Clickmandu
व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो, लघुवित्तको धितो कर्जा पनि १५ लाखसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाउने भएको हो ।
व्यक्तिगत ओभरड्राफ्टको सीमा ५० लाख रुपैयाँसम्म रहेकोमा त्यसलाई बढाएर १ करोड रुपैयाँ बनाउने मौद्रिक नीति समीक्षामा उल्लेख छ । यस्तै लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा पनि बढाइएको छ । हाल ७ लाख रुपैयाँसम्म रहेको यस्तो सीमा वृद्धि गरी १५ लाख रुपैयाँ पुर्याउने भएको हो ।
यस्तै लघुवित्तबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था गर्ने घोषणा मौद्रिक नीति समीक्षाले गरेको छ ।