npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

होटलमा शपथ ग्रहण गरेका मुख्यमन्त्री यादवले गरे मन्त्रिपरिषद् विस्तार

राजा झा 3 weeks ago

जनकपुरधाम- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका यादवले १/१ जना प्रदेशसभा सदस्य भएका राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्य तथा एमालेकै एक प्रदेशसभा सदस्यलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री यादवले एमालेका लखन दास तत्मा, राप्रपाकी कञ्चन विच्छा र नेपाल संघीय समाजवादी पार्टीकी बिमला अंसारी तरन्नुमलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ वटै मन्त्रालय अहिले मुख्यमन्त्री यादवले आफ्नै मातहत राखेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले नेपालको संविधानको धारा १६८ को ४ तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को दफा १४३(३) बमोजिम विश्वासको मतको कार्यक्रममा छलफलको समय सभामा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेको तथा धारा १६९(१) खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएकाले प्रदेशसभाको सबैभन्दा बढी सदस्यहरु भएको नेपालेका संसदीय दलका नेता यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको जनाएको छ ।

आइतबार साँझ मात्र प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेससहित ७ दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

प्रदेश प्रमुखले पनि आफू परामर्शमै रहेको र एक दुई दिनमा सरकार गठनका आह्वान गर्नका लागि जानकारी दिएका थिए । तर प्रदेश प्रमुखले हिजो नै एमालेका यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेर आज विहान बिरामी परेको भन्दै उपचारको लागि काठमाडौँ गइरहेको भन्दै मधेस भवनबाट निस्केर महोत्तरीको पानस कटेजमा पुगेर सपथ ग्रहण गराएकी हुन् ।

एमालेसँग २५ जना प्रदेशसभा सदस्य रहेकोमा एकजना सभामुख छन् भने अर्का एक सदस्य दिपेन्द्र ठाकुर विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका छन् ।

वर्तमान सरकारसँग अहिले २५ जना प्रदेशसभा सदस्यको समर्थन मात्र रहेको छ । अन्य दल उनको सरकारको समर्थन नजनाए उनले पनि विश्वासको मत नपाउने अवस्था छ ।

Read more news from देशसञ्चार

Explore by Source or Category