –स्रोतले भन्यो ।
‘बोर्डमा प्रशासन, योजना तथा अनुगमन, परीक्षा नियन्त्रण र अनुसन्धान तथा शासकीय सुधार गरी चार महाशाखा छन् । सबै महाशाखा उत्तिकै महत्वपूर्ण छ, सदस्यसचिव अर्याललाई किन प्रशासनमै बढी चासो बढिरहेको छ ? अचम्म भएको छ’ –बोर्डका एक कर्मचारीले भने । सदस्य सचिव अर्यालकै कारण चार महाशाखाबाट हुने सबै काम ठप्प छ । बोर्डमा ४ महाशाखा छन्, सबै खाली छ कहिले पदस्थापना हुने थाहै छैन ।
तिवारीलाई प्रशासन महाशाखाको जिम्मेवारी दिने तयारी गरिरहँदा आयोगमा अर्को उजुरी परेको छ । बोर्डले चार महाशाखाबाहेक महत्वपूर्ण मानिएको वागमती प्रदेश कार्यालय (काठमाडौं) कार्यालयमा समेत सहसचिवको पदस्थापन गर्नुपर्नेछ । ‘जसलाई जुन महाशाखामा पदस्थापन गरे पनि हुन्छ नि ? किन एउटा महाशाखाको कारण सबै सहसचिवलाई बरण्डामा बास बसाएको होला ?’ –कर्मचारीहरूको आरोप छ ।
कक्षा १० र १२ को परीक्षाको मिति आउनै लाग्दा सहसचिवको पदस्थापन नगरी बस्नु समस्या देखिएको छ । उपाध्यक्ष एवं शिक्षा सचिवले समेत पटकपटक सहजीकरण गरी निर्देशन दिँदासमेत सदस्य सचिवले अटेर गर्नुले बोर्डमा हल्लीखल्ली मच्चिएको छ । कर्मचारीले भन्ने गरेका छन्– ‘शिक्षा सचिवको निर्देशनसमेत नमान्ने सदस्य सचिवले कसको निर्देशन कुर्नुभएको होला ?’